२०८३ मंसिर १० गते बिहीबार

Business Intelligence Platform

विराटनगर जुट मिल्स सञ्चालनको तयारीः लगानीकर्ता खोजिँदै

१० मंसिर २०८३
विराटनगर जुट मिल्स सञ्चालनको तयारीः लगानीकर्ता खोजिँदै
दृश्य टिभी

विराटनगर । झन्डै नौ दशक पुरानो विराटनगर जुट मिल्सलाई पुनः सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। उद्योगको आधुनिकीकरण र दीर्घकालीन व्यवस्थापनका लागि मिल्सले रणनीतिक लगानीकर्ता खोज्दै बुधबार सार्वजनिक सूचना जारी गरेको छ। अनुभवी तथा आर्थिक रूपमा सक्षम जुट उद्योगी र लगानीकर्तासँग मिल्सले आशयपत्र (ईओआई) माग गरेको हो।

वि.सं. १९९३ मा स्थापना भएको मिल्सलाई सार्वजनिक–निजी साझेदारी वा दीर्घकालीन औद्योगिक लिज मोडलमा ३५ वर्षसम्म सञ्चालन गर्ने योजना छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक १२५ मेट्रिक टनभन्दा बढी जुटजन्य सामग्री उत्पादन गर्न सकिने र पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सकिने प्रक्षेपण गरिएको छ।

६७ बिघा जग्गा, निर्यातको सम्भावना

प्रस्तावित योजनाअनुसार लगानीकर्ताले विराटनगर र दमकमा रहेका मिल्सका ६७ बिघा औद्योगिक जग्गा उपयोग गर्न पाउनेछन्। भारतीय सीमा नाका नजिकै रहेको र रेलमार्ग तथा अन्तर्देशीय व्यापारिक करिडोरसँग सहज पहुँच भएकाले यस क्षेत्रलाई उत्पादन र निर्यातका दृष्टिले रणनीतिक महत्त्वको मानिएको छ।

सरकारी नीतिअनुसार कृषिजन्य वस्तुको प्याकेजिङमा जुटका बोरा अनिवार्य गरिएकाले आन्तरिक बजारको सम्भावना रहेको मिल्सले जनाएको छ। त्यसबाहेक भारत र दक्षिण एसियाली मुलुकमा जुटको धागो, हेसियन कपडा, बोरा, जियो–टेक्सटाइल तथा वातावरणमैत्री प्याकेजिङ सामग्री निर्यात गर्न सकिने सम्भावना पनि सूचनामा औँल्याइएको छ।

पुरानो दायित्वबाट नयाँ लगानीकर्ता अलग

मिल्सले नेपाल सरकारको सहयोगमा विगतका ऐतिहासिक, वित्तीय, सञ्चालन तथा श्रमिकसम्बन्धी दायित्वबाट नयाँ लगानीकर्तालाई अलग राख्ने व्यवस्था गरिने जनाएको छ। यसअनुसार नयाँ लगानीकर्ताले उद्योगको पुरानो ऋण वा दायित्वको भार व्यहोर्नुपर्ने छैन।

सरकारको प्रत्यक्ष नीतिगत समर्थनमा पारदर्शी र वार्तामा आधारित प्रक्रियाबाट छिट्टै समझदारीपत्र गर्ने लक्ष्य राखिएको छ। लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार मुनाफा तथा लाभांश फिर्ता लैजान पाउने व्यवस्था रहने सूचनामा उल्लेख छ।

त्यस्तै, मेसिनरी तथा पार्टपुर्जा आयातमा भन्सार सहुलियत र सुरुवाती अवधिमा लिज भाडा तथा रोयल्टीमा छुट दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। लिज प्रक्रिया रोयल्टी भुक्तानी, संयुक्त लगानी वा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमध्ये कुनै एकमा आधारित हुन सक्नेछ।

२० वर्षको अनुभव अनिवार्य

आशयपत्र पेस गर्ने लगानीकर्ता वा लगानीकर्ताको समूहसँग जुट वा जुटजन्य उत्पादन तथा प्रशोधन उद्योगमा कम्तीमा २० वर्षको निरन्तर र सफल सञ्चालन अनुभव हुनुपर्नेछ। दैनिक कम्तीमा १०० मेट्रिक टन उत्पादन क्षमता भएको उद्योग सञ्चालन गरेको प्राविधिक अनुभव, स्वदेशी तथा अन्तर्राष्ट्रिय वितरण सञ्जाल र जुटजन्य सामग्री विदेश निर्यात गरेको प्रमाणित अनुभव पनि अनिवार्य गरिएको छ।

इच्छुक लगानीकर्ताले कम्पनीको विस्तृत विवरण, पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा उत्पादन र निर्यातसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सिलबन्दी आशयपत्र पेस गर्नुपर्नेछ।

आवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वा विराटनगर जुट मिल्स लिमिटेडका अध्यक्षको नाममा बुझाउन सकिनेछ। छनोटमा परेका योग्य आवेदकलाई मिल्सको स्थलगत निरीक्षण तथा ‘डाटा रुम’मा उपलब्ध विवरण अध्ययन गर्ने अवसर दिइनेछ। आशयपत्र बुझाएको एक महिनाभित्र औपचारिक समझदारीपत्रमा हस्ताक्षर गर्ने लक्ष्य राखिएको छ।

आशयपत्र स्वीकृत गर्ने, अस्वीकृत गर्ने वा प्रक्रिया रद्द गर्ने अन्तिम अधिकार विराटनगर जुट मिल्स लिमिटेडमा रहने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *