२०८३ कार्तिक २४ गते मङ्गलबार

Business Intelligence Platform

इरानमाथि थप आक्रमण नगर्ने ट्रम्पको संकेतपछि कच्चा तेलको मूल्यमा झन्डै ५ प्रतिशत गिरावट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्ने सम्भावना न्यून रहेको संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा झन्डै ५ प्रतिशत गिरावट आएको छ। मध्यपूर्वमा जारी द्वन्द्व मत्थर हुने र विश्व बजारमा तेल आपूर्ति सहज हुने अपेक्षाले सोमबार तेलको मूल्य घटाएको हो।

सोमबार नेपाली समयअनुसार राति सार्वजनिक भएको कारोबार विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४.६५ प्रतिशत अर्थात् ४.५७ डलर घटेर ९३.७५ डलरमा झरेको थियो। कारोबारका क्रममा यसको मूल्य ९२.८० डलरसम्म पुगेको थियो।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य ३.५१ प्रतिशत अर्थात् ३.१९ डलर घटेर प्रतिब्यारेल ८७.६४ डलर कायम भएको थियो।

यसअघि गत साता पनि ब्रेन्ट क्रुडको मूल्य १६ प्रतिशतले घटेको थियो। प्रतिब्यारेल ९३.२२ डलरसम्म झरेको यसको मूल्यमा आएको यो गिरावट कोभिड–१९ महामारी सुरु भएयताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट मानिएको छ।

युद्ध मत्थर हुने आशाले बजारमा राहत

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार इरानसँगको द्वन्द्व अन्त्य गर्ने वार्ता अघि बढिरहेको अवस्थामा पुनः सैन्य आक्रमण गर्ने सम्भावना निकै कम रहेको बताएका थिए। उनको यही अभिव्यक्तिले युद्ध थप विस्तार नहुने र तेल आपूर्तिमा देखिएको जोखिम कम हुने अपेक्षा बढाएको हो।

तर, युद्धको अवस्था भने अझै सामान्य भइसकेको छैन। इरान र अमेरिकाले होर्मुज जलडमरूमध्य आसपासका क्षेत्रमा पानीजहाजमाथि आक्रमण भएको जानकारी दिएका छन्।

गत साता ट्रम्पले इरानमाथि पुनः आक्रमण हुन सक्ने संकेत दिएका थिए। त्यसको जवाफमा तेहरानले अमेरिका र इजरायलका लक्ष्यमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको थियो। यद्यपि, अहिलेसम्म अमेरिकाले ठूलो स्तरको सैन्य कारबाही सुरु गरेको संकेत देखिएको छैन।

इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले भने अमेरिकाले जुन महिनाको अन्तरिम सम्झौतामा उल्लेख गरिएका सात सर्त पूरा गर्न व्यावहारिक कदम नचालेसम्म वार्तामा बस्ने योजना नरहेको बताएका छन्।

यसैबीच, साउदी अरब र ओमानका विदेशमन्त्रीले क्षेत्रीय संकट नियन्त्रण गर्न कूटनीतिक प्रयास अघि बढाउनुपर्ने तथा समुद्री सुरक्षा र जलमार्गको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। कतारका प्रधानमन्त्रीसँग पनि ट्रम्पले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। कतारले यसअघि अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।

होर्मुजमा जोखिम कायमै

तेलको मूल्य घटे पनि विश्व बजारमा आपूर्ति सुरक्षाबारे चिन्ता हटेको छैन। विश्वको ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य आसपास पानीजहाजमाथि आक्रमण भइरहेका छन्।

साउदी अरबको इस्ट–वेस्ट तेल पाइपलाइनमा पनि आक्रमण भएको थियो। आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको र मानवीय क्षति नभएको साउदी अधिकारीहरूले बताएका छन्। पाइपलाइनको सञ्चालनमा भने असर नपरेको जनाइएको छ।

त्यस्तै, यमनका हुथी विद्रोहीले साउदी तेल कम्पनी अरामकोको रियादस्थित कार्यालयलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। आक्रमणको प्रयासका क्रममा खसेको अवशेषले कार्यालय भवनका विभिन्न तलाका झ्यालमा क्षति पुर्‍याएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ।

इराकले पनि ओमाननजिकको समुद्री मार्ग प्रयोग गरी होर्मुज जलडमरूमध्यबाट तेल निर्यात गर्न अमेरिकासँग समझदारी गरेको जनाएको छ।

विश्लेषकहरूका अनुसार युद्ध मत्थर हुने अपेक्षाले बजारमा तेल बिक्रीको दबाब बढाए पनि पानीजहाज र तेल पूर्वाधारमाथिका आक्रमणले आपूर्तिसम्बन्धी जोखिम अझै कायम राखेको छ।

आपूर्ति बढ्दा मागमा दबाब

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्नुको अर्को कारण आपूर्ति बढ्नु र उच्च मूल्यका कारण माग कमजोर हुनु पनि हो।

जेपी मोर्गनको पछिल्लो प्रतिवेदनअनुसार अक्टोबरमा विश्व बजारमा दैनिक करिब १४ लाख ब्यारेल कच्चा तेल अतिरिक्त उपलब्ध भएको अनुमान छ। पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन ९ओपेक० को उत्पादन पनि अक्टोबरमा बढेको छ।

सर्वेक्षणअनुसार ओपेकका ११ सदस्य राष्ट्रको दैनिक कच्चा तेल उत्पादन सेप्टेम्बरको तुलनामा १३ लाख ८० हजार ब्यारेलले बढेर २ करोड २८ लाख ७० हजार ब्यारेल पुगेको छ। साउदी अरब, कुवेत र इराकमा उत्पादन बढ्नु यसको प्रमुख कारण हो।

अमेरिकामा पनि तेलको मौज्दातमा परिवर्तन देखिएको छ। त्यहाँको रणनीतिक पेट्रोलियम भण्डारमा रहेको कच्चा तेलको परिमाण घटेर २७ करोड ९५ लाख ब्यारेलमा झरेको छ। सन् १९८२ को अक्टोबरयताकै न्यून मौज्दात हो।

यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निर्धारणमा एकातिर युद्धको जोखिम र अर्कोतिर आपूर्ति तथा मागको अवस्थाले एकसाथ प्रभाव पारिरहेको देखाउँछ।

नेपाललाई के प्रभाव पर्छ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्नु नेपालजस्ता पूर्णतः आयातित पेट्रोलियम पदार्थमा निर्भर अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। नेपालले आफ्नो पेट्रोलियम आवश्यकता मुख्यतः भारतबाट आयात गर्दै आएको छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिँदा भारतीय बजार हुँदै नेपालमा पनि पेट्रोलियम पदार्थको खरिद लागत घट्ने सम्भावना रहन्छ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त गर्ने मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको खरिद मूल्य निर्धारण हुने भएकाले अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको प्रभाव नेपालमा पर्न केही समय लाग्न सक्छ।

तेलको मूल्य घट्दा नेपाललाई मुख्यतः तीन क्षेत्रमा राहत पुग्न सक्छ।

पहिलो, पेट्रोलियम पदार्थको आयातमा खर्च हुने विदेशी मुद्रा बचत हुन सक्छ। दोस्रो, यातायात तथा ढुवानी लागत घट्दा वस्तु तथा सेवाको उत्पादन र वितरण खर्चमा राहत पुग्न सक्छ। तेस्रो, पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता आएमा समग्र मुद्रास्फीतिको चाप कम गर्न सहयोग पुग्न सक्छ।

तर अन्तर्राष्ट्रिय बजारमा एक–दुई दिन आएको गिरावटका आधारमा नेपालमा तत्काल मूल्य घट्ने निष्कर्ष निकाल्न भने मिल्दैन। आईओसीको खरिद मूल्य, डलरको विनिमय दर, ढुवानी तथा अन्य लागत र निगमको मूल्य समायोजन नीतिले पनि नेपाली बजारको मूल्य निर्धारणमा प्रभाव पार्छन्।

अर्कोतर्फ, मध्यपूर्वको तनाव पुनः चर्किएर होर्मुज जलमार्गमा तेल आपूर्ति अवरुद्ध भएमा अन्तर्राष्ट्रिय बजारमा मूल्य फेरि बढ्न सक्छ। त्यसको प्रत्यक्ष असर नेपालजस्ता आयातमा निर्भर मुलुकले बेहोर्नुपर्ने हुन्छ।

त्यसैले अहिले तेलको मूल्यमा आएको गिरावटलाई तत्कालीन बजार प्रतिक्रियाका रूपमा बुझ्नु उपयुक्त हुन्छ। नेपालका लागि यसको वास्तविक लाभ भने अन्तर्राष्ट्रिय बजारमा मूल्य कति समयसम्म घट्दो वा स्थिर रहन्छ र त्यसको प्रभाव आयात मूल्यमा कति पर्छ भन्नेमा निर्भर हुनेछ। (एजेन्सीहरुबाट)

 

विवाहलाई ऋणको पासो बन्न नदिन यी हुन् बहुमूल्य उपाय

काठमाडौं। नेपाली समाजमा विवाहलाई दुई व्यक्तिबीचको सम्बन्ध मात्र होइन, दुई परिवारको प्रतिष्ठा र सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने चलन छ। यही कारण विवाहमा आफ्नो आर्थिक हैसियतभन्दा बढी खर्च गर्ने प्रवृत्ति बढ्दो छ।

पछिल्लो समय विवाह समारोहमा होटल, पार्टी प्यालेस, महँगा पोसाक, गहना, सजावट, फोटो तथा भिडियो, भोजभतेर र पाहुनाको व्यवस्थापनमा ठूलो रकम खर्च हुने गरेको छ। कतिपय परिवारले वर्षौंको बचत विवाहमै खर्च गर्छन् भने कतिपयले ऋण लिएर आफ्नो आर्थिक क्षमताभन्दा ठूलो समारोह आयोजना गर्छन्।

विवाहको बजेट बनाउँदा खर्चको अनुमान गरिए पनि अन्तिम हिसाब निकाल्दा निर्धारित रकमभन्दा धेरै खर्च भएको पाइन्छ। उदाहरणका लागि, ३० लाख रुपैयाँको बजेटमा विवाह गर्ने योजना बनाएको परिवारले अन्ततः ४० लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आउन सक्छ।

खानपानमा पाहुनाको संख्या बढ्नु, कपडा तथा गहनामा थप खर्च हुनु, पाहुनाको बसोबास, उपहार र अन्तिम समयमा थपिने अनेक शीर्षकले बजेट बढाउँछन्।

विवाहलाई भव्य बनाउने चाहना स्वाभाविक हो। तर, त्यसका लागि भविष्यको आर्थिक सुरक्षासमेत दाउमा लगाउनु बुद्धिमानी होइन।

आर्थिक व्यवहारका जानकारहरूका अनुसार विवाहको योजना बनाउँदा पाँचवटा गल्तीबाट जोगिन सके अनावश्यक आर्थिक भार र ऋणको जोखिम घटाउन सकिन्छ।

महँगी र मूल्यवृद्धिको हिसाब नराख्नु

विवाहको मिति तय भएपछि प्रायः परिवारले खर्चको अनुमान गर्न थाल्छन्। तर, विवाहको तयारी सुरु गर्दाको मूल्य र वास्तविक समारोह आयोजना हुँदासम्मको मूल्य एउटै नहुन सक्छ।

विशेषगरी होटल तथा पार्टी प्यालेस, खानपान, फूलमाला, सजावट, कपडा र यातायातको खर्च बढ्न सक्छ। अन्तिम समयमा पाहुनाको संख्या थपिँदा पनि बजेट बिग्रन सक्छ।

त्यसैले विवाहको बजेट बनाउँदा तत्कालीन बजार मूल्य मात्र होइन, सम्भावित मूल्यवृद्धि र थप खर्चलाई पनि ध्यान दिनुपर्छ।

होटल, पार्टी प्यालेस, क्याटरिङ तथा सजावटका सेवाप्रदायकसँग पहिले नै मूल्य र सेवा सर्त तय गर्नु राम्रो हुन्छ। मौखिक सहमतिभन्दा लिखित सम्झौता सुरक्षित हुन्छ। कति पाहुनाका लागि कस्तो सेवा उपलब्ध हुने, थप पाहुना आए कति शुल्क लाग्ने र अग्रिम भुक्तानीको सर्त के हुने भन्ने स्पष्ट हुनुपर्छ।

क्रेडिट कार्ड र व्यक्तिगत ऋणको भर पर्नु

आफ्नो आर्थिक क्षमताले नभ्याउने विवाह आयोजना गर्न कतिपय परिवारले बैंकबाट व्यक्तिगत ऋण लिने वा क्रेडिट कार्डको प्रयोग गर्ने गर्छन्।

तर, विवाह सकिएपछि पनि ऋण र त्यसको ब्याजको दायित्व सकिँदैन। क्रेडिट कार्डको भुक्तानी समयमै नगरे ब्याज र जरिवानाले आर्थिक भार झन् बढाउन सक्छ। व्यक्तिगत ऋणको किस्ता तिर्नुपर्ने दायित्वले परिवारको नियमित खर्चसमेत प्रभावित हुन सक्छ।

विवाहका लागि ऋण लिनैपर्ने अवस्था आउनु आफैँमा आर्थिक योजना कमजोर भएको संकेत हुन सक्छ।

त्यसैले आफ्नो आम्दानी, बचत र वास्तविक क्षमताका आधारमा विवाहको आकार निर्धारण गर्नु उचित हुन्छ। क्रेडिट कार्ड प्रयोग गर्नैपरे तोकिएको समयभित्र सम्पूर्ण बक्यौता तिर्न सकिने सुनिश्चित गर्नुपर्छ।

विवाहको एक दिनको खुसीका लागि वर्षौंसम्म ब्याज तिर्नुपर्ने अवस्था सिर्जना गर्नु हुँदैन।

विवाह बीमाको सम्भावना बेवास्ता गर्नु

नेपालमा विवाह बीमासम्बन्धी सुविधा र त्यसको उपलब्धता सबै परिवारका लागि सहज वा प्रचलित नहुन सक्छ। तर, ठूलो लगानीमा विवाह समारोह आयोजना गर्दा सम्भावित जोखिमबारे सोच्नु आवश्यक हुन्छ।

आगलागी, प्राकृतिक विपत्ति, समारोहस्थलमा क्षति, दुर्घटना वा अन्य अप्रत्याशित घटनाका कारण विवाह स्थगित वा रद्द हुन सक्छ। यस्तो अवस्थामा अग्रिम भुक्तानी गरेको रकमसमेत डुब्न सक्छ।

त्यसैले विवाहका लागि बीमा सुविधा उपलब्ध छ कि छैन भन्नेबारे सम्बन्धित बीमा कम्पनीसँग बुझ्न सकिन्छ। बीमा उपलब्ध भए त्यसले कुन(कुन जोखिम समेट्छ, कुन अवस्थामा क्षतिपूर्ति पाइन्छ र कुन अवस्थामा पाइँदैन भन्ने कुरा स्पष्ट हुनुपर्छ।

बीमा उपलब्ध नभए पनि सेवा प्रदायकसँग अग्रिम भुक्तानी फिर्ता हुने वा मिति परिवर्तन गर्न सकिने सर्त राख्नु उपयोगी हुन्छ।

आकस्मिक खर्चका लागि छुट्टै रकम नराख्नु

विवाहको तयारीमा सबै खर्चको हिसाब गरे पनि अन्तिम समयमा केही न केही खर्च थपिन सक्छन्। पाहुनाको संख्या बढ्नु, यातायातको व्यवस्था गर्नुपर्ने, थप खानपान, पोसाक वा अन्य सामग्री खरिद गर्नुपर्ने हुन सक्छ।

यस्तो अवस्थामा बजेट सकिएपछि फेरि ऋण खोज्नुपर्ने अवस्था आउन सक्छ।

त्यसैले कुल अनुमानित बजेटको कम्तीमा १० देखि १५ प्रतिशत रकम आकस्मिक खर्चका लागि छुट्टै राख्नु राम्रो हुन्छ।

उदाहरणका लागि, विवाहको कुल बजेट ३० लाख रुपैयाँ छ भने ३ देखि साढे ४ लाख रुपैयाँ आकस्मिक खर्चका लागि छुट्याउनुपर्छ।

यो रकमलाई नियमित खर्चको हिस्सा मान्नु हुँदैन। वास्तविक आपत्कालीन अवस्था आएमा मात्र प्रयोग गर्नुपर्छ। खर्च नभए विवाहपछि त्यही रकम बचतका रूपमा राख्न सकिन्छ।

दीर्घकालीन बचत र लगानी भत्काउनु

विवाहमा बढी खर्च हुने भएपछि कतिपय परिवारले बैंकमा राखेको मुद्दती निक्षेप तोड्ने, सेयर वा म्युचुअल फन्ड बेच्ने, अवकाशपछिको जीवनका लागि राखेको रकम निकाल्ने वा छोराछोरीको शिक्षाका लागि छुट्याएको बचतसमेत प्रयोग गर्ने गर्छन्।

यो अर्को गम्भीर आर्थिक गल्ती हुन सक्छ।

दीर्घकालीन बचत र लगानी भविष्यका महत्त्वपूर्ण आवश्यकताका लागि गरिएका हुन्छन्। घर निर्माण, छोराछोरीको शिक्षा, स्वास्थ्य उपचार, अवकाशपछिको जीवन र अन्य आर्थिक लक्ष्यका लागि छुट्याइएको रकम विवाहमा खर्च गर्दा ती लक्ष्य प्रभावित हुन सक्छन्।

मुद्दती निक्षेप समयअघि तोड्दा ब्याजमा असर पर्न सक्छ। लगानी बिक्री गर्दा बजारको अवस्थाअनुसार घाटा बेहोर्नुपर्ने हुन सक्छ। अवकाश कोष वा दीर्घकालीन बचतमा हात हाल्दा भविष्यको आर्थिक सुरक्षा कमजोर हुन सक्छ।

त्यसैले विवाहको खर्च जुटाउनुअघि आफ्नो दीर्घकालीन आर्थिक योजनामा असर पर्छ कि पर्दैन भन्ने विचार गर्नुपर्छ।

विवाहको खुसी ऋणको बोझ नबनोस्

विवाह जीवनको एउटा महत्त्वपूर्ण अवसर हो। यसलाई खुसी, आत्मीयता र पारिवारिक सम्बन्धको उत्सवका रूपमा मनाउनु राम्रो हो। तर, विवाह कति भव्य भयो भन्ने आधारमा परिवारको प्रतिष्ठा मापन गर्नु उचित होइन।

कति लाख खर्च गरियो, कति पाहुना बोलाइयो, कति महँगो होटलमा भोज आयोजना गरियो वा कति मूल्यका गहना लगाइयो भन्नेभन्दा पनि नयाँ जीवन सुरु गर्ने जोडीको भविष्य कति सुरक्षित छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

विवाहको तयारी गर्दा सबै खर्चको लिखित विवरण राख्ने, एउटै व्यक्तिलाई समग्र बजेटको जिम्मेवारी दिने र परिवारका सबै सदस्यले गर्ने खर्च एउटै हिसाबमा समावेश गर्ने गर्नुपर्छ। यसका लागि छुट्टै बैंक खाता वा एक्सेल सिट प्रयोग गर्न सकिन्छ।

विवाहको बजेट बनाउँदा तीनवटा कुरा स्पष्ट हुनुपर्छ—आफ्नो आर्थिक क्षमता, अनिवार्य खर्च र कटौती गर्न सकिने खर्च।

समाजलाई देखाउन होइन, आफ्नो परिवारको क्षमताअनुसार विवाह आयोजना गर्नु नै विवेकपूर्ण निर्णय हो।

किनभने विवाहको मण्डपमा सुरु भएको नयाँ जीवनको पहिलो अध्याय ऋणको किस्ता र आर्थिक तनावबाट होइन, आत्मीयता, समझदारी र आर्थिक सुरक्षाबाट सुरु हुनु राम्रो हुन्छ।

 

‘अवैध तरिकाले भित्रिने मोवाईल फोन राष्ट्रिय सुरक्षाको चुनौति बन्ने जोखिम छ’ दीपक मल्होत्रा, बरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

काठमाडौं।  नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले नेपालमा ‘सम्पत्ति शुध्दिकरण’ को आतंक छाएको टिप्पणी गरेका छन्। कुनै ठोस आधार र प्रमाणबिना नै उद्योगी व्यवसायी विरुध्द ‘सम्पत्ति शुध्दिकरण’ को उजुरी दिएर त्यसको अनुसन्धान समेत नगरी पहिला थुन्ने अनिमात्र सुन्ने गलत प्रवृत्ति हावी भएको मल्होत्राको भनाई छ।

यही कात्तिक २० गते शुक्रबार दृश्यटिभीसँगको सम्वादमा सुपरिचित व्यवसायी मल्होत्राले नयाँ सरकारले सत्ता सम्हालेपछि सुरुका दिनहरुमा यसरी नै उद्योगी व्यवसायी सताईएका घटनाहरु स्मरण गर्दै तर पछिल्ला दिनहरुमा त्यस्ता कार्य रोकिएको समीक्षा गरे। उनको भनाईमा सरकारले निजी क्षेत्रसँगको सहकार्य र हातेमालोबिना देशको आर्थिक उन्नति सम्भव नभएको कुरा महसुस गरेको आफूले ठम्याएको बताए।

यसबीच निजी क्षेत्रका संगठित संस्थाहरुसँग सरकारले निरन्तर सम्वाद गरिरहेको छ। देशकै निजी क्षेत्रको जेठो संस्था नेपाल चेम्बर अफ कमर्शको नेतृत्वसँग प्रधानमन्त्री, विभागीय मन्त्रीहरु र प्रधानमन्त्रीका सहयोगीहरुले उद्योग व्यवसाय क्षेत्रका समस्या तथा समाधानका उपायहरुबारे मसिनोगरी परामर्श गरेको वरिष्ठ उपाध्यक्ष मल्होत्राले चर्चा गरे।

सरकारी निकायहरुले आर्थिक अनियमितता र अन्य समस्यालाई एउटै दृष्टिले हेर्नाले पनि समस्याको वास्तविक समाधान हुननसकेको बरिष्ठ उपाध्यक्ष मल्होत्राको बुझाई छ। यी दुइ बिषयलाई छुट्याएर हेर्नेबित्तिकै समस्या समाधान सहज हुने उनको भनाई छ। सरकारसँगका निरन्तर सम्वादबाट मल्होत्रालाई विश्वास लागेको छ कि नयाँ सरकार पछिल्ला दिनहरुमा आएर निजी क्षेत्रसँग सहकार्य र हातेमालो नगरी देशको आर्थिक उन्नति र समृध्दि सम्भव छैन।

बरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत सुधारका पक्षमा विस्तृत चर्चा गर्दै नेपालमा बढ्दो मोवाइल व्यापारसँगै अवैध मोवाईल फोन भित्रिनाले आपराधिक क्रियाकलाप बढ्ने हुँदा राष्ट्रिय सुरक्षामा समेत चुनौति थपिने अवस्था रहेको औंल्याएका छन्।

मल्होत्रासँगको भिडियो सम्वाद यो लिंकमा हेर्न सकिने छ- https://youtu.be/KF5AvaWaGRk

९० सेकेन्डमै साइबर आक्रमण, एआई एजेन्टले बढायो सुरक्षा चुनौती

काठमाडौं। संयुक्त अरब इमिरेट्स ९यूएई० कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमा विश्वकै अग्रणी मुलुक बन्ने दिशामा अघि बढिरहेको छ। सरकारले सार्वजनिक क्षेत्रका ५० प्रतिशत काम एआई एजेन्टमार्फत सञ्चालन गर्ने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा एआई एजेन्टले आफ्नै नियन्त्रणबाहिर गएर अनधिकृत गतिविधि गर्ने जोखिम रोक्न समयमै उचित नीति, सुरक्षा मापदण्ड र नियन्त्रण प्रणाली लागू गर्नुपर्ने साइबर सुरक्षा विज्ञहरूले बताएका छन्।

केही महिनाअघि भएको ‘हगिङ फेस’ साइबर आक्रमणपछि एआई सुरक्षाबारे नयाँ बहस सुरु भएको हो। उक्त घटनामा ओपनएआईले विकास गरेका एआई एजेन्टहरूले तोकिएको काम गर्ने क्रममा निर्देशन उल्लंघन गर्दै हगिङ फेसको प्रणालीमा अनधिकृत पहुँच बनाएका थिए।

त्यस घटनापछि ओपनएआईले आफ्नो अनुसन्धान पूर्वाधारको सुरक्षा व्यवस्था थप बलियो बनाउने जनाएको थियो। यसअन्तर्गत इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाउने र निर्देशन पालना गर्ने विषयमा कडा मापदण्ड लागू गर्ने काम अघि बढाइएको छ।

ओपनएआईका अनुसार प्रविधिको विकाससँगै एआई एजेन्टले विभिन्न संस्थाका डिजिटल पूर्वाधारमा अनधिकृत पहुँच बनाउने तथा क्षति पुर्‍याउने घटना अझ ‘सामान्य’ बन्दै जान सक्छन्। तर साइबर सुरक्षा विज्ञहरूको भनाइमा कुनै आक्रमण हुनुअघि नै प्रभावकारी सुरक्षा घेरा तयार गर्न सके यस्ता घटना रोक्न सकिन्छ।

साइबर सुरक्षा कम्पनी हेल्पएजीका प्रमुख कार्यकारी अधिकृत अलेक्जान्डर भाल्जारेभिकले संस्थाहरूले एआई प्रयोग गर्दा आधारभूत साइबर सुरक्षा उपाय बिर्सने गरेको बताए।

‘हामीले अहिले देखिरहेको एउटा समस्या के हो भने संस्थाहरूले एआई वातावरणमा काम गर्दा पनि आधारभूत सुरक्षा नियन्त्रण आवश्यक हुन्छ भन्ने कुरा बिर्सिरहेका छन्,’ उनले भने।

उनका अनुसार उचित सुरक्षा व्यवस्था र नियन्त्रण प्रणाली अपनाइएको अवस्थामा यस्ता घटना हुनु हुँदैन।

हेल्पएजीले पछिल्लो छ महिनामा आफ्नो सुरक्षा सञ्चालन केन्द्रमा २० भन्दा बढी एआई एजेन्ट प्रयोगमा ल्याएको छ। भाल्जारेभिकका अनुसार प्रत्येक एआई एजेन्टलाई निश्चित जिम्मेवारी मात्र दिनुपर्छ। सबै कामका लागि सार्वजनिक रूपमा उपलब्ध वा अत्याधुनिक एआई मोडल प्रयोग गर्नु उचित हुँदैन।

हेल्पएजीले आफ्ना एआई एजेन्टको निगरानी गर्न अन्य एजेन्टसमेत परिचालन गरेको छ। यद्यपि अन्तिम जिम्मेवारी र जवाफदेहिता भने मानिसमै रहने व्यवस्था गरिएको छ।

आक्रमणकारीले पाउने अग्रता नै ठूलो चुनौती

अमेरिकी साइबर सुरक्षा कम्पनी प्रुफपोइन्टका युरोप, मध्यपूर्व तथा अफ्रिका क्षेत्रका वरिष्ठ उपाध्यक्ष केन्ट ब्रिउक्सका अनुसार नयाँ साइबर जोखिम तीव्र गतिमा देखा परिरहेका कारण आक्रमणकारीहरूले सुरक्षा प्रणालीभन्दा अगाडि पुग्ने अवसर पाइरहेका छन्।

उनले ‘नोभेल्टी ग्याप’ अर्थात् नयाँ प्रकारको साइबर जोखिम देखा परेको समय र त्यसलाई पहिचान गरी नियन्त्रण गर्न सुरक्षा प्रणाली अद्यावधिक हुन लाग्ने अवधिबीचको अन्तरलाई निकै संवेदनशील समयका रूपमा व्याख्या गरे।

यही अवधिमा साइबर अपराधीहरूले सुरक्षा प्रणालीको कमजोरी पहिचान गरी आक्रमण गर्न सक्छन्।

‘मेसिनको गतिमा काम भइरहेको अवस्थामा त्यसको प्रतिक्रियामा सुरक्षा व्यवस्था मिलाउन सकिँदैन,’ ब्रिउक्सले भने।

पहिले साइबर सुरक्षा कम्पनीहरूलाई कुनै प्रणालीको सुरक्षा सफ्टवेयर विकास गर्न र कमजोरी हटाउन महिनौँ लाग्न सक्थ्यो। तर अहिले ती कम्पनीहरूले अत्यन्त तीव्र गतिमा कमजोरी पत्ता लगाउने र आक्रमण गर्ने साइबर अपराधीको सामना गर्नुपरेको छ।

उनका अनुसार अहिले एआईको सहयोगमा साइबर आक्रमणकारीले सुरक्षा प्रणालीभन्दा करिब ५० दिनको अग्रता लिइरहेका छन्। उनीहरूले ९० सेकेन्डमै प्रणालीको कमजोरी पहिचान गर्ने, त्यसलाई उपयोग गर्ने आक्रमण विधि तयार पार्ने र कार्यान्वयनमा ल्याउन सक्ने अवस्था बनेको छ।

एआई शक्तिशाली भए पनि मानवको भूमिका निर्णायक

डेलिनियाका मध्यपूर्व, टर्की तथा अफ्रिका क्षेत्रका बिक्री उपाध्यक्ष मोर्तादा आयादका अनुसार अहिले प्रत्येक एक जना मानिसको तुलनामा ४६ वटा एआई एजेन्ट सक्रिय छन्। एआई प्रविधिको तीव्र विकाससँगै यो अनुपात अझै बढ्न सक्ने उनको अनुमान छ।

तर एआई एजेन्टले सधैँ मानिसलाई उछिन्न सक्छन् भन्ने छैन। हेल्पएजीका भाल्जारेभिकले अनियन्त्रित एआई एजेन्टको जोखिमलाई चुनौतीका रूपमा मात्र नभई त्यसको सही उपयोग गर्ने अवसरका रूपमा पनि हेर्नुपर्ने बताए।

‘यदि तपाईं एआई वा एजेन्टलाई एउटा रहस्यमय प्रणालीका रूपमा मात्र हेर्नुहुन्छ भने त्यो अर्को एउटा अत्याधुनिक प्रविधि मात्रै हो। हो, यो निकै विकसित प्रविधि हो। तर यसको अर्थ मानवताको आफ्नै भूमिका समाप्त हुन्छ भन्ने होइन,’ उनले भने।

उनका अनुसार एआईको प्रयोग कसरी गर्ने र यसलाई कुन दिशामा अघि बढाउने भन्ने निर्णय मानिसकै हातमा छ।

‘एआईको उपयोग कसरी गर्ने र यो प्रविधिलाई कुन दिशामा अघि बढाउने भन्ने निर्धारण गर्ने जिम्मेवारी हाम्रै हो,’ उनले थपे।

एआई एजेन्टको बढ्दो प्रयोगले कामको गति र दक्षता बढाउने भए पनि त्यसको सुरक्षा, निगरानी र जवाफदेहितालाई बेवास्ता गर्न नहुने विज्ञहरूको निष्कर्ष छ। प्रविधिलाई नियन्त्रणमा राख्ने स्पष्ट नीति र प्रभावकारी सुरक्षा घेरा निर्माण गर्न सके मात्र एआईको लाभ सुरक्षित रूपमा लिन सकिनेछ। (एजेन्सीबाट)

 

