माइक्रोसफ्टको सेवा १० घण्टा अवरुद्ध हुँदा विश्वभर असर : आउटलुक र टिम्स ठप्प, व्यवसाय र सरकारी निकाय प्रभावित
एकैपटक हजारौँ प्रयोगकर्ता प्रभावित, अमेरिकामा आउटलुकमा समस्या आएको १ लाख ३० हजारभन्दा बढी गुनासो । साइबर आक्रमण नभई सर्भर र प्रणालीमा आएको प्राविधिक गडबडी भएको प्रारम्भिक अनुमान।
काठमाडौं। विश्वभरका कार्यालय, सरकारी निकाय र व्यावसायिक संस्थाले प्रयोग गर्दै आएका माइक्रोसफ्टका लोकप्रिय सेवा करिब १० घण्टासम्म अवरुद्ध हुँदा हजारौँ प्रयोगकर्ता प्रभावित भए। हिजो बिहीबार भएको प्राविधिक समस्याका कारण माइक्रोसफ्टको इमेल सेवा आउटलुक र भिडियो बैठक तथा संवादका लागि प्रयोग हुने टिम्ससहित माइक्रोसफ्ट ३६५ का विभिन्न सेवामा अवरोध आएको हो।
माइक्रोसफ्टका सेवामा आएको समस्याले अमेरिका, एसिया प्रशान्त क्षेत्रलगायत विभिन्न मुलुकका व्यवसाय र सरकारी निकायको दैनिक कामकाज प्रभावित भएको छ। विशेषगरी इमेल आदानप्रदान, अनलाइन बैठक, कार्यालयीय समन्वय र क्लाउडमा आधारित काममा समस्या देखिएको थियो।
माइक्रोसफ्टले केही सर्भरमा आएको समस्याका कारण सेवा प्रभावित भएको जनाएको छ। समस्या समाधानका लागि प्रयास भइरहे पनि अपेक्षाअनुसार सुधार हुन नसकेको कम्पनीको पछिल्लो जानकारीमा उल्लेख छ।
कम्पनीले निरन्तर बढिरहेको ट्राफिक व्यवस्थापनमा देखिएको असन्तुलनलाई सम्बोधन गर्न थप क्षमता उपलब्ध गराउने वैकल्पिक उपाय खोजिरहेको जनाएको छ।
अमेरिकामा सेवा अवरोधको निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरमा बिहीबार दिउँसो समस्या आएको गुनासो अत्यधिक बढेको थियो। दिउँसो करिब १ बजे ९अमेरिकी पूर्वी समय० आउटलुकमा समस्या आएको भन्दै १ लाख ३० हजारभन्दा बढी प्रयोगकर्ताले गुनासो गरेका थिए।
राति साढे ९ बजेसम्म पनि २५ हजारभन्दा बढी गुनासो दर्ता भएका थिए। शुक्रबार बिहान एसिया प्रशान्त क्षेत्रका भारत, अस्ट्रेलिया र जापानमा समेत माइक्रोसफ्टका विभिन्न सेवामा समस्या देखिएको थियो।
डाउनडिटेक्टरले विभिन्न स्रोतबाट प्रयोगकर्ताका गुनासा संकलन गरी अनलाइन सेवामा आएको अवरोधको अवस्था देखाउँछ।
इमेल प्रणालीमा बढी असर
अस्ट्रेलियाका गृहमन्त्री तथा साइबर सुरक्षा मन्त्री टोनी बर्कले माइक्रोसफ्टले यस घटनालाई साइबर आक्रमणका रूपमा नलिएको बताएका छन्।
उनका अनुसार माइक्रोसफ्टले सन् २०२४ मा साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकको सफ्टवेयर अपडेटमा आएको गडबडीसँग मिल्दोजुल्दो प्राविधिक समस्या भएको प्रारम्भिक अनुमान गरेको छ।
बर्कले पत्रकार सम्मेलनमा भनेका थिए, ‘माइक्रोसफ्टले अहिलेको समस्या साइबर आक्रमण नभई गलत तरिकाले काम गरेको कुनै अपडेटसँग सम्बन्धित हुन सक्ने ठानेको छ।’
उनका अनुसार अहिले देखिएको असर मुख्यतः इमेल प्रणालीमा केन्द्रित छ।
शुक्रबार अस्ट्रेलियाको गुप्तचर निकाय र संघीय प्रहरीसमेत यो समस्याबाट प्रभावित भएका थिए। अमेरिकाको प्रतिनिधिसभाले पनि आफ्ना प्रयोगकर्ताहरू प्रभावित भएको र समस्या समाधानका लागि माइक्रोसफ्टका प्राविधिकसँग सहकार्य भइरहेको जनाएको थियो।
यो घटनाले सन् २०२४ जुलाईमा भएको क्राउडस्ट्राइकको गम्भीर प्राविधिक गडबडीलाई फेरि सम्झाएको छ। त्यसबेला गलत सफ्टवेयर अपडेटका कारण विश्वभरका विमानस्थल, बैंक, अस्पताल र विभिन्न व्यावसायिक संस्थाका कम्प्युटर प्रणाली प्रभावित भएका थिए। विश्वको प्रविधि प्रणाली एकअर्कासँग कति गहिरो रूपमा जोडिएको छ र एउटै प्राविधिक कमजोरीले कति ठूलो असर पार्न सक्छ भन्ने त्यस घटनाले देखाएको थियो।
सर्भर पुनः सञ्चालनमा ल्याउनै कठिन
माइक्रोसफ्टले सुरुमा केही सर्भर अप्रत्याशित रूपमा बन्द भएको र त्यसले बाँकी सर्भरमा कामको चाप बढाएको जनाएको थियो। कम्पनीका अनुसार समस्या प्रयोगकर्ताको संख्या वा इन्टरनेट ट्राफिक अस्वाभाविक रूपमा बढेका कारण आएको थिएन।
प्रभावित सर्भर पुनः सञ्चालनमा ल्याउने, अन्य सर्भरमा ट्राफिक स्थानान्तरण गर्ने र वैकल्पिक नेटवर्कमार्फत सेवा उपलब्ध गराउने प्रयास गरिएको थियो। तर पुनः सञ्चालनमा ल्याइएका केही सर्भरमा प्रयोगकर्ताको ट्राफिक फर्किएपछि फेरि समस्या देखिएको कम्पनीले जनाएको छ।
माइक्रोसफ्टले केही समयका लागि नयाँ प्रणालीगत परिवर्तन र अपडेटसमेत रोकेर समस्या पहिचान गर्ने प्रयास गरेको थियो। पछिल्ला अपडेटमा कम्पनीले केही क्षेत्रमा सेवा क्रमशः सुधार हुन थाले पनि अपेक्षाअनुसार सुधार नभएको स्वीकार गरेको छ।
माइक्रोसफ्टका अनुसार प्रभावित सर्भरमा चलिरहेको एउटा मुख्य प्रक्रियामाथि अत्यधिक भार पर्दा सर्भरले प्रतिक्रिया दिन छाडेको पाइएको छ। त्यसलाई समाधान गर्न पुरानो सफ्टवेयर कन्फिगरेसन प्रयोग गरेर केही सर्भर पुनर्निर्माण गर्ने उपायसमेत परीक्षण गरिएको छ।
व्यवसाय र एआई कम्पनीसमेत प्रभावित
माइक्रोसफ्टको सेवा अवरुद्ध हुँदा अन्य प्रविधि कम्पनीको काममा समेत असर परेको छ। एआई कम्पनी ओपनएआईले माइक्रोसफ्टसँग जोडिएका कनेक्टरमा समस्या आएको जनाएको छ। यसका कारण नयाँ कनेक्सन स्थापना हुन नसक्ने र केही उपकरणले अपेक्षाअनुसार काम नगर्ने अवस्था आएको थियो।
त्यस्तै, एआई कम्पनी एन्थ्रोपिकले पनि माइक्रोसफ्ट ३६५ कनेक्टरमा समस्या देखिएको जनाएको थियो। यसले माइक्रोसफ्टका सेवामा निर्भर अन्य प्रविधि प्रणालीसमेत प्रभावित हुन सक्ने देखाएको छ। यसअघि पनि माइक्रोसफ्टको क्लाउड सेवा एजुरमा आएको अवरोधले कम्पनीका विभिन्न उत्पादन र विश्वभरका विभिन्न उद्योगको काम प्रभावित पारेको थियो।
अमेरिकी विद्युतीय ट्रक निर्माता कम्पनी वर्कहर्स ग्रुपले पनि माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधका कारण आफ्नो व्यावसायिक काम प्रभावित भएको भन्दै तेस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने मिति नोभेम्बर १२ बाट सारेर नोभेम्बर १६ पुर्याएको छ।
नेपालको सन्दर्भ : डिजिटल निर्भरता बढ्दै जाँदा जोखिम पनि बढ्दै
माइक्रोसफ्टको यो घटनाले नेपालका लागि पनि एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, निजी कम्पनी, सञ्चारमाध्यम र शैक्षिक संस्थाहरू क्रमशः इमेल, क्लाउड स्टोरेज, अनलाइन बैठक र डिजिटल कार्यालयीय प्रणालीमा निर्भर हुँदै गएका छन्।
नेपालमा पनि माइक्रोसफ्टका आउटलुक, टिम्स, वर्ड, एक्सेल र अन्य क्लाउड सेवाको प्रयोग गर्ने संस्था तथा प्रयोगकर्ता छन्। तर यो घटनाबाट नेपालका कुन(कुन संस्था प्रत्यक्ष प्रभावित भए भन्ने आधिकारिक विवरण भने उपलब्ध छैन।
डिजिटल प्रणालीमा निर्भरता बढ्दै जाँदा सेवा प्रदायकको एउटा प्राविधिक समस्याले पनि संस्थाको कामकाज रोक्न सक्छ। विशेषगरी वैकल्पिक इमेल प्रणाली, तथ्यांकको सुरक्षित ब्याकअप र आपत्कालीन सञ्चार व्यवस्थाको अभाव भए यस्तो समस्या अझ गम्भीर बन्न सक्छ।
नेपालका सरकारी तथा निजी संस्थाले यस घटनाबाट केही महत्त्वपूर्ण पाठ लिन सक्छन्-
– वैकल्पिक व्यवस्थास् एउटा मात्रै इमेल वा क्लाउड सेवामा पूर्ण निर्भर नभई आवश्यक अवस्थामा प्रयोग गर्न सकिने अर्को व्यवस्था राख्ने।
– तथ्यांक सुरक्षास् महत्त्वपूर्ण कागजात र कार्यालयीय विवरणको नियमित ब्याकअप राख्ने।
– आपत्कालीन सञ्चारस् इमेल र अनलाइन बैठक अवरुद्ध हुँदा पनि काम जारी राख्न सकिने वैकल्पिक सञ्चार प्रणाली बनाउने।
– साइबर सुरक्षा र जोखिम व्यवस्थापनस् बाह्य सेवा प्रदायकमा निर्भर हुँदा उत्पन्न हुन सक्ने जोखिमको नियमित मूल्यांकन गर्ने।
डिजिटल प्रविधिले काम छिटो, सहज र प्रभावकारी बनाएको छ। तर त्यससँगै प्रविधिमा निर्भरता पनि बढेको छ। एउटा सर्भरमा आएको गडबडीले विश्वभरका कार्यालयको काम रोक्न सक्ने अवस्थाले डिजिटल अर्थतन्त्रको अर्को कमजोर पक्ष उजागर गरेको छ।
प्रविधि जति शक्तिशाली हुँदै जान्छ, त्यसको विकल्प र जोखिम व्यवस्थापन पनि त्यति नै बलियो बनाउनुपर्ने रहेछ भन्ने कुरा यो घटनाले पाठ सिकाएको छ।