मेमोरी चिप महँगिएपछि सामसङले बढायो ग्यालेक्सी एस२६ को मूल्य
एस२६ सिरिजका अन्य मोडलको मूल्य पनि १ लाख ४९ हजार ६ सय वनले बढाइएको छ। तर एस२६ अल्ट्रा १ टीबी मोडलको मूल्य भने २ लाख ७० हजार वनले बढाइएको छ। यसको नयाँ मूल्य २८ लाख २१ हजार ५ सय वन पुगेको छ।
सियोल । मेमोरी चिपको मूल्य लगातार बढेपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस२६ सिरिजको मूल्य बढाएको छ।
योनहाप समाचार एजेन्सीका अनुसार सामसङले दक्षिण कोरियाली बजारमा ग्यालेक्सी एस२६ को आधारभूत मोडलको मूल्य १ लाख ४९ हजार ६ सय वनले बढाएर १४ लाख ३ हजार ६ सय वन पुर्याएको छ। यो करिब १ हजार ३० अमेरिकी डलर बराबर हो।
१ अमेरिकी डलर बराबर करिब १ हजार ३ सय ६२.८० दक्षिण कोरियाली वन।
एस२६ सिरिजका अन्य मोडलको मूल्य पनि १ लाख ४९ हजार ६ सय वनले बढाइएको छ। तर एस२६ अल्ट्रा १ टीबी मोडलको मूल्य भने २ लाख ७० हजार वनले बढाइएको छ। यसको नयाँ मूल्य २८ लाख २१ हजार ५ सय वन पुगेको छ।
सामसङले ग्यालेक्सी एस२६ सिरिज गत मार्चमा सार्वजनिक गरेको थियो। सार्वजनिक हुँदाकै समयमा अमेरिका र दक्षिण कोरियालगायत केही बजारमा केही मोडलको मूल्य अघिल्लो पुस्ताको तुलनामा बढाइएको थियो।
मेमोरी चिपको मूल्यमा आएको तीव्र वृद्धिले स्मार्टफोन उत्पादक कम्पनीको उत्पादन लागत र नाफामा दबाब बढाइरहेको छ। यही कारण महँगा कम्पोनेन्टको लागत उपभोक्तासम्म पुर्याउने क्रममा सामसङले पनि आफ्नो फ्ल्यागसिप फोनको मूल्य बढाएको देखिन्छ।
स्मार्टफोन बजारमा उच्च मूल्यले उपभोक्ताको मागमा कस्तो असर पार्छ भन्ने विषय अहिले उत्पादक कम्पनीका लागि अर्को चुनौती बनेको छ।