एआईको उछालले थाम्यो विश्व अर्थतन्त्र, एसियामा लगानी र अवसरको लहर
कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा भइरहेको ठूलो लगानीले विश्व अर्थतन्त्रको वृद्धिदर करिब ३ प्रतिशत कायम राख्न मद्दत गरेको छ। एआईका लागि आवश्यक हार्डवेयर आपूर्ति गर्ने थाइल्यान्डलगायत एसियाली मुलुकले यसबाट उल्लेखनीय लाभ लिइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बताएकी छन्।
बैंकक। कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा भइरहेको ठूलो लगानीले विश्व अर्थतन्त्रको वृद्धिदर करिब ३ प्रतिशत कायम राख्न मद्दत गरेको छ। एआईका लागि आवश्यक हार्डवेयर आपूर्ति गर्ने थाइल्यान्डलगायत एसियाली मुलुकले यसबाट उल्लेखनीय लाभ लिइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बताएकी छन्।
सोमबार बैंककमा आईएमएफ र विश्व बैंकको बैठकमा बोल्दै उनले एआई लगानीले एसियाका विकसित अर्थतन्त्रको आर्थिक वृद्धिदरमा ०.५ देखि १ प्रतिशत बिन्दुसम्म र उदीयमान अर्थतन्त्रमा ०.२ देखि ०.८ प्रतिशत बिन्दुसम्म योगदान पुर्याउन सक्ने बताइन्।
उनका अनुसार एआईले रोजगारी, शिक्षा, आर्थिक वृद्धि र सरकारी राजस्व प्रणालीमा व्यापक परिवर्तन ल्याउनेछ। आईएमएफको अनुमानअनुसार समयक्रममा विश्वका करिब ४० प्रतिशत रोजगारीको स्वरूप परिवर्तन हुन, महत्त्व घट्न वा समाप्त हुन सक्छ।
अमेरिकामा करिब १० प्रतिशत रोजगारीमा एआईसम्बन्धी सीप आवश्यक पर्न थालेको प्रारम्भिक अध्ययनले देखाएको उनले बताइन्।
विश्व बैंकका अध्यक्ष अजय बङ्गाले कृषि, स्वास्थ्य र शिक्षामा उत्पादकत्व बढाउन लक्षित एआई प्रविधिको प्रयोगमा जोड दिए। सिंगापुरका राष्ट्रपति थर्मन षण्मुगरत्नमले भने एआईका कारण विश्वविद्यालयबाट स्नातक हुने युवाका लागि पहिलो रोजगारी पाउन चुनौती बढेको बताए।
उनले एआईले विकसित र विकासशील मुलुकबीच आर्थिक वृद्धि तथा रोजगारीको खाडल फराकिलो बनाउन सक्ने भन्दै प्रविधिको उपयोगबाट नयाँ र गुणस्तरीय रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
सिएनआई अनलाईनका अनुसार, आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । संस्थाले मंगलबार आर्थिक वृद्धिसम्बन्धी अद्यावधिक अनुमान सार्वजनिक गर्ने जनाएको छ।