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

 सुनसरी ।  यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन् ।
विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आउनुभएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताए। उनले किसानबाट प्रतिमुठा रु ८० मा खरिद गरेको फूल अहिले बजारमा रु ५० मा बिक्री गर्नुपरेको बताए। गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उनको भनाइ छ ।
गत वर्ष ठूलो एक बन्डल फूल रु ७०० का दरले १० हजार बन्डलसम्म बिक्री भएको थियो । यस वर्ष भने रु ५०० मा मुस्किलले बिक्री भइरहेको उनले सुनाए । उनले धनकुटाको थलथले क्षेत्रबाट किसानसँग फूल खरिद गरेर धरान–१३ स्थित कृषि उपज बजारमा ल्याई बिक्री गर्दै आएका छन् ।
पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गर्नुभएका अर्का व्यापारी असिम यादवले पनि यस वर्ष मूल्य घटेका कारण पहिलोपटक नै व्यापारमा घाटा व्यहोर्नुपरेको बताए। “धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको थिएँ”, उनले भनु, “प्रतिमुठा रु ७० देखि ८० मा खरिद गरेको फूल अहिले रु ४० देखि ५० मा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको छ ।”
धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेपछि बजारमा मूल्य घटेको बताए । उनका अनुसार गत वर्ष प्रतिमुठा रु १०० मा बिक्री भएको फूल यस वर्ष रु ४० देखि ५० मा बिक्री भइरहेको छ । त्यसैगरी गत वर्ष फूलको प्रतिमाला रु २०० देखि रु २५० सम्ममा बिक्री भएको फूलमाला यस वर्ष रु १०० मा सहजै पाउन सकिने अवस्था रहेको उनले बताए ।
धरानमा तिहारका अवसरमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताए। लक्ष्मीपूजा, कुकुरपूजा, घरको सजावट, ढोका तथा गेटमा लगाउन र पसल सजाउन फूलमालाको प्रयोग हुने गरेको छ ।
यस वर्ष स्थानीय उत्पादन पर्याप्त भएकाले उपभोक्तालाई राहत भए पनि किसान र व्यापारी भने मारमा परेको उनले बताए । धरान कृषि उपज बजारमा धनकुटा, उत्तरी पहाडी क्षेत्र, तेह्रथुम, मोरङ र झापालगायत जिल्लाबाट किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन् । तिहारको अवसरमा धरान कृषि उपज बजारबाट हरेक वर्ष करिब रु पाँच करोडभन्दा बढीको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताए ।
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताउनुभयो । स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधि बढेको उनको भनाइ छ ।
तिहारका बेला फूलको कारोबारसँगै दिदीबहिनीले दाजुभाइलाई दिने उपहार सामग्री, काजु, किसमिस, सुन्तलालगायत फलफूल तथा विभिन्न खाद्य सामग्रीको बिक्रीवितरण बढेको छ । यस्ता सामग्रीको किनबेचले बजारलाई थप चलायमान बनाएको उनले बताए। स्थानीय फूलको उत्पादन र कारोबार बढे पनि बजार मूल्य घट्दा यस वर्ष किसान तथा व्यापारीले अपेक्षित आम्दानी गर्न सकेका छैनन् । रासस

कस्तो छ आजको आर्थिक राशिफल?

काठमाडौं। आज सोमबार, ९ नोभेम्बर २०२६ अर्थात २३ कात्तिक २०८३ । आज चन्द्रमा तुला राशिमा रहनेछन्। यसले आर्थिक साझेदारी, लगानी, पैसासम्बन्धी निर्णय र व्यावसायिक सम्बन्धलाई विशेष प्रभाव पार्ने ज्योतिषीय संकेत छ।

तुला राशिमा वक्री बुधका कारण आर्थिक कारोबार, सम्झौता र महत्वपूर्ण छलफलमा ढिलाइ वा अन्योल उत्पन्न हुन सक्छ। कमजोर सूर्यले व्यावसायिक आत्मविश्वासमा केही कमी ल्याउन सक्छ भने कर्कट राशिमा रहेको मंगलले कार्यस्थलमा तनाव बढाउन सक्छ।

यद्यपि सिंह राशिमा रहेका बृहस्पतिले नयाँ सम्पर्क, व्यावसायिक सम्बन्ध र आम्दानीका अवसर सिर्जना गर्ने संकेत गरेका छन्। कन्या राशिमा वक्री शुक्र रहेकाले खर्च गर्ने बानी, बचत र आर्थिक प्राथमिकताबारे पुनर्विचार गर्नु उपयुक्त हुनेछ।

समग्रमा आज आर्थिक योजना बनाउँदा संयम, विवेक र दूरदर्शिता अपनाउनु लाभदायक देखिन्छ।

मेष: आर्थिक साझेदारी र कारोबारमा सावधानी

आर्थिक पक्ष: तुला राशिमा चन्द्रमाको उपस्थितिले तपाईंको सातौँ भाव सक्रिय बनाउनेछ। त्यसैले आज संयुक्त लगानी, साझेदारी र साझा आर्थिक कारोबारमा विशेष ध्यान जानेछ। जीवनसाथी वा व्यावसायिक साझेदारसँग आर्थिक विषयमा छलफल हुन सक्छ। वक्री बुधका कारण भुक्तानी वा सम्झौतामा ढिलाइ हुनसक्ने भएकाले आर्थिक निर्णय गर्दा हतार नगर्नुहोस्। पर्याप्त अध्ययन नगरी लगानी गर्ने जोखिम नलिनु नै राम्रो हुनेछ।

व्यावसायिक पक्ष: कार्यालय वा व्यवसायमा साझेदारीका नयाँ सम्भावनाबारे छलफल हुन सक्छ। अनुभवी व्यक्तिसँग मिलेर नयाँ काम अघि बढाउने अवसर पनि आउन सक्छ। तर सहकर्मीसँग कुराकानी गर्दा गलत बुझाइ उत्पन्न हुनसक्ने भएकाले आफ्नो कुरा स्पष्ट र संयमित ढंगले राख्नुहोस्। अनावश्यक विवादबाट टाढा रहनु लाभदायक हुनेछ।

वृष: दैनिक खर्च र बजेट व्यवस्थापनमा ध्यान दिनुहोस्

आर्थिक पक्ष: चन्द्रमाले तपाईंको छैटौँ भाव सक्रिय बनाउने भएकाले ऋण, बक्यौता र दैनिक खर्चका विषय महत्वपूर्ण बन्नेछन्। लामो समयदेखि रोकिएको रकम प्राप्त गर्ने अवसर मिल्न सक्छ। तर वक्री शुक्रले जोखिमपूर्ण लगानीबाट जोगिन संकेत गरिरहेका छन्। आम्दानीअनुसार खर्चको योजना बनाउनुहोस् र बजेटलाई व्यवस्थित राख्नुहोस्।

व्यावसायिक पक्ष: कार्यस्थलमा कामको चाप बढ्न सक्छ। रोकिएका तथा अधुरा काम पूरा गर्ने अवसर मिल्नेछ। कुनै पुरानो परियोजना फेरि चर्चामा आउन सक्छ। काममा स्थिरता कायम राख्न सकिनेछ। व्यक्तिगत तनावलाई व्यावसायिक काममा असर गर्न नदिनुहोस्।

मिथुन: लगानी र आम्दानीका नयाँ सम्भावना

आर्थिक पक्ष: तुला राशिमा चन्द्रमाको गोचरले तपाईंको पाँचौँ भाव सक्रिय बनाउनेछ। यसले लगानी, आर्थिक योजना र धन आर्जनका नयाँ सम्भावनातर्फ ध्यान आकर्षित गर्नेछ। कुनै नयाँ क्षेत्रमा लगानी गर्ने अवसरबारे सोच्न सक्नुहुन्छ। तर निर्णय गर्नुअघि त्यसको जोखिम र प्रतिफल राम्ररी मूल्यांकन गर्नु आवश्यक छ। वक्री शुक्रले घरपरिवारसँग सम्बन्धित खर्चको पुनरावलोकन गर्न सुझाव दिएका छन्। हतारमा पैसा लगानी नगर्नुहोस्।

व्यावसायिक पक्ष: सिर्जनात्मक काम, सञ्चार, लेखन तथा नयाँ सोचसँग सम्बन्धित क्षेत्रमा लागेकाहरूका लागि दिन फलदायी हुन सक्छ। पुरानो व्यावसायिक सम्पर्क पुनः सक्रिय हुन सक्छ भने नयाँ विचारले अवसरको ढोका खोल्न सक्छ। वक्री बुधका कारण कागजात तथा आर्थिक विवरणमा केही संशोधन गर्नुपर्ने हुन सक्छ। सिंह राशिका बृहस्पतिले संवाद, सम्पर्क विस्तार र नेटवर्किङमा सहयोग पुर्‍याउनेछन्।

कर्कट: घरायसी खर्च र आर्थिक निर्णयमा संयम

आर्थिक पक्ष: चन्द्रमाले तपाईंको चौथो भाव सक्रिय बनाउने भएकाले घरजग्गा, सम्पत्ति र पारिवारिक खर्चका विषयमा ध्यान जानेछ। परिवारका सदस्यसँग आर्थिक योजना वा सम्पत्तिसम्बन्धी छलफल हुन सक्छ। आफ्नै राशिमा रहेको मंगलका कारण आवेगमा आएर अनावश्यक खर्च गर्ने सम्भावना छ। त्यसैले ठूलो आर्थिक निर्णय गर्दा हतार नगर्नुहोस्।

व्यावसायिक पक्ष: कार्यालय वा व्यवसायमा जिम्मेवारी निर्वाह गर्न धैर्य आवश्यक पर्नेछ। आलोचना वा असहमतिप्रति बढी संवेदनशील हुन सक्नुहुन्छ। व्यक्तिगत र व्यावसायिक जिम्मेवारीबीच तालमेल मिलाउन केही कठिनाइ आउन सक्छ। तर सिंह राशिका बृहस्पतिले आम्दानी बढाउने नयाँ अवसरतर्फ संकेत गरेका छन्।

सिंह: अतिरिक्त आम्दानी र आर्थिक आत्मविश्वास बढ्ने

आर्थिक पक्ष: तुला राशिमा रहेको चन्द्रमाले तपाईंको तेस्रो भाव सक्रिय बनाउनेछ। पैसासम्बन्धी छलफल, साना आर्थिक योजना र अतिरिक्त आम्दानीका स्रोत खोज्ने अवसर मिल्न सक्छ। आफ्नै राशिमा रहेका बृहस्पतिले आर्थिक आत्मविश्वास बढाउनेछन्। नयाँ सम्पर्क वा प्रयासबाट आम्दानीको बाटो खुल्न सक्छ। तर भविष्यमा हुने आम्दानीबारे अत्यधिक आशावादी भएर खर्चको प्रतिबद्धता नजनाउनुहोस्।

व्यावसायिक पक्ष: कुराकानी, सम्पर्क विस्तार र पुराना सहकर्मीसँगको सम्बन्धले नयाँ अवसर दिलाउन सक्छ। रोकिएको काम अघि बढ्ने संकेत पनि छ। बृहस्पतिले नेतृत्व क्षमता, व्यक्तिगत विकास र व्यावसायिक प्रतिष्ठा बढाउन सहयोग गर्नेछन्। अनावश्यक प्रतिस्पर्धा र देखावटी खर्चबाट टाढा रहनुहोस्।

कन्या: बचत र खर्चको हिसाब मिलाउने समय

आर्थिक पक्ष: तुला राशिमा चन्द्रमाको उपस्थितिले तपाईंको दोस्रो भाव सक्रिय बनाउनेछ। यसले आम्दानी, बचत र पारिवारिक आर्थिक अवस्थालाई प्राथमिकतामा राख्नेछ। आफ्नो कमाइ र खर्चको हिसाब पुनः जाँच गर्ने राम्रो समय हो। आफ्नै राशिमा वक्री शुक्र रहेकाले अनावश्यक खर्च गर्ने बानी सुधार्नुपर्ने संकेत छ। कुनै भुक्तानी वा आर्थिक कारोबार गर्नुअघि विवरण राम्ररी जाँच गर्नुहोस्।

व्यावसायिक पक्ष: विगतमा गरेका निर्णयको पुनरावलोकन गर्नुपर्ने हुन सक्छ। काममा भएका कमजोरी सुधार्ने अवसर मिल्नेछ। आर्थिक विषयमा छलफल गर्दा गलत बुझाइ उत्पन्न हुनसक्ने भएकाले स्पष्टता कायम राख्नुहोस्। व्यापारिक साझेदार र ग्राहकसँग व्यवहार गर्दा धैर्य अपनाउनु आवश्यक छ। व्यावसायिक सम्बन्ध सुमधुर राख्न विशेष ध्यान दिनुहोस्।

तुला: आर्थिक योजना र व्यक्तिगत निर्णयमा ध्यान

आर्थिक पक्ष: चन्द्रमा तपाईंको आफ्नै राशिमा रहने भएकाले व्यक्तिगत आर्थिक अवस्था र भविष्यको सुरक्षाप्रति बढी सजग हुनुहुनेछ। बजेटलाई नयाँ ढंगले व्यवस्थित गर्ने वा पुरानो लगानीबारे पुनर्विचार गर्ने समय छ। वक्री बुधका कारण आर्थिक सम्झौता र कारोबारमा अन्योल हुन सक्छ। तत्काल ठूलो रकम खर्च गरेर सामान खरिद गर्ने निर्णयबाट जोगिनुहोस्।

व्यावसायिक पक्ष: कार्यस्थलको वातावरण र सहकर्मीसँगको सम्बन्ध महत्वपूर्ण बन्नेछ। काम गर्ने शैली वा कार्यालयको व्यवस्थापन सुधार्ने सोच आउन सक्छ। बैठक र महत्वपूर्ण छलफलमा केही अन्योल उत्पन्न हुनसक्ने भएकाले आफ्नो कुरा स्पष्ट राख्नुहोस्। उच्च अधिकारीबाट अपेक्षित प्रशंसा पाउन केही समय लाग्न सक्छ। नयाँ जिम्मेवारी लिनुअघि पुराना कामको समीक्षा गर्नु राम्रो हुनेछ।

वृश्चिक: अनपेक्षित खर्च नियन्त्रण गर्नुपर्ने

आर्थिक पक्ष: चन्द्रमाले तपाईंको बाह्रौँ भाव सक्रिय बनाउने भएकाले अनपेक्षित खर्च, टाढाका ठाउँसँग जोडिएका आर्थिक कारोबार र विभिन्न आर्थिक दायित्वमा ध्यान दिनुपर्नेछ। यात्रा वा घरायसी आवश्यकतामा रकम खर्च हुन सक्छ। पुराना आर्थिक व्यवस्था र भुक्तानीको समीक्षा गर्नु उपयुक्त हुनेछ। अनावश्यक वस्तुमा पैसा खर्च नगर्नुहोस्।

व्यावसायिक पक्ष: कार्यालयका छलफलभन्दा एकान्तमा बसेर काम गर्न बढी रुचि हुन सक्छ। विदेशी कम्पनी वा अन्तर्राष्ट्रिय कारोबारसँग सम्बन्धित व्यक्तिले पुराना रोकिएका विषय पुनः अघि बढाउनुपर्ने हुन सक्छ। उच्च अधिकारीसँग आर्थिक वा व्यावसायिक विषयमा कुरा गर्दा सावधानी अपनाउनुहोस्। बृहस्पतिको अनुकूल प्रभावले करियरमा प्रगति गर्ने अवसर दिलाउन सक्छ।

धनु: आम्दानी बढाउने अवसर र नयाँ व्यावसायिक सम्पर्क

आर्थिक पक्ष: तुला राशिमा रहेको चन्द्रमाले तपाईंको एघारौँ भाव सक्रिय बनाउनेछ। यो भाव आम्दानी, लाभ र आर्थिक उपलब्धिसँग सम्बन्धित मानिन्छ। त्यसैले आज धन कमाउने नयाँ अवसरको जानकारी मिल्न सक्छ। सिंह राशिमा रहेका बृहस्पतिले दीर्घकालीन आर्थिक योजना बनाउन सहयोग गर्नेछन्। तर कुनै व्यावसायिक प्रतिबद्धता जनाउनुअघि त्यससँग जोडिएका खर्च र दायित्वको हिसाब राम्ररी गर्नुहोस्।

व्यावसायिक पक्ष: तपाईंको व्यावसायिक सम्पर्क सञ्जाल आज निकै उपयोगी बन्न सक्छ। पुराना सहकर्मीसँग पुनः सम्बन्ध जोडिने वा नयाँ कामको अवसर प्राप्त हुने सम्भावना छ। बृहस्पतिले व्यावसायिक विस्तार, नयाँ सम्पर्क र प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्धलाई बलियो बनाउनेछन्। कुनै सम्झौतामा हस्ताक्षर गर्नुअघि सबै सर्त ध्यानपूर्वक पढ्नुहोस्।

मकर: पद, प्रतिष्ठा र आम्दानीबीच सम्बन्ध

आर्थिक पक्ष: चन्द्रमाले तपाईंको दशौँ भाव सक्रिय बनाउने भएकाले आर्थिक अवस्था र करियरका निर्णयबीच प्रत्यक्ष सम्बन्ध देखिनेछ। व्यावसायिक उन्नतिमार्फत आम्दानी बढाउने उपायबारे सोच्न सक्नुहुन्छ। वक्री शुक्रले यात्रा र अध्ययनसँग सम्बन्धित खर्चमा सावधानी अपनाउन सुझाव दिएका छन्। आम्दानीको केही हिस्सा बचतका लागि छुट्याउनु राम्रो हुनेछ।

व्यावसायिक पक्ष: कामको जिम्मेवारी बढ्न सक्छ। कुनै महत्वपूर्ण छलफल वा निर्णय प्रक्रियामा सहभागी हुने अवसर मिल्न सक्छ। सरकारी वा आधिकारिक स्वीकृति प्राप्त गर्न केही ढिलाइ हुनसक्छ। व्यापारिक साझेदारसँग मतभेद उत्पन्न हुने सम्भावना पनि छ। धैर्य कायम राख्दै कामको गुणस्तर र निरन्तरतामा ध्यान दिनुहोस्।

कुम्भ: दीर्घकालीन आर्थिक योजना बनाउने समय

आर्थिक पक्ष: तुला राशिमा रहेको चन्द्रमाले तपाईंको नवौँ भाव सक्रिय बनाउनेछ। यसले दीर्घकालीन आर्थिक योजना, यात्रा र शिक्षासम्बन्धी खर्चलाई प्राथमिकतामा ल्याउन सक्छ। तपाईंको राशिमा रहेको राहुले ठूलो र दूरगामी आर्थिक निर्णय लिन प्रेरित गर्न सक्छ। तर वक्री शुक्रले ऋण, साझेदारी र साझा सम्पत्तिसम्बन्धी कारोबारमा विशेष सावधानी अपनाउन संकेत गरेका छन्। अनावश्यक जोखिम नलिनुहोस्।

व्यावसायिक पक्ष: अहिले गरिरहेको कामभन्दा फरक क्षेत्रमा नयाँ अवसर खोज्ने सोच आउन सक्छ। नयाँ सीप सिक्ने र व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर मिल्नेछ। सातौँ भावमा रहेका बृहस्पति व्यापारिक साझेदारीका लागि अनुकूल मानिन्छन्। तर सम्झौता र वार्ताका क्रममा सबै कुरा स्पष्ट पारेर मात्र अघि बढ्नुहोस्।

मीन:  ऋण, बीमा र साझा सम्पत्तिको समीक्षा

आर्थिक पक्ष: चन्द्रमाले तपाईंको आठौँ भाव सक्रिय बनाउने भएकाले ऋण, बीमा, साझा सम्पत्ति र संयुक्त आर्थिक कारोबारका विषय महत्वपूर्ण बन्नेछन्। पुरानो आर्थिक प्रतिबद्धता वा दायित्वको पुनरावलोकन गर्नुपर्ने हुन सक्छ। वक्री शुक्रले आर्थिक साझेदारीमा सावधानी अपनाउन सुझाव दिएका छन्। वक्री शनिले अनुशासित खर्च र व्यवस्थित बजेटलाई प्राथमिकता दिन संकेत गरेका छन्।

व्यावसायिक पक्ष: कार्यालय वा व्यवसायमा उत्पन्न परिस्थितिलाई सहज ढंगले व्यवस्थापन गर्न धैर्य आवश्यक हुनेछ। अधुरो परियोजना पूरा गर्ने वा लामो समयदेखि रोकिएको व्यावसायिक समस्या समाधान गर्ने अवसर मिल्न सक्छ। सहकर्मीसँग व्यवहार गर्दा आवेगमा नआउनुहोस्। सिंह राशिका बृहस्पतिको अनुकूल प्रभावले निरन्तर प्रयासमार्फत कामका अवरोध हटाउन सहयोग गर्नेछ।

आजको आर्थिक सुझाव:  सोमबारको ग्रहगोचरले आम्दानीका नयाँ सम्भावना देखाए पनि लगानी, ऋण र साझेदारीका विषयमा हतार नगर्न संकेत गरेको छ। विशेषगरी खर्चको हिसाब राख्ने, रोकिएका भुक्तानीको अनुगमन गर्ने र दीर्घकालीन आर्थिक योजना बनाउने कामका लागि आजको दिन उपयोगी हुन सक्छ।

नोट: यो राशिफल ज्योतिषीय ग्रहगोचरमा आधारित सामान्य अनुमान हो। यसलाई निश्चित आर्थिक प्रतिफल वा लगानीको निर्णयको आधार नबनाउनुहोला। (स्रोत- नवभारत टाइम्स)

 

पर्यटन प्रवर्द्धनको उदेश्यले इलाममा चिया महोत्सव

इलाम । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव- २०८३’ आयोजना हुने भएको छ । यहाँको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मङ्सिर ५ र ६ गते महोत्सव हुने भएको हो ।

महोत्सव व्यवस्थापनका लागि सूर्योदय- १० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा गठित सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिले तयारी तीव्र पारेको छ । सूर्योदय- ७, ८ र ९ का जनप्रतिनिधिसहित स्थानीय चिया पर्यटन व्यवसायी सम्मिलित समितिले तयारी तीव्र पारेको संयोजक लामाले बताए।

लामाका अनुसार महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकीहरू प्रस्तुत हुनेछन् ।

महोत्सवमा ‘जलवायु परिवर्तनको सामना: दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयक अन्तरंवाद हुनेछ । सङ्घीय सांसद, नेपाल सरकारका कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव र स्थानीय प्रतिनिधि सहभागी हुने अन्तरसंवादको सहजीकरण पत्रकार बसन्त बस्नेतले गर्नेछन् ।

महोत्सवमा स्थानीय खाद्य परिकारका कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, परीक्षण र बजारीकरणको व्यवस्था गरिने महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव खेम राईले बताए । उनका अनुसार महोत्वसमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछन् ।

पुरुषतर्फ कन्याममा १२ दशमलव ५ किलोमिटर र महिलातर्फ कन्याममै ९ किलोमिटर दुरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार नगद पुरस्कार पाउनेछन् ।

महोत्सवमा आन्तरिक र बाह्य गरी करिब १० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको समितिका संयोजक लामाले बताए । “चिया पर्यटन प्रवर्द्धन गर्ने र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “महोत्सव आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।” महोत्सव सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय(७ कन्यामबाट वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ ।

सूर्योदय नगरपालिका- ७ मा अवस्थित कन्याम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हो । चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज खान, घोडचढी गर्न, फोटो र भिडियो खिच्न एवं दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् । रासस

नेप्सेले पायो नयाँ नेतृत्व : यी हुन् सुधारका अवसर र चुनौती

काठमाडौं। नेपालको पूँजी बजारले नयाँ नेतृत्व पाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन्। तर उनको नियुक्ति सामान्य नेतृत्व परिवर्तन मात्र होइन, लामो समयदेखि संरचनागत समस्या र सुधारको प्रतीक्षामा रहेको नेपालको शेयर बजारलाई नयाँ दिशामा अघि बढाउने अवसरका रूपमा हेरिएको छ।

नेपाल सरकारको २०८३ कात्तिक १७ गतेको निर्णयअनुसार चार वर्षका लागि नेप्सेको सीईओ नियुक्त भएका सुवेदीले कात्तिक २० गते शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। उनले नेप्सेका सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै जिम्मेवारी ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा उनले पूँजी बजारको विकास र विस्तारसँगै लगानीकर्ता, स्टक एक्सचेन्ज र कर्मचारीको हित प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता तथा कारोबार सदस्यहरूसँग कार्यशील सम्बन्ध कायम गर्दै बजारको आवश्यकता र सम्भावनाअनुसार सुधार अघि बढाउने उनको प्रतिबद्धता छ। संस्थागत सुशासन, नियमको प्रभावकारी परिपालना, प्रविधिगत सुधार र जनशक्ति व्यवस्थापनलाई उनले प्राथमिकताका विषय बनाएका छन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका सुवेदीले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकमा काम गरिसकेका छन्। त्यस्तै नेको इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, साना किसान विकास बैंक तथा कोष व्यवस्थापन कम्पनीमा सञ्चालक र सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका उनी पर्वत जिल्लाका स्थायी बासिन्दा हुन्।

उनको वित्तीय क्षेत्रको अनुभव नेप्सेको व्यवस्थापनमा उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ। तर पूँजी बजारको समस्या बुझ्नु र त्यसलाई समाधान गरेर बजारलाई प्रतिस्पर्धी, पारदर्शी तथा विश्वसनीय बनाउनु फरक विषय हुन्। त्यसैले नयाँ सीईओको वास्तविक परीक्षा अब सुरु भएको छ।

नेप्सेका सामुन्ने चुनौतीको चाङ

नेपालको पूँजी बजार विस्तार हुँदै गए पनि यसको संरचना, प्रविधि, संस्थागत क्षमता र बजार सञ्चालनको गुणस्तर अपेक्षाअनुसार विकास हुन सकेको छैन। शेयर बजारको कारोबार प्रणाली सञ्चालन गर्ने संस्थाका रूपमा नेप्सेको भूमिका महत्वपूर्ण भए पनि यसको काम अझै परम्परागत संरचनाबाट माथि उठ्न सकेको छैन।

प्रविधिको आधुनिकीकरण र कारोबार प्रणालीको विश्वसनीयता

नेप्सेको सबैभन्दा महत्वपूर्ण चुनौती कारोबार प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउनु हो। लगानीकर्ताको संख्या बढ्दै गएको छ। कारोबारको आकार र प्रकृति पनि परिवर्तन हुँदै छ। तर बजारको प्रविधिगत पूर्वाधारले भविष्यको आवश्यकता धान्न सक्ने गरी विकास हुनुपर्ने आवश्यकता छ।

कारोबार प्रणालीमा आउने अवरोध, प्राविधिक समस्या, प्रणालीको गति, तथ्यांकको उपलब्धता र साइबर सुरक्षाजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। अन्तर्राष्ट्रियस्तरका स्टक एक्सचेन्जले अत्याधुनिक प्रविधि प्रयोग गर्दै रियल टाइम कारोबार, प्रभावकारी जोखिम व्यवस्थापन र उच्चस्तरीय तथ्यांक विश्लेषण उपलब्ध गराइरहेका छन्। नेप्सेले पनि प्रविधिलाई सामान्य व्यवस्थापनको विषय नभई बजारको प्रतिस्पर्धात्मक क्षमतासँग जोडेर हेर्नुपर्नेछ।

लगानीकर्ताको विश्वास र बजारको पारदर्शिता

शेयर बजारमा लगानीकर्ताको विश्वास सबैभन्दा ठूलो पूँजी हो। बजारमा मूल्य अस्वाभाविक रूपमा घटबढ हुनु, सीमित समूहबाट मूल्य प्रभावित पार्ने प्रयास हुनु, भित्री सूचनाको दुरुपयोग र बजारसम्बन्धी अपुष्ट हल्लाले लगानीकर्ताको विश्वास कमजोर बनाउँछन्।

यस्ता गतिविधि नियन्त्रण गर्न नेप्सेको बजार निगरानी प्रणाली प्रभावकारी हुनुपर्छ। अस्वाभाविक कारोबार, मूल्यमा कृत्रिम प्रभाव पार्ने गतिविधि तथा शंकास्पद कारोबारको पहिचान गर्न प्रविधिमा आधारित निगरानी प्रणाली विकास गर्न आवश्यक छ।

यद्यपि बजारमा हुने सबै अनियमितताको अनुसन्धान र कारबाही नेप्सेको मात्र जिम्मेवारी होइन। नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा नियमन, अनुसन्धान र कारबाहीको प्रभावकारी व्यवस्था मिलाउनु आवश्यक छ।

एउटै स्टक एक्सचेन्जको संरचना र प्रतिस्पर्धाको अभाव

नेपालमा हाल नेप्से नै एकमात्र सञ्चालनमा रहेको स्टक एक्सचेन्ज हो। यसले बजार सञ्चालनको जिम्मेवारीसँगै प्रतिस्पर्धात्मक क्षमता विकास गर्नुपर्ने चुनौती पनि सिर्जना गरेको छ।

एकाधिकारजस्तो संरचनामा रहेको संस्थाले सेवाको गुणस्तर, प्रविधि र व्यवस्थापनमा निरन्तर सुधार गर्नुपर्ने दबाब महसुस गर्नुपर्छ। नेप्सेको संस्थागत पुनर्संरचना, स्वामित्वको स्वरूप, निजी क्षेत्रको सहभागिता र प्रतिस्पर्धात्मक बजार संरचनाबारे पनि नीतिगत बहस आवश्यक छ।

यसका लागि सरकार र धितोपत्र बोर्डसँग समन्वय गर्दै नेप्सेलाई व्यावसायिक, स्वायत्त र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाउनुपर्नेछ।

बजारमा नयाँ वित्तीय उपकरणको अभाव

नेपालको शेयर बजार अझै मुख्यतः साधारण शेयर र सीमित ऋणपत्रको कारोबारमा केन्द्रित छ। विकसित पूँजी बजारमा डेरिभेटिभ्स, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), इन्डेक्स फन्ड, विभिन्न प्रकारका ऋणपत्र तथा अन्य वित्तीय उपकरणको कारोबार हुन्छ।

नेपालको बजारमा पनि जोखिम व्यवस्थापन र लगानी विविधीकरणका लागि यस्ता उपकरणको विकास आवश्यक छ।

नगर ऋणपत्र, पूर्वाधार ऋणपत्र, सामूहिक लगानीका उपकरण तथा अन्य वित्तीय साधनको कारोबार विस्तार गर्न सकिएमा पूँजी बजारलाई बैंक तथा वित्तीय संस्थामा आधारित वित्तीय संरचनाबाट बाहिर निकालेर अर्थतन्त्रको उत्पादनशील क्षेत्रमा जोड्न सकिन्छ।

यस विषयमा धितोपत्र बोर्डले पनि पूँजी बजार विकास मार्गचित्र, २०८३ अन्तर्गत नयाँ वित्तीय उपकरण विकास गर्ने पहल अघि बढाएको छ। नेप्सेले यस्ता उपकरणको कारोबारका लागि आवश्यक प्रविधि र बजार पूर्वाधार तयार गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।

बजारको गहिराइ र तरलता बढाउने चुनौती

नेपालको शेयर बजारमा केही ठूला कम्पनीको कारोबार र मूल्य उतारचढावले समग्र बजारलाई प्रभावित पार्ने अवस्था देखिन्छ। बजारमा कम्पनीको संख्या, कारोबारको विविधता र संस्थागत लगानीकर्ताको सहभागिता बढाउन आवश्यक छ।

विशेषगरी वास्तविक क्षेत्रका कम्पनी, उत्पादनमूलक उद्योग, पूर्वाधार आयोजना तथा अन्य सम्भावनायुक्त संस्थालाई पूँजी बजारमा आकर्षित गर्नुपर्छ। त्यस्तै बजारमा संस्थागत लगानीकर्ताको सहभागिता, बजार निर्माता (मार्केट मेकर) को व्यवस्था र कारोबारमा तरलता बढाउने उपाय खोज्नुपर्नेछ।

संस्थागत सुशासन र कर्मचारी व्यवस्थापन

नेप्से आफैं सार्वजनिक संस्थागत संरचनामा सञ्चालित संस्था हो। त्यसैले यसको आन्तरिक व्यवस्थापन, निर्णय प्रक्रिया, कर्मचारीको कार्यक्षमता र उत्तरदायित्व पनि सुधारको महत्वपूर्ण पक्ष हो।

कर्मचारीको क्षमता विकास, प्रविधिमा आधारित कार्यसम्पादन, निर्णय प्रक्रियामा पारदर्शिता र नतिजामुखी व्यवस्थापन आवश्यक छ। नयाँ सीईओले संस्थाभित्र व्यावसायिक संस्कार विकास गर्न सकेनन् भने बाह्य सुधारको अपेक्षा पनि पूरा हुन कठिन हुनेछ।

सुधारका लागि के गर्नुपर्छ?

नेप्सेको सुधार कारोबार प्रणालीमा केही प्राविधिक परिवर्तन गरेर मात्र सम्भव छैन। यसका लागि संस्थागत, नीतिगत र संरचनागत सुधार एकसाथ अघि बढाउनुपर्छ।

पहिलो, कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्नुपर्छ। आधुनिक प्रविधि, साइबर सुरक्षा, तथ्यांकको सुरक्षा र प्रणालीको निरन्तर सञ्चालन सुनिश्चित गर्नुपर्छ।

दोस्रो, बजार निगरानीलाई प्रविधिमैत्री बनाउनुपर्छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र तथ्यांक विश्लेषणको प्रयोगबाट अस्वाभाविक कारोबार तथा बजारमा हुन सक्ने चलखेल पहिचान गर्ने क्षमता विकास गर्न सकिन्छ।

तेस्रो, लगानीकर्तालाई आवश्यक सूचना समयमै र सहज रूपमा उपलब्ध गराउनुपर्छ। कम्पनीको वित्तीय विवरण, कारोबार विवरण, मूल्य परिवर्तन र बजारसम्बन्धी महत्वपूर्ण सूचनाको पहुँच सरल बनाउनुपर्छ।

चौथो, धितोपत्र बोर्ड र नेप्सेबीच नियमन तथा बजार सञ्चालनको भूमिकामा स्पष्टता र प्रभावकारी समन्वय आवश्यक छ। बजारको विकासका लागि यी दुई संस्थाबीच प्रतिस्पर्धा होइन, सहकार्य हुनुपर्छ।

पाँचौँ, साना तथा मझौला उद्यम (एसएमई) का लागि छुट्टै कारोबार प्लेटफर्म विकास गर्न सकिन्छ। यसले पूँजी बजारमा ठूला कम्पनीको मात्र पहुँच रहने अवस्थालाई परिवर्तन गर्दै साना उद्यमलाई पनि पूँजी जुटाउने अवसर दिन सक्छ।

छैटौँ, नेप्सेको संस्थागत पुनर्संरचना र स्वामित्वको स्वरूपबारे स्पष्ट नीतिगत दृष्टिकोण आवश्यक छ। व्यावसायिक स्वायत्तता, जवाफदेहिता र प्रतिस्पर्धात्मक क्षमता बढाउने गरी संस्थालाई विकास गर्नुपर्छ।

नयाँ सीईओको पहिलो प्राथमिकता के हुनुपर्छ?

चार वर्षको कार्यकाल पाएका सुवेदीले सुरुवातमै सुधारको स्पष्ट कार्ययोजना सार्वजनिक गर्नु आवश्यक छ। त्यसका लागि पहिलो १०० दिनभित्र नेप्सेको प्राविधिक, प्रशासनिक, वित्तीय र संस्थागत अवस्थाको विस्तृत समीक्षा गरी सुधारको प्राथमिकता निर्धारण गर्न सकिन्छ।

त्यसपछि चार वर्षको मापनयोग्य कार्ययोजना सार्वजनिक गर्नुपर्छ। कारोबार प्रणालीको स्तरोन्नति, बजार निगरानी, संस्थागत क्षमता विकास, नयाँ वित्तीय उपकरणको कारोबार र लगानीकर्ताको सेवामा सुधारका निश्चित लक्ष्य तोकिनुपर्छ।

सीईओको कार्यसम्पादनलाई पनि यस्ता लक्ष्यसँग जोड्न सकिन्छ। यसले नेतृत्वलाई जिम्मेवार बनाउनुका साथै सुधारको वास्तविक प्रगति मापन गर्न सहयोग पुर्‍याउँछ।

अर्कोतर्फ, नेप्सेको सीईओले सबै समस्या एक्लै समाधान गर्न सक्दैनन्। धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक हुन्छ। त्यसैले सुवेदीको नेतृत्व क्षमता संस्थाभित्रको व्यवस्थापनमा मात्र होइन, समग्र पूँजी बजारका सरोकारवालालाई एउटै सुधारको एजेन्डामा जोड्न सक्ने क्षमतामा पनि परीक्षण हुनेछ।

नेतृत्व परिवर्तन होइन, सुधारको परिणाम महत्वपूर्ण

नेपालको पूँजी बजारमा लगानीकर्ताको सहभागिता विस्तार हुँदै गएको छ। तर शेयर बजारलाई केवल शेयर किनबेच गर्ने थलोका रूपमा सीमित राखेर अर्थतन्त्रको विकासमा यसको वास्तविक योगदान हासिल गर्न सकिँदैन।

बचतलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्ने, उद्योग तथा पूर्वाधारका लागि दीर्घकालीन पूँजी जुटाउने र आम नागरिकलाई आर्थिक विकासको साझेदार बनाउने माध्यमका रूपमा पूँजी बजारलाई विकास गर्न आवश्यक छ।

यसका लागि नेप्से केवल कारोबार व्यवस्थापन गर्ने संस्था भएर पुग्दैन। यसले आधुनिक बजार पूर्वाधार निर्माण, वित्तीय नवप्रवर्तन र लगानीकर्ताको विश्वास अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।

तीन दशकभन्दा लामो वित्तीय क्षेत्रको अनुभव बोकेर आएका सुवेदीका लागि यो आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि हो। तर उनको सफलता कति लामो अनुभव छ भन्ने आधारमा होइन, चार वर्षपछि नेप्से कति पारदर्शी, प्रविधिमैत्री, विश्वसनीय र प्रतिस्पर्धी बन्यो भन्ने आधारमा मूल्यांकन हुनेछ।

अन्ततः नेप्सेलाई नयाँ सीईओ मात्र होइन, नयाँ कार्यसंस्कृति र सुधारको गति चाहिएको छ। लगानीकर्ताले खोजेको पनि नेतृत्व परिवर्तनको घोषणा होइन, आफ्नो लगानी सुरक्षित र बजार निष्पक्ष भएको अनुभूति हो।  # Nepal Stock Exchange (NEPSE)

 

 

भारतीय सेयर बजारमा ३५ वर्षकै ठूलो उछाल, लगानीकर्ताले कमाए २९.५७ लाख करोड

नयाँदिल्ली। दिपावलीअघि भारतीय सेयर बजारमा ऐतिहासिक उछाल आएको छ। लगातार सात कारोबार दिनदेखि बढिरहेको बजारले पछिल्लो ३५ वर्षयताकै कीर्तिमान बनाएको छ। यस अवधिमा सेन्सेक्स १०.६ प्रतिशत अर्थात् ७ हजार ७८२ अंकले बढेको छ भने निफ्टीमा १०.२७ प्रतिशतको वृद्धि भएको छ। बजारमा आएको यो उछालसँगै लगानीकर्ताको सम्पत्ति २९.५७ लाख करोड भारतीय रुपैयाँले बढेको छ।

शुक्रबार पनि बजारमा उत्साहजनक वृद्धि जारी रह्यो। सेन्सेक्स १ हजार ७१८ अंक अर्थात् २.१७ प्रतिशतले बढेर ८१ हजार २८.०२ बिन्दुमा बन्द भयो। त्यस्तै, निफ्टी ४९४ अंक अर्थात् २.०१ प्रतिशतले बढेर २५ हजार ३०.३५ बिन्दुमा पुग्यो।

दुवै प्रमुख सूचकांक करिब आठ महिनायताकै उच्च बिन्दुमा पुगेका छन्। यससँगै सेन्सेक्स पुनः ८० हजार र निफ्टी २५ हजार बिन्दुमाथि उक्लिएका छन्। यो साता मात्रै सेन्सेक्स ८.८ प्रतिशत र निफ्टी ८.६ प्रतिशतले बढेका छन्। सन् २०२१ को फेब्रुअरीपछि दुवै सूचकांकको यो सबैभन्दा राम्रो साप्ताहिक प्रदर्शन हो।

लगानीकर्ताको सम्पत्ति २९.५७ लाख करोड बढ्यो

अक्टोबर २८ देखि सुरु भएको सात कारोबार दिनको वृद्धिसँगै बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ५०३.११ लाख करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीहरूको बजार मूल्यमा मात्रै २९.५७ लाख करोड रुपैयाँ थपिएको छ। यसको अर्थ सेयर बजारको उछालले लगानीकर्ताको सम्पत्तिमा ठूलो वृद्धि भएको छ।

बजार विश्लेषकहरूका अनुसार निफ्टीलाई अब २४ हजार ५०० बिन्दुभन्दा माथि टिकाइराख्नु महत्वपूर्ण हुनेछ। उक्त स्तर कायम रहेमा निफ्टी २५ हजार २०० देखि २५ हजार ५०० बिन्दुसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यद्यपि लगानीकर्ताले बलिया वित्तीय अवस्था भएका कम्पनी छनोट गर्दै सावधानीपूर्वक लगानी गर्नुपर्ने सुझाव दिइएको छ।

बजार बढ्नुका पाँच प्रमुख कारण

विदेशी लगानीकर्ताको पुनरागमन

भारतीय सेयर बजारमा विदेशी संस्थागत लगानीकर्ताको पुनरागमनलाई पछिल्लो वृद्धिको सबैभन्दा महत्वपूर्ण कारण मानिएको छ। विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) ले यस अवधिमा भारतीय बजारमा करिब ४९ हजार ५०० करोड रुपैयाँको खुद सेयर खरिद गरेका छन्। यो करिब ५.२ अर्ब अमेरिकी डलर बराबर हो।

विदेशी लगानीकर्ताको खरिद बढेपछि बजारमा लगानीको प्रवाह बढेको छ र त्यसले सेयर मूल्य उकास्न सहयोग गरेको छ।

कच्चा तेलको मूल्यमा गिरावट

कच्चा तेलको मूल्य घट्नु पनि भारतीय अर्थतन्त्र र सेयर बजारका लागि सकारात्मक बनेको छ। दुई साताभन्दा कम अवधिमा कच्चा तेलको मूल्य करिब २० प्रतिशतले घटेको छ।

ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेर शुक्रबार करिब ९६.९९ डलरमा कारोबार भएको थियो।

भारत ठूलो परिमाणमा कच्चा तेल आयात गर्ने मुलुक भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा आयात खर्च र मुद्रास्फीतिको दबाब कम हुन सक्छ। यसले अर्थतन्त्र र कम्पनीहरूको लागतमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

अमेरिकी निर्वाचनको परिणाम

अमेरिकामा भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले ठूलो सफलता हासिल गरेको छ। बजारले यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूप्रति जनताको असन्तुष्टिको संकेतका रूपमा व्याख्या गरेको छ।

यसले अमेरिकी सरकारको व्यापार तथा विदेश नीतिमा थप नियन्त्रण र सन्तुलन कायम हुन सक्ने अपेक्षा लगानीकर्तामा जगाएको छ। अन्तर्राष्ट्रिय व्यापारमा अनिश्चितता घट्ने आशाले पनि बजारलाई सकारात्मक प्रभाव पारेको छ।

भारतीय रुपैयाँ बलियो हुनु

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ बलियो बन्नु पनि बजार वृद्धिको अर्को कारण बनेको छ। शुक्रबार भारतीय रुपैयाँ प्रतिडलर करिब ९३.९० को स्तरमा पुगेको थियो। यो अप्रिल २२ यताकै बलियो अवस्था हो।

भारतीय रुपैयाँको मूल्यमा सुधार आउँदा विदेशी लगानीकर्ताका लागि भारतीय बजार थप आकर्षक बन्न सक्छ। यसले विदेशी लगानीको प्रवाह बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकिङ तथा वित्तीय कम्पनीको सेयरमा उछाल

पछिल्लो बजार वृद्धिमा बैंकिङ तथा वित्तीय क्षेत्रका कम्पनीहरूको ठूलो योगदान रहेको छ। यो साता वित्तीय क्षेत्रका सेयरमा १०.४ प्रतिशत र निजी बैंकका सेयरमा ९.१ प्रतिशतसम्म वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाका सेयरमा आएको सुधारले समग्र बजारका प्रमुख सूचकांकलाई माथि लैजान महत्वपूर्ण भूमिका खेलेको छ।

एआई कम्पनीको सेयरमा गिरावट, भारतमा कम प्रभाव

अमेरिका तथा एसियाका विभिन्न सेयर बजारमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित कम्पनीका सेयरमा ठूलो गिरावट आएको छ। एआई प्रविधिमा कम्पनीहरूले अत्यधिक लगानी गरिरहेका छन् तर त्यसअनुसार आम्दानी कति हुन्छ भन्ने स्पष्ट नभएकाले लगानीकर्तामा चिन्ता बढेको छ। यसको प्रभाव दक्षिण कोरिया, जापान र ताइवानका सेयर बजारमा पनि देखिएको छ। शुक्रबार कोरिया र जापानका बजार करिब ६ प्रतिशतसम्म घट्दा ताइवानको बजार ४।५ प्रतिशतले ओरालो लागेको थियो।

तर भारतीय बजारमा एआई पूर्वाधारमा ठूलो लगानी गर्ने कम्पनीहरूको हिस्सा तुलनात्मक रूपमा कम भएकाले विश्वव्यापी बिक्रीको दबाब त्यहाँ कम परेको देखिएको छ। शुक्रबार भारतीय निफ्टी आईटी सूचकांकसमेत ०.४ प्रतिशतले बढेको थियो।

के बजारको उछाल कायम रहला?

लगातार सात दिनको तीव्र वृद्धिपछि केही लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गर्न सक्ने सम्भावना छ। त्यसैले आगामी दिनमा बजारमा केही उतारचढाव देखिन सक्छ।

भारतीय सेयर बजारको आगामी दिशा मुख्यतः विदेशी लगानीकर्ताको खरिदबिक्री, कच्चा तेलको मूल्य र कम्पनीहरूको त्रैमासिक वित्तीय नतिजामा निर्भर रहनेछ।

यसका अतिरिक्त अमेरिकी सरकारका नीति, विश्वव्यापी प्रविधि कम्पनीहरूको अवस्था र पश्चिम एसियाको राजनीतिक तथा सुरक्षा परिस्थितिले पनि बजारको दिशालाई प्रभावित पार्न सक्नेछ।

कच्चा तेलको मूल्यमा आएको गिरावट, भारतीय रुपैयाँको मजबुती र विदेशी लगानीकर्ताको पुनरागमनले बजारलाई तत्कालका लागि बलियो आधार दिएका छन्। कम्पनीहरूको आम्दानीमा सुधार र सेयरको मूल्यांकन उचित स्तरमा रहन सके भारतीय बजारको यो सकारात्मक गति थप केही समय कायम रहन सक्ने विश्लेषण गरिएको छ। (स्रोत- नवभारत टाइम्स)

 

नेपाली हिप–हपलाई राष्ट्रिय मञ्च दिँदै ‘हसल बाई नेपहप’

काठमाडौं । नेपाली हिप–हप संगीत र र्‍याप संस्कृतिलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले आयोजना गर्न लागेको उक्त कार्यक्रमको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर)का रूपमा TVS NTORQ जोडिएको छ। ‘TVS NTORQ Presents Hustle by NepHop’ नाममा सञ्चालन हुने कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय र्‍याप रियालिटी शोको अवधारणामा आधारित यस कार्यक्रमले नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति र सामाजिक परिवेशलाई प्राथमिकता दिनेछ। यसमार्फत नेपालको आफ्नै हिप–हप पहिचानलाई स्थापित गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा र्‍याप प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई समेटिनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई आफ्नो कला र सिर्जनशीलता राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ।

नेपाली युवापुस्तामाझ लोकप्रिय बन्दै गएको हिप–हप संस्कृतिलाई थप विस्तार गर्ने उद्देश्यले TVS NTORQ ले सहकार्य गरेको हो। युवाको ऊर्जा, आत्मविश्वास र सिर्जनशीलतासँग जोडिएको ब्रान्ड भएकाले कार्यक्रमसँगको साझेदारीले नेपाली हिप–हप क्षेत्रलाई प्रोत्साहन पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल नारासहित अघि बढ्ने कार्यक्रमले नेपाली र्‍याप प्रतिभालाई ठूलो मञ्च प्रदान गर्नुका साथै संगीत क्षेत्रमा नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रम प्रसारण हुने मिति र अन्य विस्तृत विवरण भने चाँडै सार्वजनिक गरिने जनाइएको छ।

भारतमा पहिलो पटक विश्व पहिरो सम्मेलन हुँदै, ७५ देशका वैज्ञानिक सहभागी हुने

काठमाडौं। भारतमा पहिलो पटक विश्वकै ठूलो अन्तर्राष्ट्रिय पहिरो सम्मेलन आयोजना हुने भएको छ। भारतको अमृता विश्व विद्यापीठम्ले अन्तर्राष्ट्रिय पहिरो संघसँगको सहकार्यमा आगामी नोभेम्बर २३ देखि २७ सम्म दिल्ली एनसीआरको फरिदाबादमा सातौं विश्व पहिरो मञ्च (डब्लूएलएफ–७) आयोजना गर्न लागेको हो।

‘सुरक्षित र उत्थानशील समुदायका लागि पहिरो विज्ञान र अभ्यास’ मुख्य विषय रहेको सम्मेलनमा ७५ देशका १ हजार ९०० भन्दा बढी लेखक तथा वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा ७६० संस्थासँग सम्बन्धित ७०० भन्दा बढी वैज्ञानिक शोधपत्र प्रस्तुत हुनेछन्। एक हजार ३०० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ।

यसअघि सन् २००८ मा जापानको टोकियोबाट सुरु भएको यो सम्मेलन इटालीको रोम, चीनको बेइजिङ, स्लोभेनियाको लुब्लियाना, जापानको क्योटो र इटालीको फ्लोरेन्समा आयोजना भइसकेको छ।

पहिरोको पूर्वसूचनामा एआईको प्रयोग

सम्मेलनमा पहिरोको जोखिम पहिचान, अनुगमन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने नयाँ प्रविधिबारे विशेष छलफल हुनेछ। नोभेम्बर २२ मा हुने पूर्वसम्मेलन कार्यशालामा कृत्रिम बुद्धिमत्ता (एआई), भूउपग्रहबाट पहिरोको निगरानी, डिजिटल प्रविधि र भौगोलिक मोडलिङजस्ता विषयमा छलफल गरिनेछ।

मुख्य सम्मेलनमा पहिरोको पूर्वसूचना प्रणाली विकास, पहिरोसम्बन्धी तथ्यांक संकलन तथा अभिलेखीकरण र पहिरोले समाजमा पार्ने प्रभावबारे प्राविधिक सत्र सञ्चालन हुनेछन्। साथै, विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग पहिरो नियन्त्रणका प्रयासलाई जोड्ने विषय पनि छलफलमा समेटिनेछ।

नेपालका लागि पनि महत्वपूर्ण

मनसुनका बेला हरेक वर्ष ठूलो जनधनको क्षति बेहोर्दै आएको नेपालका लागि यो सम्मेलन विशेष उपयोगी हुन सक्नेछ। पहिरोको जोखिम समयमै पहिचान गर्ने र सम्भावित क्षति कम गर्ने प्रविधिबारे सम्मेलनमा महत्वपूर्ण अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ।

आयोजक अमृता विश्वविद्यालयले सन् २००६ देखि पहिरोसम्बन्धी अनुसन्धान गर्दै आएको छ। विश्वविद्यालयले भारतको केरलास्थित मुन्नारमा वायरलेस सेन्सर प्रणाली प्रयोग गरेको छ भने सिक्किमका ७० भन्दा बढी स्थानमा ३०० भन्दा बढी सेन्सर जडान गरी एआईमा आधारित पहिरो अनुगमन तथा पूर्वसूचना प्रणाली सञ्चालन गरेको जनाएको छ।

विश्वविद्यालयको अनुसन्धानअनुसार इन्टरनेटमा आधारित सेन्सर र एआई प्रविधिलाई एकीकृत गर्दा पहिरो जान सक्ने अवस्थाबारे २४ घण्टाअघिसम्म पूर्वसूचना दिन सकिने सम्भावना छ।

विश्वविद्यालयकी प्राध्यापक तथा उपकुलपति डा. मनीषा वी. रमेशले पहिरोसम्बन्धी अनुसन्धानको अन्तिम उद्देश्य मानवीय जीवन, घर र जीविकोपार्जन जोगाउनु हुनुपर्ने बताउनुभएको छ। विश्वविद्यालयको पहिरोसम्बन्धी कार्यक्रम सन् २०१७ देखि २०२६ सम्म लगातार तीन कार्यकालका लागि पहिरो प्रकोप न्यूनीकरणसम्बन्धी विश्व उत्कृष्टता केन्द्रका रूपमा मान्यता प्राप्त छ।

नेपाली सहभागीलाई छुट र विद्यार्थीलाई अनुदान

नेपाल सार्क सदस्य राष्ट्र भएकाले नेपाली सहभागीले सम्मेलनको प्रारम्भिक दर्ता शुल्कमा छुट पाउने आयोजकले जनाएको छ। स्वीकृत शोधपत्रका लेखक विद्यार्थीका लागि २०० वटा अनुदानको व्यवस्था गरिएको छ। पाँच वा सोभन्दा बढी शोधपत्र पेस गर्ने संस्थालाई १५ प्रतिशत समूह छुट पनि दिइनेछ।

सम्मेलनमा सहभागी हुन, शोधपत्रको सारांश पठाउन तथा कार्यशालामा नाम दर्ता गर्न www.wlf7.org मार्फत अनलाइन आवेदन दिन सकिनेछ।

सम्मेलनलाई भारतीय भूवैज्ञानिक सर्वेक्षण, भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो), राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेका छन्।

थप जानकारीका लागि आयोजकलाई info@wlf7.org मा सम्पर्क गर्न सकिनेछ।

सडकमा गुडाउन र आकाशमा उडाउन मिल्ने ‘फ्लाइङ कार’

काठमाडौं। सडकमा गुड्ने गाडीलाई आवश्यक पर्दा विमानमा परिणत गरेर आकाशमा उडाउन पाइयो भने कस्तो होला रु विज्ञानकथामा मात्र सीमित जस्तो लाग्ने यस्तो कल्पना अब वास्तविकतामा बदलिने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) का बासिन्दाले छिट्टै सडकमा गुडाउन र आवश्यक पर्दा आकाशमा उडाउन मिल्ने व्यक्तिगत ‘फ्लाइङ कार’ खरिद गर्न पाउने सम्भावना बढेको छ।

चिनियाँ कम्पनी एरिजले विकास गरिरहेको यस्तो उड्ने गाडी बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीको यो प्रविधि सफल भएमा व्यक्तिगत यातायातको स्वरूपमै परिवर्तन आउन सक्ने अपेक्षा गरिएको छ।

कम्पनीको ‘ल्याण्ड एयरक्राफ्ट क्यारियर’ नाम दिइएको यो गाडी सामान्य कार र विमानको संयोजन हो। यसमा छ पाङ्ग्रे सडकमा गुड्ने विद्युतीय गाडी र त्यसको पछिल्लो भागमा राखिने दुई जना सवार हुन मिल्ने छुट्टै विद्युतीय विमान हुन्छ।

व्यावसायिक प्रयोजनका लागि यात्रु ओसारपसार गर्ने एयर ट्याक्सीभन्दा यो फरक छ। जोबी एभिएसनजस्ता कम्पनीले व्यावसायिक हवाई यातायातका लागि एयर ट्याक्सी विकास गरिरहेका बेला एरिजले भने व्यक्तिगत प्रयोजनका लागि उपभोक्तालाई नै विमानसहितको गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ।

कम्पनीका सहसंस्थापक तथा उपाध्यक्ष र एक्सपेङ डिजाइनका महाप्रबन्धक तान वाङले दुबईमा आयोजित एक कार्यक्रममा यस प्रविधिबारे जानकारी दिँदै सडकमा गुड्ने गाडी र उड्ने विमानलाई एकैसाथ प्रयोग गर्न सकिने बताए।

एउटा बटन थिचेपछि गाडीबाट विमान अलग

यो फ्लाइङ कारको सबैभन्दा आकर्षक विशेषता भनेको गाडी र विमानलाई एउटै बटनको सहायताले छुट्याउन र पुनः जोड्न सकिने प्रविधि हो। यसमा दुईवटा अलग मोड्युल छन्। एउटा छ पाङ्ग्रे सडकमा गुड्ने गाडी हो भने अर्को त्यसको पछिल्लो भागभित्र राखिएको दुई सिट क्षमताको विद्युतीय विमान हो। उक्त विमान ठाडै उड्न र अवतरण गर्न सक्ने प्रविधिमा आधारित छ।

गाडी चलाएर तोकिएको उडान क्षेत्रमा पुगेपछि चालकले एउटा बटन थिचेर विमानलाई गाडीबाट अलग गर्न सक्छन्। विमानलाई छुट्याउने र पुनः जोड्ने प्रक्रियालाई स्वचालित बनाइएको कम्पनीको दाबी छ।

वाङका अनुसार यस प्रणालीमा कम्तीमा सातवटा प्रविधि प्रणाली र एक हजारभन्दा बढी पार्टपुर्जा प्रयोग गरिएको छ। ती सबैको समन्वयबाट एउटा बटन थिचेकै भरमा विमान गाडीबाट अलग हुने र पुनः जोडिने व्यवस्था गरिएको हो।

विमान छुट्याउँदा गाडीको पछिल्लो भाग खुल्छ र विमान बाहिर निस्कन्छ। विशेष प्रकारको एयर सस्पेन्सन प्रणालीले विमानलाई विभिन्न किसिमका जमिन र सतहअनुसार मिलाउन सहयोग गर्छ।

उडान सकेपछि विमानलाई पुनः गाडीमा राख्न पनि स्वचालित प्रणाली प्रयोग हुन्छ। क्यामेराले विमानको अवस्थिति पहिचान गर्छन् र गाडीलाई त्यसको नजिक पुर्‍याउँछन्। त्यसपछि सस्पेन्सन प्रणालीले आवश्यक उचाइ मिलाएर विमानलाई गाडीभित्र राख्ने प्रक्रिया पूरा गर्छ।

वाङका अनुसार विमानलाई पुनः गाडीमा जोड्ने प्रक्रियामा करिब चारदेखि पाँच मिनेट लाग्छ।

घरकै पार्किङमा राख्न सकिने

सामान्य विमान प्रयोग गर्न चाहनेले विमानस्थल वा ह्याङ्गरमा पार्किङको व्यवस्था गर्नुपर्ने हुन्छ। तर एरिजको यो प्रविधिमा विमानलाई नै सडकमा गुड्ने गाडीभित्र राख्न सकिने भएकाले छुट्टै ह्याङ्गर आवश्यक नपर्ने कम्पनीको भनाइ छ।

यसलाई घरको पार्किङस्थलमा राख्न सकिन्छ। यद्यपि सम्बन्धित स्थानका पार्किङ तथा सवारीसम्बन्धी मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ।

यो गाडी व्यक्तिगत उपभोक्तालाई लक्षित गरेर विकास गरिएको हो। कम्पनीका अनुसार अहिलेसम्म विश्वभरबाट करिब सात हजार पूर्वआदेश (प्रि-अर्डर) प्राप्त भएका छन्। तीमध्ये करिब ६ सय पूर्वआदेश खाडी मुलुक (जीसीसी) क्षेत्रबाट आएका छन्।

लाइसेन्स लिएर मात्र उडाउन पाइने

तर यस्तो गाडी किनेपछि आफूखुसी जुनसुकै ठाउँबाट उडाउन भने पाइने छैन।

यसका लागि विमानले आवश्यक हवाई सुरक्षा तथा सञ्चालनसम्बन्धी स्वीकृति प्राप्त गर्नुपर्नेछ। त्यसैगरी विमान उडाउन चाहने व्यक्तिको योग्यता, लाइसेन्स र उडान गर्न पाइने क्षेत्रसम्बन्धी नियम पनि पूरा गर्नुपर्ने हुन्छ।

वाङका अनुसार कम्पनीले सबैभन्दा पहिले चीनको नागरिक उड्डयन प्रशासन (सीएएसी) बाट विमानको ‘टाइप सर्टिफिकेसन’ अर्थात् उडानका लागि आवश्यक प्राविधिक तथा सुरक्षा प्रमाणीकरण लिनुपर्नेछ।

त्यसपछि यूएईको जनरल सिभिल एभिएसन अथोरिटी (जीसीएए) बाट उक्त प्रमाणीकरणलाई मान्यता दिलाउने प्रक्रिया अघि बढाइनेछ। यसबाट यूएईमा कानुनी रूपमा विमान सञ्चालन गर्ने बाटो खुल्ने कम्पनीको अपेक्षा छ।

जहाँ पायो त्यहीँबाट उडाउन पाइने छैन

फ्लाइङ कार भए पनि यसलाई सडकको छेउ, खुला मैदान वा घरको छतबाट आफूखुसी उडाउन पाइने छैन। उडानका लागि सरकारले तोकेका क्षेत्र, हवाई मार्ग र सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ।

यसका लागि एरिजले यूएईको रस अल खैमाहसँग सम्झौता गरेको छ। सम्झौताअनुसार यूएईका हवाई उड्डयन अधिकारीहरूको निगरानीमा नयाँ प्रविधिको परीक्षण गर्न नियामकीय परीक्षण क्षेत्र (रेगुलेटरी स्यान्डबक्स) स्थापना गरिनेछ।

कम्पनीले यसका लागि छुट्टै पूर्वाधार निर्माण गर्नुभन्दा अन्य विद्युतीय विमान सञ्चालकले विकास गरिरहेका संरचना पनि प्रयोग गर्न सकिने सम्भावना औँल्याएको छ।

जोबीको एयर ट्याक्सी सञ्चालनका लागि स्काईपोर्टले निर्माण गरिरहेका भर्टिपोर्ट (विद्युतीय विमान उडान तथा अवतरण केन्द्र) र अहिले सञ्चालनमा रहेका हेलिकप्टर अवतरणस्थल प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

यसरी सडकमा गुड्ने र आकाशमा उड्ने दुवै सुविधा एउटै सवारीमा उपलब्ध गराउने प्रविधिले व्यक्तिगत यातायातमा नयाँ सम्भावना खोल्ने देखिएको छ। तर यसको व्यावसायिक उपलब्धता, मूल्य, सुरक्षा प्रमाणीकरण र उडानसम्बन्धी नियमले नै यो प्रविधि सर्वसाधारणको पहुँचमा पुग्ने समय निर्धारण गर्नेछ। (खालिज टाइम्सबाट)

 

आधुनिक दियोको चमकमा हराउँदै ‘पालाचा’

भक्तपुर । तिहारको उज्यालोसँग जोडिएको माटोको परम्परागत दियो ‘पालाचा’ आधुनिक बिजुली र प्लास्टिकका दियोको चमकमा ओझेल पर्दै गएको छ। कुनै समय तिहारमा घरघरमा प्रयोग हुने पालाचाको माग घट्दै जाँदा भक्तपुरका कुमाले समुदायको परम्परागत पेसासमेत संकटमा पर्न थालेको छ।

नेवारी भाषामा माटोबाट बनाइने दियोलाई पालाचा भनिन्छ। भक्तपुरका कुमालेहरू दसैँमा दही राख्ने माटाका भाँडा र तिहारमा पालाचा बनाउने गर्छन्। तर, आधुनिक दियो र बत्तीको प्रयोग बढेसँगै परम्परागत दियोको बजार खुम्चिँदै गएको कुमालेहरू बताउँछन्।

सूर्यमढीका कृष्ण प्रजापतिका अनुसार २०७२ सालको भूकम्पपछि माटोको काम गर्न झन् कठिन भएको छ। खुला ठाउँको अभाव, दियो सुकाउने र पोल्ने समस्यासँगै माटोसमेत किन्नुपर्ने अवस्था छ। पहिले सहजै पाइने माटो अहिले महँगो र दुर्लभ हुँदै गएको उनको भनाइ छ।

पहिले एक रुपैयाँमा पाँचवटासम्म काँचो दियो पाइने गरेकोमा अहिले एउटा पालाचाकै करिब दुई रुपैयाँ पर्छ। मूल्यका कारण पनि उपभोक्ता आधुनिक दियोतर्फ आकर्षित भएको कुमालेहरूको अनुभव छ।

रामेश्वर प्रजापति पनि पालाचाको व्यापार पहिलेको तुलनामा निकै घटेको बताउँछन्। भक्तपुरमै बनेका दियो स्थानीयले कम किन्न थालेपछि कुमालेहरू अन्य जिल्लाको बजारमा निर्भर हुनुपरेको छ। काठमाडौं, ललितपुर, बनेपा र उपत्यकाबाहिरका व्यापारी भने पालाचा किन्न आउने गरेका छन्।

माटोका भाँडा बनाउने काममा बाल्यकालदेखि लागेका कृष्णसुन्दर प्रजापति अहिले आफ्ना छोराछोरीलाई यही पेसामा लाग्न नदिने बताउँछन्। यसले परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण हुने सम्भावनासमेत कमजोर बन्दै गएको देखाउँछ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति परम्परागत पेसालाई आधुनिक प्रविधि र सिर्जनशीलतासँग जोडेर अघि बढाउनुपर्ने बताउँछन्। युवालाई सेरामिक्सबाट उत्पादित माटाका भाँडाको प्रयोग र उत्पादनमा आकर्षित गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ। प्लास्टिकका सामानले माटाका उत्पादन विस्थापित गर्दा परम्परागत सीपसँगै स्थानीय रोजगारी पनि गुम्ने खतरा रहेको उनले बताए।

नेपाल सेरामिक्स आर्टिस्ट सोसाइटीका अध्यक्ष रमेश प्रधान पनि परम्परागत सेरामिक्स कलालाई आधुनिक डिजाइन, कला र संस्कृतिसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिन्छन्। नयाँ पुस्तालाई सीप सिकाउँदै सिर्जनशील उत्पादनमा प्रोत्साहित गर्नु आवश्यक रहेको उनको भनाइ छ।

भक्तपुरमा माटाका भाँडा बनाउने कुमाले समुदायको बाक्लो बसोबास सूर्यमढी र पोटरी स्क्वायर क्षेत्रमा छ। पुस्तौँदेखि चल्दै आएको यो पेसा अहिले बजार, कच्चा पदार्थ र उत्पादनस्थलको अभावसँग जुधिरहेको छ।

तिहारमा बालिने एउटा पालाचा केवल माटोको दियो मात्र होइन, भक्तपुरको पहिचान, संस्कृति र पुस्तौँदेखिको सीप पनि हो। यसको प्रयोग घट्दै जानु एउटा परम्परा हराउनु मात्र होइन, स्थानीय कला र रोजगारीको आधार कमजोर हुनु पनि हो। आधुनिकताको उज्यालोमा आफ्नै मौलिक परम्पराको दियो निभ्न नदिन संरक्षण र प्रवर्द्धनको खाँचो देखिएको छ।

 

धनतेरसअघि दुबईमा सुन किन्नेको भीड, मूल्य घट्दा ग्राहकले अग्रिम बुकिङ गर्न थाले

दुबई। धनतेरस र दीपावली नजिकिँदै गर्दा संयुक्त अरब इमिरेट्स (यूएई) मा सुन किन्ने ग्राहकको चहलपहल बढेको छ। सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहेकाले उपभोक्ताले पर्वका लागि सुन खरिद गर्नुअघि नै मूल्य सुरक्षित गर्ने अर्थात् अग्रिम मूल्य निर्धारण गर्ने सुविधा लिन थालेका छन्।

आगामी शुक्रबारमा परेको धनतेरसलाई लक्षित गर्दै दुबईका सुनचाँदी व्यवसायीले ग्राहकको यस्तो प्रवृत्ति बढेको बताएका छन्।

बुधबार बिहान यूएईको बजारमा २४ क्यारेट सुनको मूल्य प्रतिग्राम ४८४ दिराम र २२ क्यारेटको मूल्य ४४८.२५ दिराम थियो। सप्ताहान्तमा २४ क्यारेट सुनको मूल्य घटेर प्रतिग्राम ४६७ दिरामसम्म पुगेपछि ग्राहकले विभिन्न सुन पसलमा उपलब्ध मूल्य सुरक्षित गर्ने योजनामा चासो देखाएका हुन्।

बाफ्ले ज्वेलर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत चिराग भोराका अनुसार पछिल्लो समय ग्राहक सुन खरिद गर्ने उपयुक्त समयबारे बढी सचेत हुन थालेका छन्। मूल्य सुरक्षित गर्ने सुविधाले बजारमा अचानक मूल्य बढे पनि पहिले तय गरेको मूल्यमा सुन किन्न सकिने भएकाले ग्राहकलाई खरिद योजना बनाउन सहज भएको उनको भनाइ छ।

विशेषगरी विवाहका लागि गरगहना खरिद गर्ने र पर्वका अवसरमा ठूलो रकमको सुन किन्ने ग्राहक यस योजनाप्रति बढी आकर्षित देखिएका छन्।

त्यस्तै, कान्ज ज्वेल्सका प्रबन्ध निर्देशक अनिल धनकले पनि सुनको मूल्य सुरक्षित गर्ने योजना ग्राहकका लागि आकर्षक बन्दै गएको बताए। उनका अनुसार विशेषगरी भारतीय मूलका प्रवासी समुदायमा धनतेरसका दिन सुन खरिद गर्ने परम्परा रहेकाले यस्तो योजनाप्रति उनीहरूको रुचि बढी देखिएको छ।

सुन किन्दा छुटदेखि उपहारसम्म

धनतेरस र दीपावलीको अवसर पारेर दुबई तथा यूएईका विभिन्न सुन पसलले ग्राहक आकर्षित गर्न विशेष छुट, उपहार र नगद भौचरका योजना सार्वजनिक गरेका छन्।

हीरा तथा बहुमूल्य पत्थर जडित गरगहनामा निःशुल्क नगद भौचर, छनोट गरिएका सुन तथा हिराका गरगहनामा छुट, खरिदमा उपहार र ज्याला (मेकिङ चार्ज) मा विशेष सहुलियतजस्ता अफर ल्याइएको छ।

दुबईको अर्थतन्त्र तथा पर्यटन विभागअन्तर्गतको दुबई फेस्टिभल्स एन्ड रिटेल इस्ट्याब्लिसमेन्टले सञ्चालन गरेको ‘दिवाली गोल्ड रश’ अभियान नोभेम्बर १२ सम्म चल्नेछ। यसमा दुबई र यूएईका १७० भन्दा बढी सुन पसल सहभागी छन्।

अभियानअन्तर्गत सहभागी पसलबाट कम्तीमा १ हजार ५०० दिरामको गरगहना खरिद गर्ने ग्राहकले चिठ्ठामा सहभागी हुने अवसर पाउनेछन्। पाँच जना विजेताले जनही १०० ग्राम सुन प्राप्त गर्नेछन् भने एक जनाले मुख्य पुरस्कारस्वरूप ५०० ग्राम सुन जित्नेछन्। यसरी कुल एक किलोग्राम सुन ग्राहकलाई पुरस्कारस्वरूप वितरण गरिनेछ।

अभियानमा अरक्कल गोल्ड एन्ड डायमन्ड्स, कान्ज ज्वेल्स, बाफ्ले ज्वेलरी, जवहरा, ला मारक्विस डायमन्ड्स एन्ड वाचेज, लाइफस्टाइल फाइन ज्वेलरी, ताज्वी गोल्ड एन्ड डायमन्ड्स, थंगल्स, मीना ज्वेलर्स, कुन्दन कला ज्वेलरी र मालाबार गोल्ड एन्ड डायमन्ड्सलगायतका ब्रान्ड सहभागी छन्।

२५ प्रतिशत रकम बुझाएर सुनको मूल्य सुरक्षित

मालाबार गोल्ड एन्ड डायमन्ड्सका अन्तर्राष्ट्रिय सञ्चालन विभागका प्रबन्ध निर्देशक शमलाल अहमदका अनुसार सुनको मूल्य सुरक्षित गर्ने र अग्रिम भुक्तानीका योजना ग्राहकबीच लोकप्रिय बन्दै गएका छन्।

उनका अनुसार कम्पनीले खरिद मूल्यको २५ प्रतिशत रकम अग्रिम बुझाएर नोभेम्बर ८ सम्म हाल कायम सुनको मूल्य सुरक्षित गर्न सकिने योजना ल्याएको छ। यसबाट ग्राहकले अहिलेको मूल्यमा सुन खरिद गर्ने निर्णय सुरक्षित गर्न सक्नेछन्।

उनले यस्तो योजनामा ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको र तुलनात्मक रूपमा कम मूल्यको फाइदा उठाउँदै धनतेरसका लागि सुनको अग्रिम बुकिङ गर्ने क्रम बढेको बताए।

सुनको मूल्य मात्रै हेरेर खरिद गर्दैनन् ग्राहक

व्यवसायीका अनुसार अहिले ग्राहकले सुनको प्रतिग्राम मूल्यलाई मात्र आधार बनाएर खरिद गर्ने गरेका छैनन्। गरगहनाको डिजाइन, बनावट, शुद्धता, ज्याला र पसलले दिने समग्र सेवासमेत उनीहरूको प्राथमिकतामा पर्न थालेको छ।

बाफ्ले ज्वेलर्सका भोराका अनुसार मूल्य निर्धारणमा पारदर्शिता र ग्राहकले पाउने सेवाले सुन बजारप्रतिको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ। कान्ज ज्वेल्सका धनकले पनि सुन खरिद गर्दा त्यसको शुद्धता, कारीगरी र बनाउने ज्यालासहितको समग्र मूल्यलाई ध्यान दिनुपर्ने बताए।

दुवै व्यवसायीले धनतेरस नजिकिँदै जाँदा सुनको माग अझ बढ्ने अपेक्षा गरेका छन्। परम्परागत रूपमा सुन किन्ने ग्राहकसँगै युवा पुस्तासमेत गरगहना खरिदमा आकर्षित हुन थालेको उनीहरूको भनाइ छ।

दुबईको सुन बजारमा कडा नियमन, शुद्धताको सुनिश्चितता र मूल्य निर्धारणमा पारदर्शिता रहेकाले उपभोक्ताले खरिद गर्दा विश्वास गर्न सक्ने वातावरण बनेको व्यवसायीहरूको दाबी छ। (खालिज टाइम्सबाट)

 

प्रहरी नेतृत्वमा फेरबदल, कार्कीका ठाउँमा केसी नयाँ आईजीपी

काठमाडौं। सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र उनको ठाउँमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन्। केसी नेपाल प्रहरीको ३४ औँ आईजीपी बनेका छन्। उनी यसअघि अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।

पछिल्लो समय प्रहरी परिचालन, कमान्ड कन्ट्रोल र राजनीतिक नेतृत्वबाट आएका निर्देशन कार्यान्वयनको विषयलाई लिएर कार्कीको कार्यशैलीमाथि प्रश्न उठ्दै आएको थियो। यसबीच प्रहरी संगठनभित्र पनि असन्तुष्टि बढेको थियो। कार्कीलाई सिधै बर्खास्त नगरी प्रधानमन्त्री कार्यालय मातहत सार्ने निर्णय गरिएको छ।

पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी पक्राउ गरिएका घटनाले कार्कीलाई थप विवादमा तानेको थियो। प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनमा प्रहरी परिचालन भएको र त्यसमा कार्कीको भूमिका रहेको विवरण सार्वजनिक भएका थिए। केही गिरफ्तारीलाई अदालतले गैरकानुनी ठहर गरेपछि प्रहरी नेतृत्वमाथि थप प्रश्न उठेको थियो।

निर्वाचन प्रहरीका लागि पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप पनि कार्कीमाथि लागेको थियो। प्रहरीको कमान्ड प्रभावकारी हुन नसकेको र संगठनमा राजनीतिक हस्तक्षेप बढेको भन्दै उनको आलोचना हुँदै आएको थियो।

तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गत वर्ष कात्तिक २४ गते कार्कीलाई आईजीपी नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए। २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनले काठमाडौं उपत्यकाको प्रहरी कमान्ड सम्हालेका थिए।

चार ग्यास उद्योग एक हुँदै, अभाव र झन्झट हट्ला?

काठमाडौं । नेपालका चारवटा एलपी ग्यास उद्योग एकीकरण भएर एउटै कम्पनी र एउटै ब्रान्डमा सञ्चालन हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेपाल ग्यास, एचपी ग्यास, नेपाल ग्यास गण्डकी र राजधानी ग्यास एकीकृत हुन लागेका हुन्। नेपाल आयल निगमले पनि मर्जरसम्बन्धी प्रस्तावमाथिको निर्णय प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

एकीकरणपछि चारवटै उद्योगको दैनिक ग्यास भर्ने क्षमता हालको करिब ६ हजार सिलिन्डरबाट बढेर ९ हजार पुग्नेछ। संयुक्त कम्पनीको चुक्ता पुँजी करिब ९ करोड रुपैयाँ हुनेछ। मर्जरपछि कम्पनीको नाम र ब्रान्डसमेत एउटै बनाउने तयारी छ।

नेपाल ग्यास र एचपी ग्यास तथा नेपाल ग्यास गण्डकी र राजधानी ग्यासबीच छुट्टाछुट्टै मर्जर प्रक्रिया अघि बढाइएको हो। नेपाल ग्यास गण्डकी नेपाल ग्यासकै सहायक कम्पनी भएकाले अन्ततः चारवटै उद्योग एउटै कम्पनीको छातामुनि आउनेछन्। कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रक्रिया पूरा गरी प्रस्ताव निगममा पेस गरिएको छ।

उपभोक्तालाई के फाइदा?

ग्यास उद्योग एकीकरणको सबैभन्दा प्रत्यक्ष लाभ सिलिन्डर साटासाटमा देखिन सक्नेछ। अहिले फरक–फरक ब्रान्डका सिलिन्डर प्रयोगमा रहेकाले एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीका डिलरले सहजै साट्न नमान्दा उपभोक्ताले झन्झट बेहोर्नुपरेको छ। मर्जरपछि एउटै ब्रान्ड र वितरण सञ्जालमार्फत कारोबार हुने भएकाले यस्तो समस्या कम हुने अपेक्षा गरिएको छ।

निगमका अनुसार पुराना ब्रान्डका सिलिन्डर तत्काल बजारबाट हटाइने छैनन्। ती क्रमशः फेजआउट गर्दै बजारमा एउटै ब्रान्डका सिलिन्डर उपलब्ध गराउने योजना छ।

एकीकरणपछि उपत्यकामा कम्पनीको बजार हिस्सा २५ प्रतिशतभन्दा माथि पुग्नेछ। साथै दैनिक तीन हजार सिलिन्डर थप भर्न सकिने भएकाले उत्पादन तथा वितरण व्यवस्थापन सहज बन्ने अपेक्षा छ। भण्डारण, ढुवानी, जनशक्ति र अन्य स्रोतको साझा उपयोग गर्न सके सञ्चालन खर्चसमेत घट्न सक्छ।

मर्जरमा कर र सम्पत्ति मूल्यांकनको चुनौती

नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। बजारको आकारको तुलनामा उद्योगको संख्या बढी भएको भन्दै निगमले मर्जरलाई प्रोत्साहन गरिरहेको छ। निगमले वार्षिक नीति तथा कार्यक्रममा समेत उद्योगको संख्या घटाउने विषय समेटेको छ।

ग्यास उद्योगीहरूले पनि तीन वर्षअघि नै एकीकरणको आवश्यकता उठाएका थिए। तर करसम्बन्धी व्यवस्था र सम्पत्ति मूल्यांकन मर्जरका मुख्य चुनौती बनेका छन्।

विशेषगरी आयकर ऐन, २०५८ को दफा ५७ का कारण स्वामित्व परिवर्तन हुँदा सिर्जना हुन सक्ने अतिरिक्त कर भार हटाउनुपर्ने उद्योगीहरूको माग छ। बैंक तथा वित्तीय संस्थाको मर्जरमा उपलब्ध गराइएजस्तै सहुलियतपूर्ण कानुनी र कर व्यवस्था ग्यास उद्योगमा पनि लागू हुनुपर्ने उनीहरूको भनाइ छ। मर्जरमा सहभागी उद्योगको सम्पत्ति हालको बजार मूल्यका आधारमा मूल्यांकन गर्नुपर्ने मागसमेत छ।

