चक्रवात ‘अर्नब’को जोखिमः भारतको पूर्वी तटबाट हजारौँ मानिसको उद्धार
नेपालमा पनि चक्रवातको सम्भावित प्रभावलाई लिएर अधिकारीहरूले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान सचेत गराएका छन्। बिहीबार रातिदेखि शनिबारसम्म हिमाली क्षेत्रमा भारी वर्षा, हिमआँधी र हिमपहिरो आउन सक्ने उनीहरूको आशंका छ।
भुवनेश्वर, भारत। शक्तिशाली चक्रवात ‘अर्नब’ बुधबार भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमानपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। भारतीय अधिकारीहरूका अनुसार चक्रवातको जोखिमलाई ध्यानमा राख्दै केही रेलसेवा पनि रद्द गरिएको छ।
नेपालमा पनि चक्रवातको सम्भावित प्रभावलाई लिएर अधिकारीहरूले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान सचेत गराएका छन्। बिहीबार रातिदेखि शनिबारसम्म हिमाली क्षेत्रमा भारी वर्षा, हिमआँधी र हिमपहिरो आउन सक्ने उनीहरूको आशंका छ।
गत अगस्टमा आएको विनाशकारी आकस्मिक बाढीबाट करिब १ हजार ५०० जनाको ज्यान गएको घटनाबाट नेपाल बिस्तारै तङ्ग्रिन थालेका बेला नयाँ प्राकृतिक विपत्तिको जोखिम देखिएको हो।
भारतको मौसम विभागका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ सोमबारदेखि थप शक्तिशाली बनेको छ।
यो चक्रवात बुधबार बिहानसम्म भारतको दक्षिणी तटीय राज्य आन्ध्र प्रदेशमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसका कारण आन्ध्र प्रदेशसँगै छिमेकी ओडिशा राज्यका केही क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा हुने सम्भावना छ।
आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणका प्रबन्ध निर्देशक प्रखर जैनले दिएको जानकारीअनुसार सोमबार रातिसम्म जोखिमयुक्त क्षेत्रका करिब ५० हजार मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको थियो। उद्धार गर्नुपर्ने मानिसको अनुमानित संख्या भने चार लाख छ।
“उद्धार तथा स्थानान्तरणको काम जारी छ,” जैनले भने।
ओडिशा राज्यमा भने हालसम्म मानिसलाई सुरक्षित स्थानमा सार्ने काम सुरु नभएको त्यहाँका विशेष राहत आयुक्त राजेश प्रभाकर पाटिलले बताए। चक्रवातको जोखिमलाई ध्यानमा राख्दै राज्यका पाँच जिल्लामा मंगलबार र बुधबार विद्यालय तथा कलेज बन्द गर्ने निर्णय यसअघि नै गरिएको थियो।
चक्रवात प्रभावित क्षेत्रका सुनसान समुद्री तटमा ठूला छालहरू ठोक्किइरहेको र सडक किनारका पसलहरू बन्द गरिएको दृश्य भारतीय टेलिभिजनहरूले प्रसारण गरेका छन्।
क्षेत्रीय रेल अधिकारीहरूका अनुसार भारतको पूर्वी क्षेत्रमा कम्तीमा १२ वटा रेल रद्द गरिएका छन्। त्यस्तै, दक्षिणी तटवर्ती क्षेत्रका ५३ मार्गमा मंगलबार र बुधबार रेलसेवा स्थगित गरिएको छ।
बंगालको खाडी उष्णकटिबन्धीय चक्रवात उत्पन्न हुने विश्वका प्रमुख क्षेत्रमध्ये एक हो। त्यसैले समुद्रसँग सम्बन्धित मौसमी विपत्तिको जोखिम भारतको पूर्वी तटीय क्षेत्रमा बढी रहने गरेको छ। (सिएनए)