२०८३ मंसिर ३ गते बिहीबार

Business Intelligence Platform

किसानको डेढ लाख क्विन्टल धान किन्दै खाद्य कम्पनी

३ मंसिर २०८३
किसानको डेढ लाख क्विन्टल धान किन्दै खाद्य कम्पनी
दृश्य टिभी

काठमाडौं । खेतबाट धान भित्रिने समयसँगै सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट धान खरिद गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्षमा कम्पनीले झापादेखि कञ्चनपुरसम्मका विभिन्न खरिद केन्द्र र जुम्लाबाट गरी एक लाख ५० हजार क्विन्टल धान सङ्कलन गर्ने लक्ष्य राखेको छ।

किसानले उत्पादन गरेको धानको उचित मूल्य पाऊन् र बजारमा बिचौलियाको प्रभाव कम होस् भन्ने उद्देश्यले कम्पनीले धान खरिद गर्न लागेको हो। यसका लागि कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दै आए पनि सरकारी खरिद प्रक्रिया ढिलो सुरु हुँदा किसानले निजी व्यापारीलाई कम मूल्यमा धान बेच्नुपर्ने अवस्था रहेको गुनासो सुनिँदै आएको छ। यसपटक भने बाली भित्रिने समयमै खरिद प्रक्रिया अघि बढाउने तयारी कम्पनीको छ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा किसानबाटै धान खरिद गर्न आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। तराईका विभिन्न खरिद केन्द्रसँगै जुम्लाको स्थानीय उत्पादन कालीमार्सी धानलाई पनि खरिद योजनामा समेटिएको उनले बताए।

खरिद विभाग प्रमुख अन्तरराज पौडेलका अनुसार स्थानीय उत्पादन, धानको जात र बजारको मागलाई आधार मानेर खरिद केन्द्रगत कोटा निर्धारण गरिएको छ। कम्पनीले बर्दियाको राजापुर र कैलालीको धनगढीबाट ३०–३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। धनुषाको जनकपुरबाट १४ हजार, झापाको बिर्तामोडबाट १२ हजार तथा मोरङको विराटनगर, पर्साको वीरगञ्ज र बाँकेको नेपालगञ्जबाट १०–१० हजार क्विन्टल धान खरिद गरिनेछ।

त्यस्तै, सिराहाको लहान र कञ्चनपुरको महेन्द्रनगरबाट आठ–आठ हजार, रुपन्देहीको भैरहवा र दाङको तुलसीपुरबाट पाँच–पाँच हजार क्विन्टल धान खरिद गर्ने योजना छ। जुम्लाबाट भने दुई सय क्विन्टल कालीमार्सी धान सङ्कलन गरिनेछ।

जिल्लाको माग र आवश्यकताअनुसार खरिद परिमाण थपघट गर्न केही कोटा जगेडा राखिएको कम्पनीले जनाएको छ। यसरी देशका विभिन्न क्षेत्रबाट धान खरिद गर्ने कम्पनीको योजनाले किसानलाई सरकारी बजारसम्म पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *