२०८३ असोज २३ गते शुक्रबार

Business Intelligence Platform

दशैँको किनमेलमा सजिलो किस्ता, मोबाइलदेखि स्कुटरसम्म शून्य ब्याजको अफर

भाटभटेनीमा इलेक्ट्रोनिक्स र किचनवेयरदेखि सामसङका मोबाइल तथा बजाज चेतकसम्म ईएमआई सुविधा, तर किस्ता र शुल्कका सर्त बुझ्नुपर्ने

२३ असोज २०८३
दशैँको किनमेलमा सजिलो किस्ता, मोबाइलदेखि स्कुटरसम्म शून्य ब्याजको अफर
दृश्य टिभी

काठमाडौँ। दशैँ–तिहार नजिकिएसँगै बजारमा किनमेलको चहलपहल बढ्दै छ। नयाँ मोबाइल, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन वा विद्युतीय स्कुटर किन्ने योजना छरु एकैपटक ठूलो रकम खर्च गर्न नचाहने ग्राहकका लागि बैंक तथा वित्तीय संस्थाले किस्ताबन्दी अर्थात् ईएमआई सुविधासहितका योजना ल्याएका छन्।

यसपटकको चाडपर्वमा इलेक्ट्रोनिक्स र घरायसी उपकरणमा मात्र होइन, किचनवेयरदेखि विद्युतीय स्कुटरसम्म शून्य ब्याजदरमा किस्ताबन्दीको सुविधा उपलब्ध छ। यसले ग्राहकलाई सामान अहिले किनेर मूल्य निश्चित अवधिमा मासिक किस्तामार्फत तिर्ने विकल्प दिएको छ।

तर, ‘शून्य ब्याज’ भन्दैमा सबै सेवा निःशुल्क हुन्छन् भन्ने होइन। किस्ता अवधि, डाउनपेमेन्ट, ढिलो भुक्तानीमा लाग्ने जरिवाना र अन्य शुल्कबारे बुझेर मात्र यस्तो सुविधा लिनु उपयुक्त हुन्छ।

भाटभटेनीमा इलेक्ट्रोनिक्सदेखि किचनवेयरसम्म

ग्लोबल आइएमई बैंकले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर ९एसी० र किचनवेयरलगायत सामग्री खरिदमा शून्य ब्याजदरको ईएमआई सुविधा दिइरहेको छ।

बैंकका अनुसार सुरुमा इलेक्ट्रोनिक्स सामग्रीमा सीमित रहेको यो सुविधा अहिले किचनवेयरसम्म विस्तार गरिएको हो। आगामी दिनमा भाटभटेनीमा उपलब्ध अन्य सामग्रीमा पनि सुविधा विस्तार गर्ने बैंकको तयारी छ। ग्राहकले भाटभटेनीका सबै आउटलेटबाट यो सुविधा लिन सक्नेछन्। किस्ता अवधि १२ देखि १८ महिनासम्म छ।

यसका लागि बैंकले भाटभटेनी क्लब कार्डमार्फत सुविधा उपलब्ध गराउँदै आएको छ। कार्डको योग्यता र सीमा निर्धारण गर्दा ग्राहकको विगतको खरिद तथा खर्च गर्ने व्यवहारलाई समेत आधार बनाइने बैंकले जनाएको छ।

परम्परागत क्रेडिट कार्ड लिन आम्दानीको प्रमाणपत्र आवश्यक पर्ने भए पनि यस कार्डमा त्यस्तो प्रमाणपत्र अनिवार्य नरहेको बैंकको भनाइ छ। योग्य ग्राहकले मोबाइलबाटै आवेदन दिन र आवश्यक सहमति प्रदान गर्न सक्छन्। शाखामा पुगेर फाराम भर्नुपर्ने प्रक्रिया हटाइएको र स्वीकृत कार्ड घरमै उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यो कार्ड लिन ग्लोबल आइएमई बैंकमै खाता हुनुपर्ने बाध्यता पनि छैन। कार्डबाट भएको खर्चको मासिक भुक्तानी अन्य बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट समेत गर्न सकिन्छ। बैंकका अनुसार पछिल्लो तीन महिनामा हजारौँ ग्राहकले ईएमआई सुविधा प्रयोग गरिसकेका छन्।

मोबाइल, ट्याब्लेट र विद्युतीय स्कुटरमा पनि अफर

दशैँ–तिहारलाई लक्षित गर्दै हुलास फिनसर्भ हायर पर्चेजले मोबाइल, ट्याब्लेट, घरायसी उपकरण र विद्युतीय स्कुटर खरिदमा पनि फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ।

कम्पनीका अनुसार सामसङका मोबाइल तथा ट्याब्लेट खरिदमा कम्पनीमार्फत किस्ताबन्दी सुविधा लिन सकिन्छ। सामसङको आधिकारिक ईएमआई साझेदार रहेकाले नेपालभरका अधिकृत खुद्रा विक्रेताबाट मोबाइल खरिद गर्दा यस्तो सुविधा उपलब्ध हुने बताईएको छ।

