चिनियाँ रेल चढेर चीनको बजार पुग्दै केन्याका एभोकाडो
केन्यामा उत्पादन हुने एभोकाडो चिनियाँ बजारमा पुग्ने बाटो सहज बन्दै गएको छ। चिनियाँ लगानीमा निर्माण भएको आधुनिक रेल तथा सुख्खा बन्दरगाह र चीनले अफ्रिकी मुलुकका उत्पादनमा लागू गरेको शून्य भन्सार नीतिले केन्याका कृषि उत्पादनलाई ठूलो बजारसँग जोड्न थालेको हो।
नैरोबी। केन्यामा उत्पादन हुने एभोकाडो चिनियाँ बजारमा पुग्ने बाटो सहज बन्दै गएको छ। चिनियाँ लगानीमा निर्माण भएको आधुनिक रेल तथा सुख्खा बन्दरगाह र चीनले अफ्रिकी मुलुकका उत्पादनमा लागू गरेको शून्य भन्सार नीतिले केन्याका कृषि उत्पादनलाई ठूलो बजारसँग जोड्न थालेको हो।
केन्याको नाइभासास्थित ‘भर्टिकल एग्रो ग्रुप’को प्याकहाउसबाट एभोकाडो, ब्रोकोली, फ्रेन्च बिन्स र पालुंगोजस्ता कृषि उत्पादन संकलन, वर्गीकरण र प्याकिङ गरी निर्यातका लागि पठाइन्छ। उत्पादनलाई चिस्यानयुक्त कोठामा राखेर ग्राहकको मागअनुसार प्याक गरिन्छ र त्यसपछि नाइभासा इनल्यान्ड कन्टेनर डिपो हुँदै रेलमार्फत मोम्बासा बन्दरगाह पुर्याइन्छ।
नाइभासा इनल्यान्ड कन्टेनर डिपो चिनियाँ निर्माणको सुख्खा बन्दरगाह हो। यहाँबाट करिब ६ सय किलोमिटर लामो स्ट्यान्डर्ड गेज रेलवे ९एसजीआर० मार्फत कृषि उत्पादन मोम्बासा बन्दरगाह पुग्छ।
भर्टिकल एग्रो ग्रुपका प्रमुख कार्यकारी अधिकृत हासित शाहका अनुसार आधुनिक रेलमार्गले कृषि उत्पादनको ढुवानी समय र लागत घटाउनुका साथै बाटोमा उत्पादन बिग्रिने जोखिम तथा कार्बन उत्सर्जनसमेत कम गरेको छ।
चीन बन्यो तीव्र गतिमा बढिरहेको बजार
केन्याको कम्पनी सनराइपले सन् २०२२ अगस्टदेखि चीनमा ताजा एभोकाडो निर्यात सुरु गरेको थियो। केन्या र चीनबीच वनस्पति स्वास्थ्यसम्बन्धी सम्झौता भएपछि चिनियाँ बजार केन्याका एभोकाडो उत्पादकका लागि खुला भएको हो।
शाहका अनुसार बेलायत, युरोप, मध्यपूर्व, एसिया र अमेरिकापछि चीन अहिले केन्याको एभोकाडोका लागि सबैभन्दा छिटो विस्तार भइरहेको बजार बनेको छ।
केन्या अहिले पेरु र चिलीपछि चीनमा एभोकाडो निर्यात गर्ने तेस्रो ठूलो मुलुक हो। सन् २०२५ मा केन्याले कुल १७ करोड ५० लाख अमेरिकी डलर बराबरको एभोकाडो निर्यात गरेको थियो। त्यसमध्ये चीनमा मात्रै ६६ लाख डलर बराबरको एभोकाडो गएको थियो।
शून्य भन्सारले थपियो सम्भावना
चीनले मे १ देखि ५३ अफ्रिकी मुलुकका उत्पादनमा शून्य भन्सार नीति लागू गरेपछि केन्याका कृषि निर्यातकर्ताले नयाँ अवसर देखेका छन्। केन्याको कृषि मन्त्रालयका प्रमुख सचिव पल किप्रोनोह रोनोहका अनुसार एभोकाडोबाहेक फूल र म्याकाडामिया नट चीनमा निर्यातका लागि ठूलो सम्भावना भएका उत्पादन हुन्।
उनका अनुसार नाइभासा केन्याको प्रमुख कृषि उत्पादन केन्द्रमध्ये एक हो। यहाँ एसजीआर र इनल्यान्ड कन्टेनर डिपोको संयोजनले ढुवानी लागत घटाउनुका साथै बजार पहुँच बढाएको छ।
चिनियाँ पूर्वाधार, अफ्रिकी उत्पादन
केन्याका लागि चिनियाँ राजदूत गुओ हाइयानका अनुसार मोम्बासा–नैरोबी–नाइभासा एसजीआरले ग्रामीण क्षेत्रका कृषि उत्पादकलाई ठूला बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ।
चीनबाट आएको पूर्वाधार र शून्य भन्सार नीतिको प्रभाव एभोकाडोमा मात्र सीमित छैन। केन्याको कफी, युगान्डाको कफी, रुवान्डाको खुर्सानी र कंगोका केही कृषि उत्पादनले समेत चिनियाँ बजारमा पहुँच विस्तार गरिरहेका छन्।
सन् २०२६ को मेदेखि अगस्टसम्म चीनले केन्याबाट ३७ लाख ६३ हजार किलो एभोकाडो आयात गरेको छ। यसको मूल्य करिब ४ करोड ३२ लाख चिनियाँ युआन अर्थात् ६१ लाख अमेरिकी डलर बराबर छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसको मूल्य ६३।२२ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ।
त्यसैगरी, सोही चार महिनामा चीनले केन्याबाट १७ लाख ८ हजार किलो रोस्टेड कफी आयात गरेको छ। यसको मूल्य करिब ९ करोड ८३ लाख चिनियाँ युआन अर्थात् १ करोड ३८ लाख डलर बराबर छ। कफी आयातको मूल्य वार्षिक आधारमा १३९।६६ प्रतिशतले बढेको छ।
रेलपछि प्रशोधन उद्योग पनि
केन्या रेलवे कर्पोरेसनका प्रबन्ध निर्देशक फिलिप माइङ्गाका अनुसार एसजीआर र नाइभासा इनल्यान्ड कन्टेनर डिपोका कारण कृषि उत्पादनमा आधारित प्रशोधन उद्योग स्थापना गर्न लगानीकर्ता आकर्षित भएका छन्।
यसले किसानको उत्पादनलाई कच्चा पदार्थकै रूपमा निर्यात गर्नुको सट्टा प्रशोधन, प्याकेजिङ र मूल्य अभिवृद्धि गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने वातावरण बनाएको छ।
नाइभासा सुख्खा बन्दरगाह करिब ४५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ र यसले वार्षिक २० लाख टनसम्म कार्गो व्यवस्थापन गर्न सक्छ। यसको सेवा युगान्डा, दक्षिण सुडान, रुवान्डा, बुरुन्डी र प्रजातान्त्रिक गणतन्त्र कंगोसम्म विस्तार भएको छ।
नाइभासाबाट किसुमु हुँदै युगान्डाको सीमाना मालाबासम्म एसजीआर विस्तार गर्ने योजना कार्यान्वयन भएमा केन्याको कृषि उत्पादनले पूर्वी अफ्रिकाकै क्षेत्रीय बजारमा थप सहज पहुँच पाउने अपेक्षा गरिएको छ।
केन्याको अनुभवले एउटा कुरा देखाएको छ—कृषि उत्पादन मात्र पर्याप्त हुँदैन। किसानको खेतदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने रेल, बन्दरगाह, प्रशोधन उद्योग र बजार पहुँचको संयोजनले मात्रै कृषि निर्यातलाई ठूलो व्यवसायमा बदल्न सक्छ। सिन्ह्वा