इरानमाथि थप आक्रमण नगर्ने ट्रम्पको संकेतपछि कच्चा तेलको मूल्यमा झन्डै ५ प्रतिशत गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्ने सम्भावना न्यून रहेको संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा झन्डै ५ प्रतिशत गिरावट आएको छ। मध्यपूर्वमा जारी द्वन्द्व मत्थर हुने र विश्व बजारमा तेल आपूर्ति सहज हुने अपेक्षाले सोमबार तेलको मूल्य घटाएको हो।
सोमबार नेपाली समयअनुसार राति सार्वजनिक भएको कारोबार विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४.६५ प्रतिशत अर्थात् ४.५७ डलर घटेर ९३.७५ डलरमा झरेको थियो। कारोबारका क्रममा यसको मूल्य ९२.८० डलरसम्म पुगेको थियो।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य ३.५१ प्रतिशत अर्थात् ३.१९ डलर घटेर प्रतिब्यारेल ८७.६४ डलर कायम भएको थियो।
यसअघि गत साता पनि ब्रेन्ट क्रुडको मूल्य १६ प्रतिशतले घटेको थियो। प्रतिब्यारेल ९३.२२ डलरसम्म झरेको यसको मूल्यमा आएको यो गिरावट कोभिड–१९ महामारी सुरु भएयताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट मानिएको छ।
युद्ध मत्थर हुने आशाले बजारमा राहत
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार इरानसँगको द्वन्द्व अन्त्य गर्ने वार्ता अघि बढिरहेको अवस्थामा पुनः सैन्य आक्रमण गर्ने सम्भावना निकै कम रहेको बताएका थिए। उनको यही अभिव्यक्तिले युद्ध थप विस्तार नहुने र तेल आपूर्तिमा देखिएको जोखिम कम हुने अपेक्षा बढाएको हो।
तर, युद्धको अवस्था भने अझै सामान्य भइसकेको छैन। इरान र अमेरिकाले होर्मुज जलडमरूमध्य आसपासका क्षेत्रमा पानीजहाजमाथि आक्रमण भएको जानकारी दिएका छन्।
गत साता ट्रम्पले इरानमाथि पुनः आक्रमण हुन सक्ने संकेत दिएका थिए। त्यसको जवाफमा तेहरानले अमेरिका र इजरायलका लक्ष्यमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको थियो। यद्यपि, अहिलेसम्म अमेरिकाले ठूलो स्तरको सैन्य कारबाही सुरु गरेको संकेत देखिएको छैन।
इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले भने अमेरिकाले जुन महिनाको अन्तरिम सम्झौतामा उल्लेख गरिएका सात सर्त पूरा गर्न व्यावहारिक कदम नचालेसम्म वार्तामा बस्ने योजना नरहेको बताएका छन्।
यसैबीच, साउदी अरब र ओमानका विदेशमन्त्रीले क्षेत्रीय संकट नियन्त्रण गर्न कूटनीतिक प्रयास अघि बढाउनुपर्ने तथा समुद्री सुरक्षा र जलमार्गको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। कतारका प्रधानमन्त्रीसँग पनि ट्रम्पले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। कतारले यसअघि अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।
होर्मुजमा जोखिम कायमै
तेलको मूल्य घटे पनि विश्व बजारमा आपूर्ति सुरक्षाबारे चिन्ता हटेको छैन। विश्वको ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य आसपास पानीजहाजमाथि आक्रमण भइरहेका छन्।
साउदी अरबको इस्ट–वेस्ट तेल पाइपलाइनमा पनि आक्रमण भएको थियो। आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको र मानवीय क्षति नभएको साउदी अधिकारीहरूले बताएका छन्। पाइपलाइनको सञ्चालनमा भने असर नपरेको जनाइएको छ।
त्यस्तै, यमनका हुथी विद्रोहीले साउदी तेल कम्पनी अरामकोको रियादस्थित कार्यालयलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। आक्रमणको प्रयासका क्रममा खसेको अवशेषले कार्यालय भवनका विभिन्न तलाका झ्यालमा क्षति पुर्याएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ।
इराकले पनि ओमाननजिकको समुद्री मार्ग प्रयोग गरी होर्मुज जलडमरूमध्यबाट तेल निर्यात गर्न अमेरिकासँग समझदारी गरेको जनाएको छ।
विश्लेषकहरूका अनुसार युद्ध मत्थर हुने अपेक्षाले बजारमा तेल बिक्रीको दबाब बढाए पनि पानीजहाज र तेल पूर्वाधारमाथिका आक्रमणले आपूर्तिसम्बन्धी जोखिम अझै कायम राखेको छ।
आपूर्ति बढ्दा मागमा दबाब
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्नुको अर्को कारण आपूर्ति बढ्नु र उच्च मूल्यका कारण माग कमजोर हुनु पनि हो।
जेपी मोर्गनको पछिल्लो प्रतिवेदनअनुसार अक्टोबरमा विश्व बजारमा दैनिक करिब १४ लाख ब्यारेल कच्चा तेल अतिरिक्त उपलब्ध भएको अनुमान छ। पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन ९ओपेक० को उत्पादन पनि अक्टोबरमा बढेको छ।
सर्वेक्षणअनुसार ओपेकका ११ सदस्य राष्ट्रको दैनिक कच्चा तेल उत्पादन सेप्टेम्बरको तुलनामा १३ लाख ८० हजार ब्यारेलले बढेर २ करोड २८ लाख ७० हजार ब्यारेल पुगेको छ। साउदी अरब, कुवेत र इराकमा उत्पादन बढ्नु यसको प्रमुख कारण हो।
अमेरिकामा पनि तेलको मौज्दातमा परिवर्तन देखिएको छ। त्यहाँको रणनीतिक पेट्रोलियम भण्डारमा रहेको कच्चा तेलको परिमाण घटेर २७ करोड ९५ लाख ब्यारेलमा झरेको छ। सन् १९८२ को अक्टोबरयताकै न्यून मौज्दात हो।
यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निर्धारणमा एकातिर युद्धको जोखिम र अर्कोतिर आपूर्ति तथा मागको अवस्थाले एकसाथ प्रभाव पारिरहेको देखाउँछ।
नेपाललाई के प्रभाव पर्छ?
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्नु नेपालजस्ता पूर्णतः आयातित पेट्रोलियम पदार्थमा निर्भर अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। नेपालले आफ्नो पेट्रोलियम आवश्यकता मुख्यतः भारतबाट आयात गर्दै आएको छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिँदा भारतीय बजार हुँदै नेपालमा पनि पेट्रोलियम पदार्थको खरिद लागत घट्ने सम्भावना रहन्छ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त गर्ने मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको खरिद मूल्य निर्धारण हुने भएकाले अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको प्रभाव नेपालमा पर्न केही समय लाग्न सक्छ।
तेलको मूल्य घट्दा नेपाललाई मुख्यतः तीन क्षेत्रमा राहत पुग्न सक्छ।
पहिलो, पेट्रोलियम पदार्थको आयातमा खर्च हुने विदेशी मुद्रा बचत हुन सक्छ। दोस्रो, यातायात तथा ढुवानी लागत घट्दा वस्तु तथा सेवाको उत्पादन र वितरण खर्चमा राहत पुग्न सक्छ। तेस्रो, पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता आएमा समग्र मुद्रास्फीतिको चाप कम गर्न सहयोग पुग्न सक्छ।
तर अन्तर्राष्ट्रिय बजारमा एक–दुई दिन आएको गिरावटका आधारमा नेपालमा तत्काल मूल्य घट्ने निष्कर्ष निकाल्न भने मिल्दैन। आईओसीको खरिद मूल्य, डलरको विनिमय दर, ढुवानी तथा अन्य लागत र निगमको मूल्य समायोजन नीतिले पनि नेपाली बजारको मूल्य निर्धारणमा प्रभाव पार्छन्।
अर्कोतर्फ, मध्यपूर्वको तनाव पुनः चर्किएर होर्मुज जलमार्गमा तेल आपूर्ति अवरुद्ध भएमा अन्तर्राष्ट्रिय बजारमा मूल्य फेरि बढ्न सक्छ। त्यसको प्रत्यक्ष असर नेपालजस्ता आयातमा निर्भर मुलुकले बेहोर्नुपर्ने हुन्छ।
त्यसैले अहिले तेलको मूल्यमा आएको गिरावटलाई तत्कालीन बजार प्रतिक्रियाका रूपमा बुझ्नु उपयुक्त हुन्छ। नेपालका लागि यसको वास्तविक लाभ भने अन्तर्राष्ट्रिय बजारमा मूल्य कति समयसम्म घट्दो वा स्थिर रहन्छ र त्यसको प्रभाव आयात मूल्यमा कति पर्छ भन्नेमा निर्भर हुनेछ। (एजेन्सीहरुबाट)