घरायसी उपकरणतर्फ सामसङ, हिमस्टार, एलजी र सीजीएललगायत ब्रान्डका उत्पादनमा फाइनान्सिङ सुविधा छ। चाडपर्वलाई लक्षित गरी बजाज चेतक विद्युतीय स्कुटरमा समेत शून्य ब्याजदरको योजना ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मोबाइल खरिदमा सामान्यतया एक वर्षसम्मको किस्तामा शून्य ब्याजदरको सुविधा उपलब्ध छ। दुई वर्षसम्मको अवधि रोज्दा भने ७ दशमलव ९९ प्रतिशत ब्याजदर लाग्छ। ल्यापटप तथा विभिन्न घरायसी उपकरणमा पनि शून्य ब्याजदरको ईएमआई सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

शून्य ब्याजको लागत कसले तिर्छ?

शून्य ब्याजदरको ईएमआईमा ग्राहकले तोकिएको अवधिभित्र किस्ता तिर्दा नियमित ब्याज तिर्नुपर्दैन। तर, ऋण उपलब्ध गराउने प्रक्रियामा वित्तीय लागत भने हुन्छ।

हुलास फिनसर्भका अनुसार यस्तो लागत सम्बन्धित व्यवसायी, ब्रान्ड र फाइनान्स कम्पनीबीचको सहमतिअनुसार व्यवस्थापन गरिन्छ। कम्पनीले यसलाई ‘लोन सब्सिडी’ मोडलका रूपमा प्रयोग गर्दै आएको जनाएको छ। अर्थात् ग्राहकले ब्याज नतिरे पनि त्यसको लागत व्यवसायी, ब्रान्ड वा फाइनान्स कम्पनीबीचको सम्झौताअनुसार बेहोर्ने व्यवस्था हुन्छ।

तर, किस्ता तोकिएको मितिभन्दा ढिला भए जरिवाना तथा अन्य शुल्क लाग्न सक्छन्। शून्य ब्याजदरको सुविधा भए पनि डाउनपेमेन्ट र अन्य फाइनान्सिङ सर्त लागू हुन सक्छन्। सवारीसाधन खरिदमा आम्दानीसम्बन्धी कागजात आवश्यक पर्ने कम्पनीले जनाएको छ।

दशैँ–तिहारमै ३० प्रतिशत बिक्री

चाडपर्वको समयमा उपभोक्ताको खर्च बढ्ने भएकाले फाइनान्सिङ सेवाको माग पनि बढ्ने गरेको हुलास फिनसर्भले जनाएको छ।

कम्पनीको वार्षिक कुल बिक्रीमध्ये करिब ३० प्रतिशत दशैँ–तिहारको अवधिमा हुने गरेको छ। कम्पनीको कुल फाइनान्सिङ पोर्टफोलियो करिब १४ अर्ब रुपैयाँ पुग्न लागेको पनि जनाएको छ।

कम्पनीले बजाज, केटीएम, चेतक, हिरो, रोयल इन्फिल्ड र अप्रिलियालगायत दुईपाङ्ग्रे सवारीसाधनका ब्रान्ड तथा विभिन्न घरायसी उपकरणमा फाइनान्सिङ गर्दै आएको छ।

किनमेल गर्नुअघि जान्नैपर्ने उपाय

कुल मूल्य तुलना गर्नुहोस्स् नगदमा किन्दा र किस्तामा किन्दा तिर्नुपर्ने कुल रकम तुलना गर्नुहोस्।

किस्ता अवधि छान्नुहोस्स् मासिक आम्दानी र नियमित खर्च धान्न सकिने किस्ता मात्र रोज्नुहोस्।

डाउनपेमेन्ट र शुल्क बुझ्नुहोस्स् अग्रिम भुक्तानी, सेवा शुल्क तथा अन्य खर्च लाग्छ कि लाग्दैन, स्पष्ट गर्नुहोस्।

ढिलो भुक्तानीको सर्त पढ्नुहोस्स् किस्ता समयमा नतिर्दा लाग्ने जरिवाना र अन्य सर्त बुझ्नुहोस्।

बजेटअनुसार किनमेल गर्नुहोस्स् शून्य ब्याजको अफर छ भन्दैमा आवश्यकताभन्दा बढी खर्च नगर्नुहोस्।

दशैँ–तिहारमा किस्ताबन्दी सुविधाले महँगा सामान खरिद गर्न सहज बनाउन सक्छ। तर, चाडपर्वको खुसीसँगै आर्थिक भार नबढोस् भन्नका लागि आफ्नो आम्दानी, नियमित खर्च र भुक्तानी क्षमताको हिसाब गरेर मात्र खरिद योजना बनाउनु बुद्धिमानी हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *