भारतमा एआईको दौड : विकासको अवसरसँगै रोजगारीको चुनौती
भारतले विश्वका अत्याधुनिक एआई मोडल निर्माण गर्ने प्रतिस्पर्धाभन्दा अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा एआईको प्रयोग बढाउने रणनीतिलाई प्राथमिकता दिएको छ।
नयाँदिल्ली। भारतले विश्वका अत्याधुनिक एआई मोडल निर्माण गर्ने प्रतिस्पर्धाभन्दा अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा एआईको प्रयोग बढाउने रणनीतिलाई प्राथमिकता दिएको छ।
नयाँदिल्लीमा गत फेब्रुअरीमा भएको ‘इन्डिया एआई इम्प्याक्ट समिट’मा कृषि रोबोट, ड्रोन, स्वास्थ्य तथा निदान प्रविधिदेखि विद्यालय र सार्वजनिक सेवामा एआई प्रयोगका नमुना प्रस्तुत गरिएका थिए। यसले भारतले एआईलाई अनुसन्धानको सीमाभन्दा बाहिर निकालेर उत्पादनशीलता र आर्थिक विकासको साधनका रूपमा प्रयोग गर्न खोजिरहेको देखाएको छ।
भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका स्रोतले पनि देशले एआई अनुसन्धान रोक्नुपर्ने कारण नरहेको बताएका छन्। भारतको ध्यान अत्याधुनिक ‘फ्रन्टियर मोडल’ निर्माणभन्दा भारतीय आवश्यकता सुहाउँदा एआई मोडल र त्यसको व्यावहारिक प्रयोगमा रहेको उनीहरूको भनाइ छ।
तर एआईको विस्तारसँगै रोजगारीको स्वरूपमा आउने परिवर्तन भारतका लागि प्रमुख चुनौती बन्न थालेको छ। विज्ञहरूका अनुसार एआईका कारण तत्कालै ठूलो संख्यामा रोजगारी गुम्नेभन्दा नयाँ स्नातक तथा युवाका लागि प्रवेशस्तरका रोजगारीका अवसर घट्न सक्ने जोखिम बढी छ।
भारतको सूचना प्रविधि उद्योग लामो समयदेखि ठूलो संख्यामा नयाँ कर्मचारी भित्र्याएर परीक्षण, मर्मत, ग्राहक सहयोग र आधारभूत कोडिङजस्ता कामबाट उनीहरूलाई क्रमशः दक्ष बनाउने ‘पिरामिड’ मोडलमा चलेको थियो। तर एआई प्रयोग बढेसँगै कम्पनीहरूले कम कर्मचारीमा बढी काम गराउन थालेका छन् र क्याम्पसबाट हुने नयाँ भर्ती पनि सानो तथा छनोटमुखी बन्दै गएको छ।
यसले एउटा नयाँ प्रश्न जन्माएको छ, अनुभवी कर्मचारी चाहिने तर अनुभव हासिल गर्ने प्रारम्भिक रोजगारी नै कम हुँदै गएमा नयाँ पुस्ता कसरी दक्ष बन्ने?
विज्ञहरूका अनुसार त्यसका लागि केवल ‘रिस्किलिङ’ तालिम पर्याप्त नहुन सक्छ। प्रशिक्षार्थी कार्यक्रम, विश्वविद्यालयसँगको सहकार्य, रोजगारीमा प्रवेश गर्ने वैकल्पिक बाटो र एआईबाट उत्पादित सामग्रीको परीक्षण तथा निगरानी गर्ने कनिष्ठ तहका नयाँ भूमिकाको विकास आवश्यक हुन सक्छ।
भारतका लागि अर्को महत्वपूर्ण विषय एआईले रोजगारीमा पारिरहेको प्रभाव मापन गर्नु हो। विज्ञहरूका अनुसार हाल उपलब्ध श्रम तथ्यांकले कुन क्षेत्रमा एआईका कारण कामको प्रकृति परिवर्तन भइरहेको छ भन्ने पर्याप्त रूपमा देखाउँदैन। त्यसैले रोजगारी घट्ने, नयाँ भूमिका सिर्जना हुने वा कामको स्वरूप परिवर्तन हुने अवस्थालाई छुट्टै मापन गर्ने प्रणाली आवश्यक देखिएको छ।
एआईको प्रयोग रोक्नेभन्दा कहाँ तीव्र रूपमा प्रयोग गर्ने र कहाँ सावधानी अपनाउने भन्ने विषय महत्वपूर्ण हुने विज्ञहरूको धारणा छ। रोजगारी छनोट, ऋण प्रवाह, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र कार्यस्थल निगरानीजस्ता क्षेत्रमा एआईको त्रुटि, अपारदर्शिता वा अत्यधिक नियन्त्रणले मानिसमा स्थायी असर पार्न सक्ने भएकाले त्यस्ता क्षेत्रमा कडा सावधानी आवश्यक रहेको उनीहरूले बताएका छन्।
भारतले अत्याधुनिक एआई प्रविधिमा विश्वको अग्रस्थान हासिल नगरे पनि त्यसको प्रयोगबाट ठूलो आर्थिक लाभ लिन सक्ने सम्भावना देखिन्छ। विशेषगरी साना व्यवसाय र स्वरोजगारमा एआईले नयाँ ग्राहक खोज्न, ऋणका लागि योग्य हुन र सरकारी नियम–प्रक्रिया बुझ्न सहयोग पुर्याउन सक्ने विज्ञहरूको भनाइ छ।
अर्थात् भारतको एआई रणनीतिको मूल प्रश्न प्रविधि कति शक्तिशाली बनाउने भन्ने मात्र होइन, त्यसले आम मानिसको काम र आम्दानी कति बढाउन सक्छ भन्ने पनि हो। (स्रोत: सिएनआई/तस्बिर – एएफपी)