२०८३ मंसिर ९ गते बुधबार

Business Intelligence Platform

पोखरा–दुबई उडानमा यात्रुको चाप बढ्दै, दुई महिनामै १३ हजारभन्दा बढीले गरे यात्रा

पोखराबाटै विदेश उड्न पाइने भएपछि यात्रुलाई काठमाडौं धाउनुपर्ने झन्झट कम भएको छ। यही सुविधाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति यात्रुको आकर्षण पनि बढाउन थालेको देखिन्छ। फ्लाइ दुबईले दुई महिनामै १३ हजार ४७४ यात्रुलाई सेवा दिनुले पोखरा–दुबई उडानको सम्भावना राम्रो रहेको सङ्केत गरेको छ।

९ मंसिर २०८३
पोखरा–दुबई उडानमा यात्रुको चाप बढ्दै, दुई महिनामै १३ हजारभन्दा बढीले गरे यात्रा
दृश्य टिभी

पोखरा। पोखराबाटै विदेश उड्न पाइने भएपछि यात्रुलाई काठमाडौं धाउनुपर्ने झन्झट कम भएको छ। यही सुविधाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति यात्रुको आकर्षण पनि बढाउन थालेको देखिन्छ। फ्लाइ दुबईले दुई महिनामै १३ हजार ४७४ यात्रुलाई सेवा दिनुले पोखरा–दुबई उडानको सम्भावना राम्रो रहेको सङ्केत गरेको छ।

गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म फ्लाइ दुबईले दुबई–पोखरा–दुबई मार्गमा दुईतर्फी १२२ उडान गरेको थियो। यस अवधिमा दुबईबाट पोखरा आउने यात्रु ८ हजार ११५ र पोखराबाट दुबई जाने यात्रु ५ हजार ३५९ रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार फ्लाइ दुबई र यसको साझेदार एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा पुग्न सकिने सुविधाले यो उडानलाई यात्रुमाझ आकर्षक बनाएको छ।

दुबई आफैँमा मध्यपूर्वको प्रमुख हवाई केन्द्र हो। त्यहाँबाट युरोप, अफ्रिका, अमेरिका र एसियाका विभिन्न गन्तव्यमा सहजै जोडिन सकिन्छ। त्यसैले पोखराबाट दुबईको सीधा उडान हुनु भनेको विदेश जाने यात्रुका लागि समय र झन्झट बचत हुनु पनि हो।

पोखरा पर्यटकका लागि पनि उत्तिकै आकर्षक गन्तव्य हो। फेवाताल, हिमाल, सराङकोट र साहसिक पर्यटनका गतिविधिले विदेशी पर्यटकलाई पोखरातर्फ तान्छन्। अन्तर्राष्ट्रिय उडान नियमित हुन सके पर्यटकलाई काठमाडौं हुँदै पोखरा आउनुपर्ने बाध्यता कम हुन्छ। यसले पोखराको पर्यटन व्यवसायलाई थप चलायमान बनाउन सक्छ।

श्रेष्ठले नेपालमा रहेका भारतीय नागरिकले पोखरामै अनापत्ति प्रमाणपत्र ९एनओसी० लिन पाउने व्यवस्था भए यात्रुको सङ्ख्या अझ बढ्न सक्ने बताउनुभयो। अहिले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्दा नेपालमा रहेका भारतीय नागरिकले काठमाडौँस्थित भारतीय दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था छ। यो प्रक्रिया सहज बनाउन दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए।

उडान बढेपछि पोखरालाई के फाइदा?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भएको हो। तर उद्घाटनपछि लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन। फ्लाइ दुबईले सुरु गरेको नियमित उडानले विमानस्थललाई व्यावसायिक रूपमा अघि बढाउने नयाँ अवसर दिएको छ।

अन्तर्राष्ट्रिय उडान बढेमा पोखरामा विदेशी पर्यटकको आगमन बढ्न सक्छ। होटल, रेस्टुरेन्ट, ट्राभल कम्पनी, यातायात र स्थानीय व्यवसायले त्यसको प्रत्यक्ष लाभ लिन सक्छन्। पर्यटकको बसाइ लम्बियो भने स्थानीय अर्थतन्त्रमा थप पैसा भित्रिनेछ।

तर विमानस्थलको आकर्षण टिकाइराख्न केही सुधार पनि आवश्यक छन्। उडान नियमित र भरपर्दो हुनुपर्छ। थप अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र गन्तव्य ल्याउन पहल गर्नुपर्छ। यात्रुलाई विमानस्थलसम्म पुग्न सहज यातायात, स्पष्ट सूचना, होटल बुकिङ र पर्यटन सेवाको सुविधा पनि उपलब्ध गराउनुपर्छ।

पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय उडानसँग जोडेर विशेष पर्यटकीय प्याकेज ल्याउन सके यात्रु आकर्षित गर्न थप सजिलो हुनेछ।

दुई महिनामा १३ हजारभन्दा बढी यात्रुले सेवा लिनु उत्साहजनक सुरुआत हो। अब चुनौती भनेको यो आकर्षणलाई नियमित यात्रु आवागमनमा बदल्नु हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सफल हुनु भनेको विमान उड्नु र अवतरण गर्नु मात्र होइन, यसले पोखराको पर्यटन, व्यापार र स्थानीय रोजगारीमा कति योगदान गर्छ भन्ने पनि हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *