२०८३ मंसिर ४ गते शुक्रबार

Business Intelligence Platform

नेपाललाई समृद्ध बनाउन चीनको साथ, तातोपानी नाका खुलाउने तयारी

राजदूत झाङ भन्छन्– नेपाल चीनको प्राथमिकतामा छ, अर्को विकल्प नबन्दासम्म तातोपानी नाका सातामा एक–दुई दिन खुलाइने।

४ मंसिर २०८३
नेपाललाई समृद्ध बनाउन चीनको साथ, तातोपानी नाका खुलाउने तयारी
दृश्य टिभी

काठमाडौं। नेपालको आर्थिक विकास र समृद्धिको यात्रामा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल चीनको घनिष्ठ छिमेकी मात्र नभएर प्राथमिकतामा रहेको मित्रराष्ट्र भएको उल्लेख गर्दै विकासका विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने बताएका छन्।

बिहीबार काठमाडौंमा सञ्चारमाध्यमका सम्पादकहरूसँग भएको छलफलमा राजदूत झाङले स्वास्थ्य, शिक्षा, सडक, उद्योग, व्यापार र ऊर्जा क्षेत्रको विकासमा नेपाललाई सहयोग गर्न चीन सधैँ तयार रहेको बताए। उनका अनुसार नेपालको विकास र समृद्धिका लागि चीनले आगामी दिनमा पनि प्राथमिकताका साथ सहकार्य गर्नेछ।

तातोपानी नाका खुल्दै, तर नियमित होइन

चीनसँगको व्यापारिक सम्बन्धका लागि महत्वपूर्ण मानिने तातोपानी नाकाबारे पनि राजदूतले एउटा सकारात्मक खबर सुनाए। गत भदौमा भोटेकोशीमा आएको बाढीले दुवैतर्फ ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित बनेको यो नाका आगामी सातादेखि अस्थायी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

तर तत्कालै नाका नियमित सञ्चालनमा आउने भने होइन। भौगोलिक बनावट र जोखिमका कारण अर्को वैकल्पिक व्यवस्था नहुँदासम्म सातामा एक–दुई दिन मात्र नाका खुलाउने तयारी भइरहेको उनको भनाइ छ।

तातोपानी नाका नेपाल–चीन मित्रताको प्रतीकसमेत भएकाले यसको सञ्चालनलाई चीनले महत्व दिएको उनले बताए। त्यस्तै, कोरोला नाका जोड्ने सडकलाई जोमसोमसम्म कालोपत्र गर्ने र स्तरोन्नति गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।

काठमाडौंबाट तुलनात्मक रूपमा नजिक पर्ने रसुवागढी नाका सञ्चालनका विषयमा भने नेपाल सरकारबाट औपचारिक प्रस्ताव आएपछि आवश्यक प्रक्रिया अघि बढाइने चीनको भनाइ छ।

नेपालमा विकासका लागि अनुकूल वातावरण बनेको चीनको बुझाइ

राजदूत झाङले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा शक्तिशाली सरकार बनेको र राजनीतिक स्थिरताको वातावरण सिर्जना भएको टिप्पणी गरे। भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयमा सरकार कठोर देखिएको भन्दै उनले अहिले विकास निर्माण र आर्थिक समृद्धिका लागि अनुकूल परिस्थिति बनेको बताए।

स्पष्ट कार्ययोजना बनाएर असल नियतका साथ काम गर्न सके जनताको विश्वास जित्न सकिने उनको धारणा थियो। नेपाल सरकारले विकाससँगै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि प्राथमिकता दिएको उनले उल्लेख गरे।

नेपाल र चीनबीचको सम्बन्ध सरकार–सरकारमा मात्र सीमित नराखी राजनीतिक दल, नागरिक समाज र जनस्तरसम्म विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासहितको संसदीय टोली, सरकारी कर्मचारी तथा विभिन्न पेसागत र नागरिक संस्थाका प्रतिनिधिहरू अहिले अनुभव आदानप्रदानका लागि चीन भ्रमणमा रहेको उनले जानकारी दिए।

चीनको विकास मोडेल र सुशासनको चर्चा

छलफलका क्रममा राजदूत झाङले गत महिना बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय कमिटीको बैठकका निर्णय र प्राथमिकताबारे पनि जानकारी गराए।

उनका अनुसार चीनले जनतालाई केन्द्रमा राखेर विकास गर्ने, पार्टीभित्र लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासनलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ।

सन्तुलित कूटनीति, अनुशासन, कुशल व्यवस्थापन, राजनीतिक प्रतिबद्धता, निरन्तर मेहनत र प्रविधिमा आधारित कार्यसम्पादनलाई चीनको विकास यात्राका महत्वपूर्ण आधारका रूपमा उनले प्रस्तुत गरे।

विश्व राजनीतिमा चीनको भूमिका

राजदूतले अमेरिका, रुस–युक्रेन युद्ध, इजरायल–इरान द्वन्द्वलगायत अन्तर्राष्ट्रिय घटनाक्रमले विश्व अर्थतन्त्र र सामाजिक क्षेत्रमा पारेको प्रभावबारे पनि चर्चा गरे।

यस्तो जटिल अन्तर्राष्ट्रिय परिस्थितिबीच चीनको सेन्जेनमा सम्पन्न एसिया प्रशान्त क्षेत्रीय आर्थिक सहयोग ९एपेक० बैठकलाई विश्व समुदायले महत्वका साथ हेरेको उनको भनाइ थियो। विश्व शान्ति, स्थायित्व र समृद्धिका लागि चीन, अमेरिका र रुसका राष्ट्रपतिसहितको सहभागिता रहेको बैठक महत्वपूर्ण कोशेढुङ्गा बन्ने विश्वास पनि उनले व्यक्त गरे।

नेपाललाई सहयोग गर्ने चीनको प्रतिबद्धता नयाँ होइन। तर नेपालका लागि महत्वपूर्ण प्रश्न भनेको यस्तो प्रतिबद्धतालाई कसरी ठोस विकास परियोजना, व्यापार विस्तार, लगानी र रोजगारी सिर्जनामा रूपान्तरण गर्ने भन्ने हो। छिमेकीको सद्भाव र सहयोग महत्वपूर्ण छ, तर त्यसको प्रभावकारी उपयोग गर्ने जिम्मेवारी नेपालको आफ्नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *