२०८३ कार्तिक १९ गते बिहीबार

Business Intelligence Platform

धनतेरसअघि दुबईमा सुन किन्नेको भीड, मूल्य घट्दा ग्राहकले अग्रिम बुकिङ गर्न थाले

मूल्यमा उतारचढाव बढेपछि नेपालीसहित दक्षिण एसियाली मूलका उपभोक्ता पनि आकर्षित हुने यूएईको बजारमा सुनको मूल्य पहिल्यै सुरक्षित गर्ने क्रम बढ्दो

१८ कार्तिक २०८३
धनतेरसअघि दुबईमा सुन किन्नेको भीड, मूल्य घट्दा ग्राहकले अग्रिम बुकिङ गर्न थाले
दृश्य टिभी

दुबई। धनतेरस र दीपावली नजिकिँदै गर्दा संयुक्त अरब इमिरेट्स (यूएई) मा सुन किन्ने ग्राहकको चहलपहल बढेको छ। सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहेकाले उपभोक्ताले पर्वका लागि सुन खरिद गर्नुअघि नै मूल्य सुरक्षित गर्ने अर्थात् अग्रिम मूल्य निर्धारण गर्ने सुविधा लिन थालेका छन्।

आगामी शुक्रबारमा परेको धनतेरसलाई लक्षित गर्दै दुबईका सुनचाँदी व्यवसायीले ग्राहकको यस्तो प्रवृत्ति बढेको बताएका छन्।

बुधबार बिहान यूएईको बजारमा २४ क्यारेट सुनको मूल्य प्रतिग्राम ४८४ दिराम र २२ क्यारेटको मूल्य ४४८.२५ दिराम थियो। सप्ताहान्तमा २४ क्यारेट सुनको मूल्य घटेर प्रतिग्राम ४६७ दिरामसम्म पुगेपछि ग्राहकले विभिन्न सुन पसलमा उपलब्ध मूल्य सुरक्षित गर्ने योजनामा चासो देखाएका हुन्।

बाफ्ले ज्वेलर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत चिराग भोराका अनुसार पछिल्लो समय ग्राहक सुन खरिद गर्ने उपयुक्त समयबारे बढी सचेत हुन थालेका छन्। मूल्य सुरक्षित गर्ने सुविधाले बजारमा अचानक मूल्य बढे पनि पहिले तय गरेको मूल्यमा सुन किन्न सकिने भएकाले ग्राहकलाई खरिद योजना बनाउन सहज भएको उनको भनाइ छ।

विशेषगरी विवाहका लागि गरगहना खरिद गर्ने र पर्वका अवसरमा ठूलो रकमको सुन किन्ने ग्राहक यस योजनाप्रति बढी आकर्षित देखिएका छन्।

त्यस्तै, कान्ज ज्वेल्सका प्रबन्ध निर्देशक अनिल धनकले पनि सुनको मूल्य सुरक्षित गर्ने योजना ग्राहकका लागि आकर्षक बन्दै गएको बताए। उनका अनुसार विशेषगरी भारतीय मूलका प्रवासी समुदायमा धनतेरसका दिन सुन खरिद गर्ने परम्परा रहेकाले यस्तो योजनाप्रति उनीहरूको रुचि बढी देखिएको छ।

सुन किन्दा छुटदेखि उपहारसम्म

धनतेरस र दीपावलीको अवसर पारेर दुबई तथा यूएईका विभिन्न सुन पसलले ग्राहक आकर्षित गर्न विशेष छुट, उपहार र नगद भौचरका योजना सार्वजनिक गरेका छन्।

हीरा तथा बहुमूल्य पत्थर जडित गरगहनामा निःशुल्क नगद भौचर, छनोट गरिएका सुन तथा हिराका गरगहनामा छुट, खरिदमा उपहार र ज्याला (मेकिङ चार्ज) मा विशेष सहुलियतजस्ता अफर ल्याइएको छ।

दुबईको अर्थतन्त्र तथा पर्यटन विभागअन्तर्गतको दुबई फेस्टिभल्स एन्ड रिटेल इस्ट्याब्लिसमेन्टले सञ्चालन गरेको ‘दिवाली गोल्ड रश’ अभियान नोभेम्बर १२ सम्म चल्नेछ। यसमा दुबई र यूएईका १७० भन्दा बढी सुन पसल सहभागी छन्।

अभियानअन्तर्गत सहभागी पसलबाट कम्तीमा १ हजार ५०० दिरामको गरगहना खरिद गर्ने ग्राहकले चिठ्ठामा सहभागी हुने अवसर पाउनेछन्। पाँच जना विजेताले जनही १०० ग्राम सुन प्राप्त गर्नेछन् भने एक जनाले मुख्य पुरस्कारस्वरूप ५०० ग्राम सुन जित्नेछन्। यसरी कुल एक किलोग्राम सुन ग्राहकलाई पुरस्कारस्वरूप वितरण गरिनेछ।

अभियानमा अरक्कल गोल्ड एन्ड डायमन्ड्स, कान्ज ज्वेल्स, बाफ्ले ज्वेलरी, जवहरा, ला मारक्विस डायमन्ड्स एन्ड वाचेज, लाइफस्टाइल फाइन ज्वेलरी, ताज्वी गोल्ड एन्ड डायमन्ड्स, थंगल्स, मीना ज्वेलर्स, कुन्दन कला ज्वेलरी र मालाबार गोल्ड एन्ड डायमन्ड्सलगायतका ब्रान्ड सहभागी छन्।

२५ प्रतिशत रकम बुझाएर सुनको मूल्य सुरक्षित

मालाबार गोल्ड एन्ड डायमन्ड्सका अन्तर्राष्ट्रिय सञ्चालन विभागका प्रबन्ध निर्देशक शमलाल अहमदका अनुसार सुनको मूल्य सुरक्षित गर्ने र अग्रिम भुक्तानीका योजना ग्राहकबीच लोकप्रिय बन्दै गएका छन्।

उनका अनुसार कम्पनीले खरिद मूल्यको २५ प्रतिशत रकम अग्रिम बुझाएर नोभेम्बर ८ सम्म हाल कायम सुनको मूल्य सुरक्षित गर्न सकिने योजना ल्याएको छ। यसबाट ग्राहकले अहिलेको मूल्यमा सुन खरिद गर्ने निर्णय सुरक्षित गर्न सक्नेछन्।

उनले यस्तो योजनामा ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको र तुलनात्मक रूपमा कम मूल्यको फाइदा उठाउँदै धनतेरसका लागि सुनको अग्रिम बुकिङ गर्ने क्रम बढेको बताए।

सुनको मूल्य मात्रै हेरेर खरिद गर्दैनन् ग्राहक

व्यवसायीका अनुसार अहिले ग्राहकले सुनको प्रतिग्राम मूल्यलाई मात्र आधार बनाएर खरिद गर्ने गरेका छैनन्। गरगहनाको डिजाइन, बनावट, शुद्धता, ज्याला र पसलले दिने समग्र सेवासमेत उनीहरूको प्राथमिकतामा पर्न थालेको छ।

बाफ्ले ज्वेलर्सका भोराका अनुसार मूल्य निर्धारणमा पारदर्शिता र ग्राहकले पाउने सेवाले सुन बजारप्रतिको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ। कान्ज ज्वेल्सका धनकले पनि सुन खरिद गर्दा त्यसको शुद्धता, कारीगरी र बनाउने ज्यालासहितको समग्र मूल्यलाई ध्यान दिनुपर्ने बताए।

दुवै व्यवसायीले धनतेरस नजिकिँदै जाँदा सुनको माग अझ बढ्ने अपेक्षा गरेका छन्। परम्परागत रूपमा सुन किन्ने ग्राहकसँगै युवा पुस्तासमेत गरगहना खरिदमा आकर्षित हुन थालेको उनीहरूको भनाइ छ।

दुबईको सुन बजारमा कडा नियमन, शुद्धताको सुनिश्चितता र मूल्य निर्धारणमा पारदर्शिता रहेकाले उपभोक्ताले खरिद गर्दा विश्वास गर्न सक्ने वातावरण बनेको व्यवसायीहरूको दाबी छ। (खालिज टाइम्सबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *