प्रहरी नेतृत्वमा फेरबदल, कार्कीका ठाउँमा केसी नयाँ आईजीपी
काठमाडौं। सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र उनको ठाउँमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन्। केसी नेपाल प्रहरीको ३४ औँ आईजीपी बनेका छन्। उनी यसअघि अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।
पछिल्लो समय प्रहरी परिचालन, कमान्ड कन्ट्रोल र राजनीतिक नेतृत्वबाट आएका निर्देशन कार्यान्वयनको विषयलाई लिएर कार्कीको कार्यशैलीमाथि प्रश्न उठ्दै आएको थियो। यसबीच प्रहरी संगठनभित्र पनि असन्तुष्टि बढेको थियो। कार्कीलाई सिधै बर्खास्त नगरी प्रधानमन्त्री कार्यालय मातहत सार्ने निर्णय गरिएको छ।
पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी पक्राउ गरिएका घटनाले कार्कीलाई थप विवादमा तानेको थियो। प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनमा प्रहरी परिचालन भएको र त्यसमा कार्कीको भूमिका रहेको विवरण सार्वजनिक भएका थिए। केही गिरफ्तारीलाई अदालतले गैरकानुनी ठहर गरेपछि प्रहरी नेतृत्वमाथि थप प्रश्न उठेको थियो।
निर्वाचन प्रहरीका लागि पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप पनि कार्कीमाथि लागेको थियो। प्रहरीको कमान्ड प्रभावकारी हुन नसकेको र संगठनमा राजनीतिक हस्तक्षेप बढेको भन्दै उनको आलोचना हुँदै आएको थियो।
तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गत वर्ष कात्तिक २४ गते कार्कीलाई आईजीपी नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए। २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनले काठमाडौं उपत्यकाको प्रहरी कमान्ड सम्हालेका थिए।