२०८३ कार्तिक १८ गते बुधबार

Business Intelligence Platform

भक्तपुरमा माटोका परम्परागत दियोको माग घट्दै, कुमाले पेसा र पुस्तौँदेखिको सीप संकटमा

आधुनिक दियोको चमकमा हराउँदै ‘पालाचा’

तिहारको उज्यालोसँग जोडिएको माटोको परम्परागत दियो ‘पालाचा’ आधुनिक बिजुली र प्लास्टिकका दियोको चमकमा ओझेल पर्दै गएको छ। कुनै समय तिहारमा घरघरमा प्रयोग हुने पालाचाको माग घट्दै जाँदा भक्तपुरका कुमाले समुदायको परम्परागत पेसासमेत संकटमा पर्न थालेको छ।

१८ कार्तिक २०८३
आधुनिक दियोको चमकमा हराउँदै ‘पालाचा’
दृश्य टिभी

भक्तपुर । तिहारको उज्यालोसँग जोडिएको माटोको परम्परागत दियो ‘पालाचा’ आधुनिक बिजुली र प्लास्टिकका दियोको चमकमा ओझेल पर्दै गएको छ। कुनै समय तिहारमा घरघरमा प्रयोग हुने पालाचाको माग घट्दै जाँदा भक्तपुरका कुमाले समुदायको परम्परागत पेसासमेत संकटमा पर्न थालेको छ।

नेवारी भाषामा माटोबाट बनाइने दियोलाई पालाचा भनिन्छ। भक्तपुरका कुमालेहरू दसैँमा दही राख्ने माटाका भाँडा र तिहारमा पालाचा बनाउने गर्छन्। तर, आधुनिक दियो र बत्तीको प्रयोग बढेसँगै परम्परागत दियोको बजार खुम्चिँदै गएको कुमालेहरू बताउँछन्।

सूर्यमढीका कृष्ण प्रजापतिका अनुसार २०७२ सालको भूकम्पपछि माटोको काम गर्न झन् कठिन भएको छ। खुला ठाउँको अभाव, दियो सुकाउने र पोल्ने समस्यासँगै माटोसमेत किन्नुपर्ने अवस्था छ। पहिले सहजै पाइने माटो अहिले महँगो र दुर्लभ हुँदै गएको उनको भनाइ छ।

पहिले एक रुपैयाँमा पाँचवटासम्म काँचो दियो पाइने गरेकोमा अहिले एउटा पालाचाकै करिब दुई रुपैयाँ पर्छ। मूल्यका कारण पनि उपभोक्ता आधुनिक दियोतर्फ आकर्षित भएको कुमालेहरूको अनुभव छ।

रामेश्वर प्रजापति पनि पालाचाको व्यापार पहिलेको तुलनामा निकै घटेको बताउँछन्। भक्तपुरमै बनेका दियो स्थानीयले कम किन्न थालेपछि कुमालेहरू अन्य जिल्लाको बजारमा निर्भर हुनुपरेको छ। काठमाडौं, ललितपुर, बनेपा र उपत्यकाबाहिरका व्यापारी भने पालाचा किन्न आउने गरेका छन्।

माटोका भाँडा बनाउने काममा बाल्यकालदेखि लागेका कृष्णसुन्दर प्रजापति अहिले आफ्ना छोराछोरीलाई यही पेसामा लाग्न नदिने बताउँछन्। यसले परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण हुने सम्भावनासमेत कमजोर बन्दै गएको देखाउँछ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति परम्परागत पेसालाई आधुनिक प्रविधि र सिर्जनशीलतासँग जोडेर अघि बढाउनुपर्ने बताउँछन्। युवालाई सेरामिक्सबाट उत्पादित माटाका भाँडाको प्रयोग र उत्पादनमा आकर्षित गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ। प्लास्टिकका सामानले माटाका उत्पादन विस्थापित गर्दा परम्परागत सीपसँगै स्थानीय रोजगारी पनि गुम्ने खतरा रहेको उनले बताए।

नेपाल सेरामिक्स आर्टिस्ट सोसाइटीका अध्यक्ष रमेश प्रधान पनि परम्परागत सेरामिक्स कलालाई आधुनिक डिजाइन, कला र संस्कृतिसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिन्छन्। नयाँ पुस्तालाई सीप सिकाउँदै सिर्जनशील उत्पादनमा प्रोत्साहित गर्नु आवश्यक रहेको उनको भनाइ छ।

भक्तपुरमा माटाका भाँडा बनाउने कुमाले समुदायको बाक्लो बसोबास सूर्यमढी र पोटरी स्क्वायर क्षेत्रमा छ। पुस्तौँदेखि चल्दै आएको यो पेसा अहिले बजार, कच्चा पदार्थ र उत्पादनस्थलको अभावसँग जुधिरहेको छ।

तिहारमा बालिने एउटा पालाचा केवल माटोको दियो मात्र होइन, भक्तपुरको पहिचान, संस्कृति र पुस्तौँदेखिको सीप पनि हो। यसको प्रयोग घट्दै जानु एउटा परम्परा हराउनु मात्र होइन, स्थानीय कला र रोजगारीको आधार कमजोर हुनु पनि हो। आधुनिकताको उज्यालोमा आफ्नै मौलिक परम्पराको दियो निभ्न नदिन संरक्षण र प्रवर्द्धनको खाँचो देखिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *