२०८३ मंसिर ४ गते शुक्रबार

Business Intelligence Platform

अब रिभानमै प्यारापाइलटको पढाइ

पोखरामा प्याराग्लाइडिङ उडान सुरु भएको झन्डै तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने स्कुल खुलेको छ। माछापुच्छ्रे गाउँपालिका–५ रिभानको मैँचेडाँडामा बिहीबारदेखि सञ्चालनमा आएको स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादन गर्ने लक्ष्य राखेको छ।

४ मंसिर २०८३
अब रिभानमै प्यारापाइलटको पढाइ
दृश्य टिभी

कास्की। पोखरामा प्याराग्लाइडिङ उडान सुरु भएको झन्डै तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने स्कुल खुलेको छ। माछापुच्छ्रे गाउँपालिका–५ रिभानको मैँचेडाँडामा बिहीबारदेखि सञ्चालनमा आएको स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादन गर्ने लक्ष्य राखेको छ।

एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले गाउँपालिकासँगको सहकार्यमा करिब डेढ करोड रुपैयाँ लगानीमा स्कुल स्थापना गरेको हो। अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ खेलाडी विजय गौतमसहित चार जनाको लगानीमा खुलेको यस केन्द्रमा एक पटकमा छ जनाले प्रशिक्षण लिन सक्नेछन्।

समुद्री सतहबाट १ हजार ६८० मिटर उचाइमा रहेको मैँचेडाँडाबाट उडेर मर्दीखोलाको किनारस्थित अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ। यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासँगै पोखरा उपत्यकाको मनमोहक दृश्यसमेत देख्न सकिन्छ।

स्कुलमा प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री र टेन्डमका टी–वान तथा टी–टु तहसम्मका प्रशिक्षण सञ्चालन हुनेछन्।

पोखरामा अहिले ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। करिब ४०० जनाले पाइलट लाइसेन्स लिएकामा २५० जना विभिन्न कम्पनीमा कार्यरत छन्। तर, अहिलेसम्म दक्ष पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण केन्द्र थिएन।

प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन आफ्नै जनशक्ति उत्पादन हुनु महत्वपूर्ण भएको व्यवसायीहरूको भनाइ छ। नयाँ स्कुलले विदेशी पर्यटकलाई समेत प्रशिक्षणको अवसर दिने अपेक्षा गरिएको छ।

स्थानीयवासीले पनि यसबाट रिभानमा पर्यटन, रोजगारी र आर्थिक गतिविधि बढ्ने आशा गरेका छन्। कुनै समय पदयात्राका लागि चिनिएको रिभान अब साहसिक पर्यटनको नयाँ गन्तव्य बन्ने सम्भावना देखिएको छ।

पोखराबाट करिब एक घण्टा जीप यात्रामा पुगिने मैँचेडाँडाको प्याराग्लाइडिङ स्कुलले पोखराको साहसिक पर्यटनलाई गाउँसम्म विस्तार गर्ने नयाँ ढोका खोलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *