मूल्य मिलेमतोको आरोपमा जापानका चार ठूला बियर कम्पनीमा छापा
जापानका चार प्रमुख बियर उत्पादक कम्पनीले बियरको मूल्य बढाउन आपसमा मिलेमतो गरेको आशंकामा जापानी अधिकारीहरूले आज बुधबार ती कम्पनीका कार्यालयमा छापा मारेर अनुसन्धान थालेका छन्।
टोकियो। जापानका चार प्रमुख बियर उत्पादक कम्पनीले बियरको मूल्य बढाउन आपसमा मिलेमतो गरेको आशंकामा जापानी अधिकारीहरूले आज बुधबार ती कम्पनीका कार्यालयमा छापा मारेर अनुसन्धान थालेका छन्।
अनुसन्धानमा असाही ब्रुअरीज, किरिन ब्रुअरी, साप्पोरो ब्रुअरीज र सन्तोरी परेका छन्। यी चार कम्पनीले जापानको बियर बजारको करिब ९० प्रतिशत हिस्सा ओगटेको बताइएको छ।
जापानको फेयर ट्रेड कमिसन (जेएफटीसी) ले थोक बियरको मूल्य निर्धारणमा मिलेमतो भएको आरोपबारे पहिलोपटक चारै कम्पनीमा स्थलगत निरीक्षण गरेको अनुसन्धानसँग जानकार एक स्रोतले जनाएको छ।
स्रोतका अनुसार यस्तो मूल्य मिलेमतो केही वर्षदेखि चलिरहेको हुनसक्ने आशंका गरिएको छ। चारवटै कम्पनीका प्रतिनिधिहरू समय–समयमा भेटेर बियरको मूल्य बढाउने विषय र मूल्यवृद्धिको समयबारे छलफल गर्ने गरेको आशंका छ।
पछिल्ला केही वर्षमा यी कम्पनीहरूले कच्चा पदार्थ र ढुवानी खर्च बढेको कारण देखाउँदै बियरको मूल्य पटक–पटक वृद्धि गरेका थिए। जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
चारवटै कम्पनीले आफूहरू अनुसन्धानको दायरामा रहेको पुष्टि गर्दै अधिकारीहरूलाई पूर्ण सहयोग गर्ने बताएका छन्।
सन्तोरीले एक विज्ञप्तिमार्फत मदिराजन्य वस्तुको कारोबारसम्बन्धी गतिविधिमा प्रतिस्पर्धा विरोधी कानुन उल्लंघन गरेको आशंकामा फेयर ट्रेड कमिसनले आफ्नो कार्यालयमा स्थलगत निरीक्षण गरिरहेको जनाएको छ।
यो छापा जापानमा मूल्य मिलेमतोसम्बन्धी पछिल्लो अनुसन्धानसँग पनि जोडिएको छ। यसअघि यही वर्ष जेएफटीसीले जापानका छ प्रमुख आइसक्रिम कम्पनी माथि पनि कारबाही थालेको थियो।
ती कम्पनीहरूले कच्चा पदार्थको मूल्य बढेको भन्दा बढी मात्रामा आइसक्रिमको मूल्य वृद्धि गर्न वर्षौँदेखि आपसमा समन्वय गरेको आरोप लागेको थियो।
जापानमा प्रतिस्पर्धा विरोधी गतिविधिमाथि निगरानी गर्ने निकायले ठूला कम्पनीबीच मूल्य निर्धारणमा हुने सम्भावित मिलेमतोमाथि अनुसन्धान तीव्र बनाएको पछिल्ला घटनाले देखाएको एएफपीले उल्लेख गरेको छ।