२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले थाले काम

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार नियुक्त भएका श्रेष्ठले प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यभार सम्हालेका हुन्।

७ असोज २०८३
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले थाले काम
दृश्य टिभी

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार नियुक्त भएका श्रेष्ठले प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यभार सम्हालेका हुन्।

त्यस अवसरमा श्रेष्ठले हालैको बाढी पहिरोले पुर्याएको क्षतिपछिको पुनर्निर्माण, सेवा प्रवाहमा सुधार र आन्तरिक विद्युत् खपत बढाउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताए। उनले भने, ‘बाढी पहिरोले प्राधिकरणका धेरै संरचना, जलविद्युत गृह र प्रसारण लाइनका टावरहरूमा ठुलो क्षति पुर्याएको छ। यो पुनर्निर्माणको काम हाम्रो लागि ठुलो चुनौती र अवसर दुवै हो। यसलाई एक्लै पार लगाउन सकिँदैन, सम्पूर्ण कर्मचारी र टिमको साथ लिएर अगाडि बढ्नेछु।’

श्रेष्ठले सेवा प्रवाहलाई चुस्त बनाउन प्राधिकरणको काम कारबाही विकेन्द्रीकरण गर्ने योजना अघि सारेका छन्। अब प्रादेशिक र जिल्ला स्तरका कार्यालयहरूलाई अधिकार सम्पन्न बनाउने उनको योजना छ । ‘प्रदेश र जिल्लाबाटै समाधान हुने समस्याका लागि केन्द्रमा धाउनुपर्ने अवस्था अन्त्य गरी छिटो सेवा दिने मेरो लक्ष्य छ,’ श्रेष्ठले भने।

ऊर्जा क्षेत्रको उत्पादन र मागबीचको सन्तुलन मिलाउनु अर्को ठूलो चुनौती रहेको चर्चा गर्दै श्रेष्ठले सन् २०३५ सम्ममा प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट पुर्याउने सरकारी लक्ष्य पूरा गर्न काम गर्ने प्रतिबद्धता जनाए। हाल नेपालमा प्रतिव्यक्ति विद्युत् खपत ४०० देखि ४५० युनिट रहेको छ। खपत बढाउन वितरण प्रणाली र प्रसारण लाइनमा लगानी आवश्यक रहेको भन्दै उनले यसका लागि वित्तीय मोडालिटी तयार गरिने स्पष्ट पारे।

२०५१ सालदेखि प्राधिकरणमा कार्यरत श्रेष्ठले आफू संस्थाका हरेक चुनौतीबारे जानकार रहेको बताए। यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दा पनि आफूले पूर्ण जिम्मेवारीका साथ काम गरेको उनले स्मरण गरे। हालैको विपद्मा प्राधिकरणले सुरक्षा निकायलाई उद्धारमा सहयोग गरेको र भत्किएका संरचना मर्मत गरी विद्युत् सुचारु गर्न सफल भएको उनको भनाई छ ।