२०८३ असोज २१ गते बुधबार

Business Intelligence Platform

माइक्रोसफ्ट र एनभिडियाले सार्वजनिक गर्दै एआई क्षमतायुक्त नयाँ ल्यापटप

माइक्रोसफ्टले एनभिडियाको चिप प्रयोग गरिएको नयाँ ल्यापटप सार्वजनिक गर्ने भएको छ। विन्डोजलाई एआई एजेन्टहरूले कोड लेख्नेलगायतका जटिल काम क्लाउडमा नपुगी आफ्नै कम्प्युटरमै गर्न सक्ने प्लेटफर्मका रूपमा विकास गर्ने उद्देश्यसहित नयाँ ल्यापटप ल्याउन लागिएको विश्लेषकहरूले बताएका छन्।

२१ असोज २०८३
माइक्रोसफ्ट र एनभिडियाले सार्वजनिक गर्दै एआई क्षमतायुक्त नयाँ ल्यापटप
दृश्य टिभी

सान फ्रान्सिस्को। माइक्रोसफ्टले एनभिडियाको चिप प्रयोग गरिएको नयाँ ल्यापटप सार्वजनिक गर्ने भएको छ। विन्डोजलाई एआई एजेन्टहरूले कोड लेख्नेलगायतका जटिल काम क्लाउडमा नपुगी आफ्नै कम्प्युटरमै गर्न सक्ने प्लेटफर्मका रूपमा विकास गर्ने उद्देश्यसहित नयाँ ल्यापटप ल्याउन लागिएको विश्लेषकहरूले बताएका छन्।

माइक्रोसफ्टका लागि यो कदम महँगो पर्ने ‘एज्युर’ क्लाउड कम्प्युटिङ डेटा सेन्टरमा हुँदै आएका केही कामलाई उच्च क्षमताका विन्डोज कम्प्युटरमा सार्ने रणनीतिक दाउ हो। यसबाट व्यवसाय तथा घरमा प्रयोग हुने कम्प्युटर बजारमा आफ्नो बलियो पकड कायम राख्दै ग्राहककै खर्चमा आवश्यक हार्डवेयर प्रयोग गर्न सकिने अपेक्षा माइक्रोसफ्टको छ। यही बजारमा लामो समयदेखिको प्रतिस्पर्धी एप्पलले पनि नयाँ म्याक कम्प्युटरमार्फत आफ्नो उपस्थिति बढाउने प्रयास गरिरहेको छ।

एनभिडियाका लागि भने विन्डोज पीसी बजारमा प्रवेशले लामो समयदेखि यस क्षेत्रमा प्रभुत्व जमाउँदै आएका इन्टेल र एडभान्स्ड माइक्रो डिभाइसेज ९एएमडी० लाई चुनौती दिने नयाँ अवसर सिर्जना गर्न सक्छ।

माइक्रोसफ्टले सान फ्रान्सिस्कोमा आयोजना गर्ने कार्यक्रममा विन्डोज अपरेटिङ सिस्टम र ‘सरफेस’ हार्डवेयर शृंखलाबारे नयाँ जानकारी सार्वजनिक गरिनेछ। यो कार्यक्रम माइक्रोसफ्ट र एआई चिप निर्माता एनभिडियाबीच वर्षौंदेखि भइरहेको सहकार्यको महत्वपूर्ण परिणामका रूपमा हेरिएको छ।

दुवै कम्पनीले गत जुनमा घोषणा गरिएका एनभिडियाका ‘आरटीएक्स स्पार्क’ चिपमार्फत कम्प्युटरमा कोड लेख्ने, जटिल व्यावसायिक परियोजना व्यवस्थापन गर्ने जस्ता काम सिधै डेस्कटप र ल्यापटपमै सञ्चालन गर्ने प्रविधि विकास गरिरहेका छन्।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेला र एनभिडियाका सीईओ जेन्सेन ह्वाङले आज संयुक्त रूपमा नयाँ ल्यापटप सार्वजनिक गर्नेछन्। नयाँ उपकरणको नाम ‘सरफेस ल्यापटप अल्ट्रा’ राखिएको छ।

माइक्रोसफ्ट र एनभिडियासामु रहेको प्रमुख चुनौती भनेको जटिल समस्या आफैं समाधान गर्न सक्ने एआई एजेन्टलाई व्यक्तिगत कम्प्युटरभित्र सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने प्रमाणित गर्नु हो।

एनभिडियाले एआई हब ‘हगिङ फेस’ मा भएको ह्याकिङ घटनाजस्तो समस्या दोहोरिन नदिन सुरक्षा उपायमा काम गरिरहेको छ। उता, एप्पलले पनि एआई एजेन्टलाई म्याक कम्प्युटरको हार्डड्राइभमा पूर्ण पहुँच दिने प्रक्रियालाई थप सुरक्षित बनाउने प्रयास गरिरहेको छ।

तर विश्लेषकहरूका अनुसार नयाँ उपकरणको मूल्य नै सबैभन्दा ठूलो प्रश्न बन्नेछ। पछिल्लो समय मेमोरी चिपको अभाव र बढ्दो लागतका कारण डेस्कटप तथा ल्यापटप कम्प्युटरको मूल्य बढिरहेको छ।

दुई वर्षअघि माइक्रोसफ्टले एआईसम्बन्धी काम कम्प्युटरमै सञ्चालन गरेर लागत घटाउने अवधारणा अघि सार्दा यस्ता ल्यापटपको मूल्य प्रायः २ हजार डलरभन्दा कम थियो। तर पछिल्ला साताहरूमा एनभिडियाले ‘डीजीएक्स स्पार्क’ नामक एआई डेस्कटपको मूल्य करिब ७५ प्रतिशतले बढाएर ६ हजार ९५० डलर पुर्‍याएको छ। यसको प्रमुख कारण १२८ गिगाबाइट मेमोरीको मूल्यमा भएको तीव्र वृद्धि हो।

‘मोर इनसाइट्स एन्ड स्ट्राटेजी’का विश्लेषक एन्सेल सागका अनुसार मेमोरी चिपको मूल्यवृद्धिले एप्पल र माइक्रोसफ्ट दुवैको एआईलाई कम्प्युटरमै सञ्चालन गर्ने योजनालाई प्रभावित गरिरहेको छ।

सागले रोयटर्ससँग भनेका छन्, “दुई वर्षअघि सफ्टवेयर तयार थिएन, तर हार्डवेयर तयार थियो। अहिले सफ्टवेयर तयार छ, तर हार्डवेयर स्थानीय रूपमा एआई चलाउन निकै महँगो भएको छ।”

यसको परिणामस्वरूप स्थानीय कम्प्युटरमै एआई चलाउने क्षमता पर्याप्त बजेट भएका प्रयोगकर्तामा मात्र सीमित हुने अवस्था आउन सक्छ। रोयटर्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *