दुई महिनामा सरकारको राजस्व १ खर्ब ८३ अर्ब, खर्च भने १ खर्ब ९९ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सङ्कलित राजस्व वार्षिक लक्ष्यको ११ दशमलव ५९ प्रतिशत हो।
राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने बढेको छ। गत वर्ष भदौ मसान्तसम्म १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस वर्ष सोही अवधिमा २५ अर्ब ६७ करोड रुपैयाँ बढी राजस्व उठेको हो।
चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।
भदौसम्म सङ्कलित राजस्वमध्ये कर राजस्व १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ रहेको छ। यो वार्षिक लक्ष्यको १२ दशमलव २९ प्रतिशत हो। गैरकर राजस्वतर्फ १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ सङ्कलन भएको छ, जुन वार्षिक लक्ष्यको ६ दशमलव ०९ प्रतिशत हो।
राजस्वबाहेक यस अवधिमा ५ अर्ब ५३ करोड रुपैयाँ अनुदान र १ अर्ब ३७ करोड रुपैयाँ अन्य प्राप्ति भएको छ। यससँगै भदौ मसान्तसम्म सरकारको कुल प्राप्ति १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ पुगेको छ। यो वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत हो।
आम्दानी बढे पनि सरकारी खर्च भने आम्दानीभन्दा बढी देखिएको छ। भदौ मसान्तसम्म सरकारको कुल बजेट खर्च १ खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यो कुल विनियोजित २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको ९ दशमलव ४१ प्रतिशत हो।
कुल खर्चमध्ये पुँजीगत खर्च भने निकै न्यून छ। भदौ मसान्तसम्म ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ। यो वार्षिक पुँजीगत खर्च लक्ष्यको १ दशमलव ७८ प्रतिशत मात्र हो।
त्यस्तै, प्रशासनिक तथा नियमित कामतर्फ १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको ९ दशमलव ६ प्रतिशत हो।
ऋणको साँवा–ब्याज भुक्तानीमा भने दुई महिनामै ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको १६ दशमलव ५९ प्रतिशत हो।
यसरी पहिलो दुई महिनामा सरकारको कुल प्राप्ति १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ हुँदा खर्च १ खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अर्थात् यस अवधिमा सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७३ करोड रुपैयाँ बढी देखिएको छ।