सडकमा गुडाउन र आकाशमा उडाउन मिल्ने ‘फ्लाइङ कार’
घरमै पार्किङ गर्न सकिने, आवश्यक पर्दा छुट्टिएर दुई जनालाई उडाउन सक्ने विद्युतीय विमान बन्नेस चिनियाँ कम्पनी बजारमा ल्याउने तयारीमा
काठमाडौं। सडकमा गुड्ने गाडीलाई आवश्यक पर्दा विमानमा परिणत गरेर आकाशमा उडाउन पाइयो भने कस्तो होला रु विज्ञानकथामा मात्र सीमित जस्तो लाग्ने यस्तो कल्पना अब वास्तविकतामा बदलिने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) का बासिन्दाले छिट्टै सडकमा गुडाउन र आवश्यक पर्दा आकाशमा उडाउन मिल्ने व्यक्तिगत ‘फ्लाइङ कार’ खरिद गर्न पाउने सम्भावना बढेको छ।
चिनियाँ कम्पनी एरिजले विकास गरिरहेको यस्तो उड्ने गाडी बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीको यो प्रविधि सफल भएमा व्यक्तिगत यातायातको स्वरूपमै परिवर्तन आउन सक्ने अपेक्षा गरिएको छ।
कम्पनीको ‘ल्याण्ड एयरक्राफ्ट क्यारियर’ नाम दिइएको यो गाडी सामान्य कार र विमानको संयोजन हो। यसमा छ पाङ्ग्रे सडकमा गुड्ने विद्युतीय गाडी र त्यसको पछिल्लो भागमा राखिने दुई जना सवार हुन मिल्ने छुट्टै विद्युतीय विमान हुन्छ।
व्यावसायिक प्रयोजनका लागि यात्रु ओसारपसार गर्ने एयर ट्याक्सीभन्दा यो फरक छ। जोबी एभिएसनजस्ता कम्पनीले व्यावसायिक हवाई यातायातका लागि एयर ट्याक्सी विकास गरिरहेका बेला एरिजले भने व्यक्तिगत प्रयोजनका लागि उपभोक्तालाई नै विमानसहितको गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ।
कम्पनीका सहसंस्थापक तथा उपाध्यक्ष र एक्सपेङ डिजाइनका महाप्रबन्धक तान वाङले दुबईमा आयोजित एक कार्यक्रममा यस प्रविधिबारे जानकारी दिँदै सडकमा गुड्ने गाडी र उड्ने विमानलाई एकैसाथ प्रयोग गर्न सकिने बताए।
एउटा बटन थिचेपछि गाडीबाट विमान अलग
यो फ्लाइङ कारको सबैभन्दा आकर्षक विशेषता भनेको गाडी र विमानलाई एउटै बटनको सहायताले छुट्याउन र पुनः जोड्न सकिने प्रविधि हो। यसमा दुईवटा अलग मोड्युल छन्। एउटा छ पाङ्ग्रे सडकमा गुड्ने गाडी हो भने अर्को त्यसको पछिल्लो भागभित्र राखिएको दुई सिट क्षमताको विद्युतीय विमान हो। उक्त विमान ठाडै उड्न र अवतरण गर्न सक्ने प्रविधिमा आधारित छ।
गाडी चलाएर तोकिएको उडान क्षेत्रमा पुगेपछि चालकले एउटा बटन थिचेर विमानलाई गाडीबाट अलग गर्न सक्छन्। विमानलाई छुट्याउने र पुनः जोड्ने प्रक्रियालाई स्वचालित बनाइएको कम्पनीको दाबी छ।
वाङका अनुसार यस प्रणालीमा कम्तीमा सातवटा प्रविधि प्रणाली र एक हजारभन्दा बढी पार्टपुर्जा प्रयोग गरिएको छ। ती सबैको समन्वयबाट एउटा बटन थिचेकै भरमा विमान गाडीबाट अलग हुने र पुनः जोडिने व्यवस्था गरिएको हो।
विमान छुट्याउँदा गाडीको पछिल्लो भाग खुल्छ र विमान बाहिर निस्कन्छ। विशेष प्रकारको एयर सस्पेन्सन प्रणालीले विमानलाई विभिन्न किसिमका जमिन र सतहअनुसार मिलाउन सहयोग गर्छ।
उडान सकेपछि विमानलाई पुनः गाडीमा राख्न पनि स्वचालित प्रणाली प्रयोग हुन्छ। क्यामेराले विमानको अवस्थिति पहिचान गर्छन् र गाडीलाई त्यसको नजिक पुर्याउँछन्। त्यसपछि सस्पेन्सन प्रणालीले आवश्यक उचाइ मिलाएर विमानलाई गाडीभित्र राख्ने प्रक्रिया पूरा गर्छ।
वाङका अनुसार विमानलाई पुनः गाडीमा जोड्ने प्रक्रियामा करिब चारदेखि पाँच मिनेट लाग्छ।
घरकै पार्किङमा राख्न सकिने
सामान्य विमान प्रयोग गर्न चाहनेले विमानस्थल वा ह्याङ्गरमा पार्किङको व्यवस्था गर्नुपर्ने हुन्छ। तर एरिजको यो प्रविधिमा विमानलाई नै सडकमा गुड्ने गाडीभित्र राख्न सकिने भएकाले छुट्टै ह्याङ्गर आवश्यक नपर्ने कम्पनीको भनाइ छ।
यसलाई घरको पार्किङस्थलमा राख्न सकिन्छ। यद्यपि सम्बन्धित स्थानका पार्किङ तथा सवारीसम्बन्धी मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ।
यो गाडी व्यक्तिगत उपभोक्तालाई लक्षित गरेर विकास गरिएको हो। कम्पनीका अनुसार अहिलेसम्म विश्वभरबाट करिब सात हजार पूर्वआदेश (प्रि-अर्डर) प्राप्त भएका छन्। तीमध्ये करिब ६ सय पूर्वआदेश खाडी मुलुक (जीसीसी) क्षेत्रबाट आएका छन्।
लाइसेन्स लिएर मात्र उडाउन पाइने
तर यस्तो गाडी किनेपछि आफूखुसी जुनसुकै ठाउँबाट उडाउन भने पाइने छैन।
यसका लागि विमानले आवश्यक हवाई सुरक्षा तथा सञ्चालनसम्बन्धी स्वीकृति प्राप्त गर्नुपर्नेछ। त्यसैगरी विमान उडाउन चाहने व्यक्तिको योग्यता, लाइसेन्स र उडान गर्न पाइने क्षेत्रसम्बन्धी नियम पनि पूरा गर्नुपर्ने हुन्छ।
वाङका अनुसार कम्पनीले सबैभन्दा पहिले चीनको नागरिक उड्डयन प्रशासन (सीएएसी) बाट विमानको ‘टाइप सर्टिफिकेसन’ अर्थात् उडानका लागि आवश्यक प्राविधिक तथा सुरक्षा प्रमाणीकरण लिनुपर्नेछ।
त्यसपछि यूएईको जनरल सिभिल एभिएसन अथोरिटी (जीसीएए) बाट उक्त प्रमाणीकरणलाई मान्यता दिलाउने प्रक्रिया अघि बढाइनेछ। यसबाट यूएईमा कानुनी रूपमा विमान सञ्चालन गर्ने बाटो खुल्ने कम्पनीको अपेक्षा छ।
जहाँ पायो त्यहीँबाट उडाउन पाइने छैन
फ्लाइङ कार भए पनि यसलाई सडकको छेउ, खुला मैदान वा घरको छतबाट आफूखुसी उडाउन पाइने छैन। उडानका लागि सरकारले तोकेका क्षेत्र, हवाई मार्ग र सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ।
यसका लागि एरिजले यूएईको रस अल खैमाहसँग सम्झौता गरेको छ। सम्झौताअनुसार यूएईका हवाई उड्डयन अधिकारीहरूको निगरानीमा नयाँ प्रविधिको परीक्षण गर्न नियामकीय परीक्षण क्षेत्र (रेगुलेटरी स्यान्डबक्स) स्थापना गरिनेछ।
कम्पनीले यसका लागि छुट्टै पूर्वाधार निर्माण गर्नुभन्दा अन्य विद्युतीय विमान सञ्चालकले विकास गरिरहेका संरचना पनि प्रयोग गर्न सकिने सम्भावना औँल्याएको छ।
जोबीको एयर ट्याक्सी सञ्चालनका लागि स्काईपोर्टले निर्माण गरिरहेका भर्टिपोर्ट (विद्युतीय विमान उडान तथा अवतरण केन्द्र) र अहिले सञ्चालनमा रहेका हेलिकप्टर अवतरणस्थल प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।
यसरी सडकमा गुड्ने र आकाशमा उड्ने दुवै सुविधा एउटै सवारीमा उपलब्ध गराउने प्रविधिले व्यक्तिगत यातायातमा नयाँ सम्भावना खोल्ने देखिएको छ। तर यसको व्यावसायिक उपलब्धता, मूल्य, सुरक्षा प्रमाणीकरण र उडानसम्बन्धी नियमले नै यो प्रविधि सर्वसाधारणको पहुँचमा पुग्ने समय निर्धारण गर्नेछ। (खालिज टाइम्सबाट)