अक्टोबर महिनाको सबैभन्दा मनमोहक जन्मरत्न टुरमलिन किन?
अक्टोबर महिनाको अर्को जन्मरत्न टुरमलिन आकर्षक रङहरूको अद्भुत संसार हो। कोमल गुलाबी रङदेखि चम्किलो हरियो तथा बहुमूल्य प्याराइबा नीलोसम्मका विभिन्न रङमा पाइने यो रत्नले गहना पारखीहरूको मन जित्दै आएको छ।
अक्टोबर महिनाको अर्को जन्मरत्न टुरमलिन आकर्षक रङहरूको अद्भुत संसार हो। कोमल गुलाबी रङदेखि चम्किलो हरियो तथा बहुमूल्य प्याराइबा नीलोसम्मका विभिन्न रङमा पाइने यो रत्नले गहना पारखीहरूको मन जित्दै आएको छ।
रत्नहरूमध्ये टुरमलिनले जति रङ र डिजाइनमा सिर्जनात्मक स्वतन्त्रता सायदै अरूले दिन्छन्। अक्टोबर महिनाका दुई जन्मरत्नमध्ये ओपल र टुरमलिन पर्छन्। तर, हल्का गुलाबी, चम्किलो हरियो, उज्यालो नीलो र गाढा रातो रङसम्म फैलिएको यसको अद्भुत विविधताले टुरमलिनलाई विशेष आकर्षक बनाएको छ।
यसको नाम सिंहाली भाषाको टोरामल्ली शब्दबाट आएको हो, जसको अर्थ ‘मिश्रित रत्नहरू’ हुन्छ। रङहरूको असाधारण विविधताका कारण विगतमा टुरमलिनलाई अन्य बहुमूल्य रत्नसँग झुक्किने गरिन्थ्यो। हरियो टुरमलिनलाई पन्ना र रातो टुरमलिनलाई माणिक ठानिन्थ्यो। वैज्ञानिकहरूले १९औँ शताब्दीमा मात्रै टुरमलिनलाई छुट्टै खनिज समूहका रूपमा पहिचान गरेका थिए।
आज रङहरूको यही विविधताले टुरमलिनलाई विश्वका प्रतिष्ठित गहना निर्माता कम्पनी र रत्न सङ्कलकहरूको प्रिय बनाएको छ। जन्मरत्नका रूपमा यसलाई सन्तुलन, सुरक्षा र सिर्जनशीलताको प्रतीक मानिन्छ। यद्यपि, यसको प्रतीकात्मक अर्थ रङअनुसार फरक हुन सक्छ।
कार्टियर, भ्यान क्लीफ एन्ड आर्पेल्स तथा ह्यारी विन्स्टनजस्ता प्रतिष्ठित ब्रान्डले टुरमलिनको प्रयोगबाट आकर्षक गहना तयार गरेका छन्। अक्टोबर महिनामा मात्रै नभई वर्षभरि विशेष अवसरमा लगाउन मिल्ने यी गहनाले टुरमलिनको सौन्दर्य र बहुमूल्यता झल्काउँछन्।
टुरमलिनका आकर्षक गहना : विश्वप्रसिद्ध ब्रान्डका उत्कृष्ट सिर्जना
डिभाज ड्रीम नेकलेस
रोमको प्राचीन काराकाल्ला स्नानगृहमा देखिने पङ्खाकार मोजाइक डिजाइनबाट प्रेरित बुल्गारीको ‘डिभाज ड्रीम’ नेकलेसमा टुरमलिनलाई विशेष महत्त्व दिइएको छ। १८ क्यारेट गुलाबी सुनबाट बनेको यस हारको हीराले सजाइएको आकर्षक पेन्डेन्टको बीचमा नासपाती आकारको हरियो टुरमलिन जडिएको छ। यसले बुल्गारीको रोमन सांस्कृतिक विरासतलाई झल्काउँछ।
बटरफ्लाई टुरमलिन एन्ड डायमन्ड रिङ
ग्राफको चर्चित पुतली आकारको डिजाइन परिवर्तन, पुनर्जन्म र स्वतन्त्रताको प्रतीक हो। यस औँठीमा नासपाती तथा मारक्विज आकारका दुई हीरालाई टुरमलिन जडित औँठीमाथि सजाइएको छ। प्रकृतिको क्षणभङ्गुर सुन्दरतालाई प्रतिबिम्बित गर्ने यो औँठी अन्य गहनासँग मिलाएर वा एक्लै आकर्षक देखिने गरी लगाउन सकिन्छ।
बर्ड अन अ रक ड्रप इयररिङ्स
जाँ स्लुम्बर्जरले सिर्जना गरेको चर्चित ‘बर्ड अन अ रक’ डिजाइन सार्वजनिक भएको छ दशकभन्दा बढी समय बितिसक्दा पनि आनन्द, आशावाद र असीम सम्भावनाको प्रतीकका रूपमा लोकप्रिय छ।
यसको नयाँ संस्करणमा हरियो अण्डाकार टुरमलिन प्रयोग गरी झुम्का तयार गरिएको छ। हीरा र माणिकले सजाइएको यो सिर्जनाले टिफनी एन्ड कम्पनीको उत्कृष्ट गहना निर्माण कला प्रदर्शन गर्छ। अक्टोबरको जन्मरत्न टुरमलिन समावेश भएका आधुनिक बहुमूल्य गहनामध्ये यसलाई विशेष आकर्षक मानिन्छ।
ज्याज एज र्याप्सोडी पिंक टुरमलिन रिङ
परिष्कृत ज्यामितीय बनावटको यो औँठीमा १.४२ क्यारेटको चम्किलो गुलाबी टुरमलिनलाई मुख्य आकर्षण बनाइएको छ। पन्ना काट्ने शैलीमा तयार पारिएको टुरमलिनलाई गोलाकार हीराले घेरिएको छ।
यसको सिधा रेखा तथा सुगठित बनावटले आर्ट डेको शैलीको आधुनिक र परिष्कृत सौन्दर्य झल्काउँछ। एक्लै लगाउँदा होस् वा अन्य औँठीसँग मिलाएर, यसले आकर्षक उपस्थिति दिन्छ।
बेजेल सेट टेनिस ब्रेसलेट
समय, स्थान र बदलिँदो फेसनभन्दा माथि लोकप्रिय रहँदै आएको गहनामध्ये टेनिस ब्रेसलेट पनि एक हो। परम्परागत हीराको सट्टा गुलाबी टुरमलिन प्रयोग गर्दा यसले थप रङीन र आकर्षक रूप पाउँछ।
डेभिड युर्मनको यस ब्रेसलेटमा अक्टोबरको जन्मरत्न टुरमलिनलाई पङ्क्तिबद्ध रूपमा जडिएको छ। यसको कोमल र चम्किलो बनावटले क्लासिक गहनालाई स्त्रीसुलभ सौन्दर्य प्रदान गर्छ। सामान्य सेतो टी–सर्टदेखि आकर्षक कालो पोसाकसम्मका विभिन्न पहिरनसँग यो सुहाउँछ।
प्याराइबा टुरमलिन एन्ड डायमन्ड नेकलेस
दुर्लभ रत्नप्रतिको ह्यारी विन्स्टनको आकर्षण र उत्कृष्ट शिल्पकलाको नमुना हो यो विशिष्ट हार। यसमा १६ क्यारेटको त्रिकोणाकार प्याराइबा टुरमलिन जडिएको छ।
‘टक टु मी, ह्यारी विन्स्टन’ सङ्ग्रहअन्तर्गत सार्वजनिक गरिएको यस हारमा ५।०१ क्यारेटको नासपाती आकारको पहेँलो हीरा र ६५ क्यारेटभन्दा बढी तौलका अन्य चम्किला हीरा प्रयोग गरिएका छन्। नीलो रङको दुर्लभ प्याराइबा टुरमलिनलाई हीराको चमकले घेरिएको यो हार भव्यता र सौन्दर्यको उत्कृष्ट संयोजन हो।
हाइ ज्वेलरी इयररिङ्स
कार्टियरका यी झुम्कामा अक्टोबर महिनाका दुवै जन्मरत्न—टुरमलिन र ओपल—समावेश छन्। नीलोपन मिसिएको हल्का हरियो टुरमलिनसँग कुशन आकारका हल्का गुलाबी टुरमलिन जडिएका छन्। त्यस्तै, अस्ट्रेलियाबाट प्राप्त अण्डाकार क्याबोचोन कट ओपल पनि प्रयोग गरिएको छ।
थप क्याबोचोन कट टुरमलिन र चम्किलो हीराले सजाइएको प्लाटिनमको यो झुम्काले कार्टियरको उच्चस्तरीय गहना निर्माण सीपलाई उजागर गर्छ। विभिन्न रङ र आकारको संयोजनले यसलाई भीडमा समेत अलग देखिने बनाएको छ।
ककटेल रिङ
पियाजेको ‘मिन्टी जेस्ट’ औँठी ताजा ककटेलबाट प्रेरित डिजाइनमा तयार गरिएको छ। यसमा ६ क्यारेटको हरियो टुरमलिनलाई केन्द्रमा राखिएको छ। वरिपरि १० वटा पहेँला नीलम, एउटा स्पेसार्टाइट र १८ वटा चम्किला हीरा जडिएका छन्।
यस औँठीको विशेषता यसको दोहोरो प्रयोग हो। सम्पूर्ण डिजाइनसहित लगाउन सकिन्छ वा बीचमा रहेको टुरमलिनलाई मात्र प्रयोग गरेर सरल शैली अपनाउन सकिन्छ। रङीन रत्न तथा हीराको संयोजनले यसलाई उत्सवमय र आकर्षक बनाएको छ।
टुरमलिन किन विशेष छ?
टुरमलिनको सबैभन्दा ठूलो विशेषता यसको रङहरूको विविधता हो। गुलाबी, हरियो, रातो र नीलोदेखि दुर्लभ प्याराइबा नीलोसम्म पाइने यस रत्नले गहनालाई फरक पहिचान दिन्छ। अक्टोबर महिनाको जन्मरत्नका रूपमा यसलाई सन्तुलन, सुरक्षा र सिर्जनशीलताको प्रतीक मानिन्छ। यही बहुरङी सौन्दर्य, दुर्लभता र डिजाइनमा प्रयोग गर्न सकिने सम्भावनाका कारण टुरमलिन विश्वका गहना पारखीहरूको रोजाइमा पर्दै आएको छ। (सिएनए फिचर)