खाडीमा अस्थायी रोजगारीको माग बढ्दै, परियोजनाका लागि कर्मचारी भर्ना गर्ने क्रम तीव्र
यूएईसहित खाडी मुलुकका कम्पनी स्थायी कर्मचारीभन्दा विशेषज्ञ जनशक्तितर्फ आकर्षित, एकतिहाइभन्दा बढी संस्थाले अस्थायी कर्मचारीको प्रयोग बढाए
काठमाडौं। युनाईटेड अरब ईमिरेट (यूएई)सहित खाडी मुलुकका कम्पनीहरूले परियोजनामा आधारित कामका लागि अस्थायी तथा करारका कर्मचारी भर्ना गर्ने क्रम बढाएका छन्। पछिल्लो दुई वर्षको तुलनामा एकतिहाइभन्दा बढी संस्थाले करारमा काम गर्ने कर्मचारीको प्रयोग बढाएको एक अध्ययनले देखाएको छ।
भर्ना तथा जनशक्ति व्यवस्थापनसम्बन्धी कम्पनी हेजले गरेको अनुसन्धानअनुसार, खाडी क्षेत्रका ३८ प्रतिशत संस्थाले विगतको तुलनामा करारका कर्मचारीको प्रयोग बढाएका छन्।
कम्पनीले लिंक्डइनमा गरेको पहिलो सर्वेक्षणमा सहभागी एक हजार ६३६ जनामध्ये २६ प्रतिशतले करारका कर्मचारीको प्रयोग पहिले जस्तै रहेको बताएका छन्। त्यस्तै, २१ प्रतिशतले प्रयोग घटेको र १६ प्रतिशतले आफ्नो संस्थाले करारका कर्मचारी प्रयोग नगर्ने बताएका छन्।
परियोजनाको काम पूरा गर्न अस्थायी कर्मचारी
करारमा कर्मचारी राख्नुको मुख्य कारणबारे गरिएको दोस्रो सर्वेक्षणमा एक हजार ३२३ जनाले प्रतिक्रिया दिएका थिए। उनीहरूमध्ये ४३ प्रतिशतले परियोजनामा आधारित कामको माग व्यवस्थापन गर्न अस्थायी कर्मचारी नियुक्त गर्ने गरेको बताए।
त्यस्तै, ३२ प्रतिशतले आवश्यकताअनुसार जनशक्ति थपघट गर्न सकिने लचकतालाई प्रमुख कारण मानेका छन्। १५ प्रतिशतले कानुनी अनुपालनसम्बन्धी झन्झट तथा जोखिम घटाउन र १० प्रतिशतले उपयुक्त कर्मचारी छनोट गर्न करारमा जनशक्ति लिने गरेको बताएका छन्।
सर्वेक्षणले कम्पनीहरूले मुख्यतः परियोजना सम्पन्न गर्न आवश्यक दक्ष जनशक्ति जुटाउने उद्देश्यले अस्थायी कर्मचारी नियुक्त गरिरहेको देखाएको छ।
स्थायी कर्मचारी बढाउनुभन्दा विशेषज्ञता उपयोग गर्ने रणनीति
हेज मिडिल इस्टका वरिष्ठ निर्देशक रायन ट्यागका अनुसार, कुनै व्यवसायलाई अतिरिक्त विशेषज्ञता वा परियोजनाका लागि थप सहयोग आवश्यक पर्दा अस्थायी पेसाकर्मी छिटो र लचिलो विकल्प बन्न सक्छन्।
उनले पछिल्लो सर्वेक्षणमा परियोजनाको माग नै करारमा कर्मचारी नियुक्त गर्ने सबैभन्दा ठूलो कारणका रूपमा देखिएको बताए।
“यसले संस्थाहरूले कर्मचारीको संख्या बढाउनेभन्दा उनीहरूसँग उपलब्ध सीप र क्षमतामा बढी ध्यान दिन थालेको संकेत गर्छ। आवश्यक परेको समयमा विशेषज्ञ जनशक्तिको सेवा लिन चाहन्छन्, तर स्थायी कर्मचारीको संख्या अनिवार्य रूपमा बढाउन चाहँदैनन्,” ट्यागले भने।
खाडी क्षेत्रका कम्पनीहरू विस्तार योजना, प्रविधिमा भइरहेको लगानी र परिवर्तनशील सीप आवश्यकताबीच अघि बढिरहेका छन्। कतिपय परियोजनाका लागि निश्चित अवधिसम्म मात्र विशेष दक्षता आवश्यक पर्ने भएकाले करारमा कर्मचारी नियुक्त गर्नु कम्पनी र कामदार दुवैका लागि आकर्षक विकल्प बनेको छ।
स्थायी र अस्थायी कर्मचारीको मिश्रित कार्यदल
सर्वेक्षणमा सहभागीमध्ये झन्डै एकतिहाइले जनशक्ति व्यवस्थापनमा लचकतालाई करारका कर्मचारी प्रयोग गर्नुको प्रमुख कारण बताएका छन्। परियोजनाको चाप, बजारको अवस्था र व्यावसायिक प्राथमिकताअनुसार कर्मचारीको संख्या बढाउन वा घटाउन सकिने भएकाले यस्तो व्यवस्था लोकप्रिय हुँदै गएको हो।
ट्यागका अनुसार, स्थायी र अस्थायी रोजगारीबीचको परम्परागत विभाजनसमेत क्रमशः कम हुँदै गएको छ।
“संस्थाहरूले अहिले स्थायी कर्मचारी र अस्थायी विशेषज्ञलाई समेटेर मिश्रित कार्यदल निर्माण गरिरहेका छन्। यसले आवश्यक सीप प्रभावकारी रूपमा उपयोग गर्न र व्यवसायलाई परिस्थितिअनुसार छिटो अनुकूल बनाउन सहयोग गर्छ,” उनले भने।
खाडी सहयोग परिषद् (जीसीसी) अन्तर्गतका मुलुकहरूमा प्रविधि, व्यवसाय विस्तार र रूपान्तरणसम्बन्धी परियोजनाहरू अघि बढ्दै जाँदा करारमा कर्मचारी नियुक्त गर्ने अभ्यास अझ महत्त्वपूर्ण हुने देखिएको छ।
यसले कम्पनीहरूलाई आवश्यक समयमा दक्ष जनशक्ति उपलब्ध गराउनुका साथै स्थायी कर्मचारीको संख्या र दीर्घकालीन खर्च बढाउने दबाब कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। (एजेन्सी)