मर्जरले मात्रै ग्यास अभाव हटाउँदैन

उद्योग एकीकरणले आपूर्ति व्यवस्थापनमा सुधार ल्याउन सक्ने भए पनि यसले मात्रै बजारमा ग्यास अभाव हट्ने निश्चित छैन। नेपालको ग्यास आपूर्ति मुख्यतः भारतबाट हुने आयातमा निर्भर छ। त्यसैले पर्याप्त आयात, भण्डारण, ढुवानी र प्रभावकारी वितरण प्रणाली पनि उत्तिकै आवश्यक छन्।

अर्कोतर्फ, एउटै कम्पनीको बजार हिस्सा ठूलो हुँदा प्रतिस्पर्धा कमजोर हुने जोखिम पनि रहन्छ। सञ्चालन खर्च घटेको अवस्थामा त्यसको लाभ उपभोक्ताले सेवा र वितरणको गुणस्तरमा पाउनुपर्छ। मूल्य निर्धारण निगमको नियमनमा हुने भएकाले मर्जरपछि ग्यासको मूल्य तत्काल घट्छ भन्ने निश्चित छैन।

अन्ततः चार उद्योगको एकीकरण नेपालको एलपी ग्यास बजार व्यवस्थित बनाउने अवसर हो। यसको सफलता कम्पनीको आकार र बजार हिस्साले होइन, उपभोक्ताले आवश्यक परेको समयमा सहजै ग्यास पाउने अवस्था बने–नबनेको आधारमा मापन हुनुपर्छ।

 

असी वर्षे उमेरमा पनि सुपारीखेती स्याहार्छन् गोविन्दबहादुर

सुनसरी ।  उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।

लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा बगान प्रत्येक बोटको फेदमा रङ्ग्याइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ । पुख्र्यौली रूपमा खेतीकिसानी गर्दै आएका कार्कीले १५ वर्षअघि रहरले सुरु गरेका सुपारीखेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।

पुख्र्यौली घर तेह्रथुम भए पनि उनको परिवार बसाइँ सरेर सुनसरी आएको थियो । उनले धरानमा प्रवेशिकासम्मको अध्ययन गरेका थिए । “लाहुरे बन्ने सपना पनि आएन, विदेश जाने सोच पनि भएन । खेतीकिसानी गरियो, धान, मकै लगाइयो”, कार्कीले भने ।

झापाको बिर्तामोड जाँदा त्यहाँको सुपारीखेती देखेपछि आफूलाई पनि रहर जागेको उनले बताए । “त्यहाँ काकाको सुपारी खेती देखें । अन्य किसानले गरेको खेती देखेर प्रेरित भए”, उनले भने । आजभन्दा १५ वर्षअघि १०० वटा सुपारीका बिरुवा ल्याएर रोपेँ । चार, पाँच वर्षपछि फल्न थाल्यो । त्यसपछि त्यही फलबाट आफैँले बिरुवा उत्पादन गर्दै गएँ र खेती विस्तार गरे। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको बगानमा झन्डै एक हजार २०० सुपारीका बोट छन् । सुरुमा रोपिएका बिरुवाले हरेक वर्ष फल दिँदै आएको छ भने बाँकी बिरुवा हुर्किरहेका छन् । सुरुमा रोपिएका बिरुवाबाट हाल उहाँले वार्षिक रु एक लाखभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै आएका छन् ।

“यहाँका सबै बिरुवाले एक, दुई वर्षभित्र फल दिन थाल्छ । रहर लागेर सुरु गरेको व्यवसाय राम्रो भएको छ । खेतीमा खुब जाँगर चल्छ, मलाई साह्रै खुसी लागेको छ”, उनले भने। सुनसरीमा पनि सुपारी खेती हुन्छ भन्ने धेरैलाई जानकारी छैन । पानी नजम्ने जमिन भए जुनसुकै ठाउँमा पनि सुपारीखेती गर्न सकिने उनी बताउँछन् । सुपारी उत्पादन भएपछि बजारको समस्या नहुने उनको भनाइ छ ।

हरेक वर्ष व्यापारी आफैं बगानमै आएर बारी ठेक्कामा लिन्छन् र सुपारी पाकेपछि आफैँ आएर टिपेर लैजान्छन् । कहिलेकाहीँ साना व्यापारी खुद्रा किन्न आउँदा प्रतिकेजी रु ७० का दरले थोरैथोरै बिक्री गर्छन् । “प्रायः व्यापारी दमकबाट आउँछन् र सुपारी लैजान्छन्”, उनले भने।

सुपारीखेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार गर्न नपर्ने उनको अनुभव छ । वर्षमा एकपटक मल लगाउनुपर्छ । सुपारीको बोटको फेदमा चुन लगाउँदा कमिला र किराको प्रकोपबाट जोगाउन सकिने उनी बताउँछन्। चुन र मललगायत खेतीमा वार्षिक करिब रु २० हजार खर्च हुने गरेको कार्कीले बताए।

धान र मकैखेतीको तुलनामा सुपारी खेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । “एक बिघामा धानखेती गर्दा धेरै दुःख गरेर पनि रु एक लाख आम्दानी गर्न सकिँदैन । सुपारी खेतीबाट भने राम्रो आम्दानी हुन्छ”, उनले भने।

उनले बगानको रेखदेखका लागि तलब दिएर एक जना कामदार राखेका छन् । बाँकी काम भने उहाँ आफैँ र श्रीमती डम्बरकुमारी कार्कीले सहायता गर्छन्। सुपारी खेतीमा भैँसीको गोबरसँगै डिएपी र पोटास मल प्रयोग गर्ने गरेको उनले बताए। यो खेतीबाट राम्रो आम्दानी हुने अनुभव सुनाउँदै कार्कीले व्यावसायिक खेती गर्न चाहने युवा यसमा लाग्दा झनै राम्रो हुने सुझाव दिन्छन् ।

“व्यवसाय गर्न चाहने युवाले सुपारीखेती गर्दा हुन्छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ । धेरै मेहनत पनि गर्नुपर्दैन”, उनले भने । कार्कीलाई आफ्नो बगानमा काम गर्न उत्तिकै जाँगर चल्छ । सुपारीखेती आम्दानीको माध्यम मात्र नभई दिन बिताउने र खुसी प्राप्त गर्ने आधार बनेको उनको भनाइ छ । “साह्रै राम्रो छ, दिनभरि यही बगानमा आनन्दले समय बिताउन सकिन्छ”, उनले भने। रासस

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् ।

धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् ।

भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए। “केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो । अहिले मौसम खुलेपछि राहत मिलेको छ”, उनले भने, “अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ । अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ ।”

किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए। वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उनको भनाइ छ ।

“हामी किसान धान भण्डारणको काममा लागेका छौँ”, उनले भने, “अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो । सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ ।”

धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुँदै आएको छ । मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन् । रासस

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार उक्त कार्यक्रमका लागि चालु आवमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको थियो ।

पहिलो त्रैमासिकमा छुट्याइएको रु ६२ करोड ७४ लाख बजेटमध्ये रु १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत हो । सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४ दशमलव नौ प्रतिशत भारित भौतिक प्रगति भएको छ । उक्त अवधिमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख थापाले बताए ।

थापाका अनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय रा काम गरेका छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव आठ प्रतिशत प्रगति हासिल गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ । लमही (दाङ) ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर (धनुषा) ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ । रासस

धान फल्ने खेतमा सयपत्री फूलखेती

भद्रपुर, झापा । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् ।

विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन् । ‘कृषि कम्पास’ समूह गठन गरेर सुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावना बनेको छ ।

समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो । फूलखेतीका लागि रु पाँच लाख ५० हजार लगानी गरेका उनीहरूले यसबाट करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन् । उत्पादित माला बिक्रीबाट कम्तीमा रु १० देखि १२ लाख आम्दानी हुने उनीहरूको अनुमान छ । अहिले फूल टिपेर माला उन्ने र तयार भएका माला कोल्डस्टोरमा भण्डारण गर्न थालिएको छ ।

समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन उत्पादन हुन्थ्यो । त्यसको हालको बजार मूल्य करिब ५० हजारमात्रै पर्छ । धानखेतीबाट हुने आम्दानीभन्दा फूलखेतीबाट कैयौँ गुणा बढी आम्दानी हुने देखिएपछि उनीहरूले खेतीको विकल्प रोजेका हुन् ।

“यही जग्गामा धान रोपेको भए जम्माजम्मी ३० मन उत्पादन हुन्थ्यो । त्यसको बजार मूल्य करिब रु ५० हजारमात्रै हो । पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ”, न्यौपानेले भने।

न्यौपानेका अनुसार फूलखेतीमा बजारको सम्भावना पनि राम्रो छ । एउटा मालाको मूल्य रु १०० देखि १५० सम्म पर्ने भएकाले उत्पादन बिक्री गर्नसके अपेक्षित आम्दानी लिन सकिने उनको विश्वास छ ।

धानखेतीको तुलनामा फूलखेतीबाट हुने आम्दानीको सम्भावना देखेपछि समूहले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको छ । समूहका अर्का सदस्य विनोद रिजालले आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने तयारी भइरहेको बताए । यस वर्षको अनुभव र बजारको मागले आफूहरूलाई थप क्षेत्रफलमा खेती गर्न उत्साहित बनाएको उनको भनाइ छ ।

तर फूलखेतीमा आम्दानीको सम्भावना जति छ, चुनौती पनि उत्तिकै छन् । फूल टिपेपछि लामो समयसम्म सुरक्षित राख्नुपर्ने र बजारसम्म पुर्याउनुपर्ने समस्या किसानसामु छ । विशेषगरी भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जान सक्ने चिन्ता उनीहरूले व्यक्त गर्दै आएका छन् ।

यही विषयलाई लिएर जिल्लाका व्यावसायिक फूल किसानको एक समूहले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको थियो । किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन तथा भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका थिए ।

किसानको माग र जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुगेका थिए । उनले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेटेर उत्पादन र बजारको अवस्थाबारे स्थलगत जानकारी लिए ।

सो अवसरमा उनले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताए । “तपाईँहरूले सामूहिक रूपमा गर्नुभएको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ । प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ”, पोखरेलले भने, “झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता हो । पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ ।”

‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालले जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको आकर्षण बढ्दै गएको बताए । उनका अनुसार बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको छ । किसानको आकर्षण र खेती विस्तारको क्रमलाई हेर्दा झापा फूल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको उनले बताए । रासस

इनम सापकोटाको सञ्जाल : न्यायालयदेखि शक्तिकेन्द्रसम्म कसरी पुग्यो पहुँच?

काठमाडौं। राज्यका उच्च पदमा पुग्न राजनीतिक पहुँच, लामो प्रशासनिक अनुभव वा संस्थागत हैसियत चाहिन्छ भन्ने सामान्य बुझाइ छ। तर नेपालमा सार्वजनिक भइरहेका केही घटनाले अर्को प्रश्न खडा गरेका छन्- पद र जिम्मेवारीमा नभएको एउटा व्यक्तिले कसरी राज्यका शक्तिशाली पदाधिकारीहरूसम्म आफ्नो पहुँच विस्तार गर्न सक्छ?

इनम सापकोटा प्रकरणले यही प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

गत ११ असोजमा पक्राउ पर्नुअघि सापकोटा आम नागरिकका लागि खासै परिचित नाम होइन। न उनी कुनै राजनीतिक दलका चर्चित नेता थिए, न सार्वजनिक पदमा रहेका व्यक्ति। तर पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणबाट उनको नाम बाहिरिएपछि अनुसन्धानको दिशा नै बदलियो।

प्रहरीले जबराको मोबाइलमा सापकोटासँग पटकपटक सम्पर्क भएको विवरण फेला पारेको थियो। त्यसपछि उनको खोजी सुरु भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेको अवस्थामा उनलाई नियन्त्रणमा लिइयो।

त्यसपछि उनको मोबाइलमा भेटिएका संवाद र सम्पर्कहरूको दायराले अनुसन्धानकर्तालाई समेत आश्चर्यमा पारेको समाचारहरूमा उल्लेख छ। दुईवटा मोबाइलको परीक्षण गर्दा न्यायपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक क्षेत्र, कानुन व्यवसायी र कारागारमा रहेका व्यक्तिहरूसँगको सम्पर्क देखिएको थियो।

चिनजानको एउटा सम्बन्धबाट शक्तिकेन्द्रसम्म

सापकोटा कसरी यो वृत्तमा प्रवेश गरे? सार्वजनिक भएका अनुसन्धान विवरणले उनको सम्बन्धको एउटा सुरुआती कडी पूर्वप्रधानन्यायाधीश जबराको परिवारसँग जोडिएको देखाउँछ।

अनुसन्धान अधिकृतहरूसँगको अनौपचारिक सोधपुछमा सापकोटाले जबराका छोरा सचिन्द्रशमशेर जबरा र आफू ललितपुरको लिटल एन्जल्स स्कुलमा पढ्दाको चिनजान रहेको दाबी गरेका थिए। उनीभन्दा वरिष्ठ विद्यार्थी रहेका सचिन्द्रसँगको त्यही सम्बन्धबाट चोलेन्द्रशमशेर जबरासँग चिनजान भएको उनको भनाइ उद्धृत गर्दै समाचारहरु प्रकाशन भएका छन्।

त्यसपछि सम्पर्क विस्तार हुँदै गएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ।

यसको अर्थ, एउटा व्यक्तिगत चिनजान कसरी उच्च तहका व्यक्तिहरूसम्म पुग्ने प्रवेशद्वार बन्न सक्छ भन्ने यस प्रकरणले देखाएको छ। तर सापकोटाको सम्पर्क सञ्जाल विस्तारमा अरू कसको भूमिका थियो, कसले उनलाई संरक्षण वा परिचय उपलब्ध गरायो र उनले कुन आधारमा आफूलाई प्रभावशाली व्यक्तिका रूपमा स्थापित गरे भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

एउटा उच्च सुरक्षा अधिकारीले उनलाई एक दूतावासका डाक्टरका रूपमा चिनिएको बताएका छन्। उनको वास्तविक व्यावसायिक पृष्ठभूमि, शैक्षिक योग्यता, आम्दानीको स्रोत र आर्थिक हैसियतबारे भने सार्वजनिक विवरण पर्याप्त छैनन्।

बढुवादेखि मुद्दासम्मको आश्वासन

सापकोटाको मोबाइलमा भेटिएका संवादमध्ये प्रहरी अधिकारीहरूको बढुवा र अदालतमा विचाराधीन मुद्दासम्बन्धी कुराकानी विशेष चासोको विषय बनेका छन्।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू अनुसार, प्रहरीका केही अधिकारीले बढुवामा सहयोग खोज्ने उद्देश्यले उनीसँग सम्पर्क गरेको देखिन्छ। त्यस्तै, मुद्दामामिलामा परेका व्यक्तिहरूले अदालतमा आफ्नो काम मिलाइदिन सकिन्छ कि भन्ने आशयले संवाद गरेको पाइएको बताइएको छ।

सापकोटाले आफूले मुद्दा मिलाइदिने र बढुवामा सहयोग गर्ने आश्वासन दिएको अनुसन्धान अधिकृतहरूको भनाइ छ। उनले बयानका क्रममा समेत यस्ता कुराकानी भएको स्वीकार गरेका छन्।

तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न छ- उनले आश्वासन दिएअनुसार वास्तवमै निर्णय प्रभावित पार्न सकेका थिए कि थिएनन्?

यो अहिलेसम्म स्थापित भइसकेको छैन। कसैसँग सम्पर्क हुनु, कुनै काम गरिदिने आश्वासन दिनु र वास्तवमै सरकारी निर्णय वा अदालतको फैसला प्रभावित पार्नु फरक विषय हुन्। त्यसैले संवादको पूर्ण विवरण, आर्थिक कारोबार र सम्बन्धित निर्णयबीचको सम्बन्ध अनुसन्धानबाट पुष्टि हुनुपर्नेछ।

कारागारभित्रका प्रभावशाली व्यक्तिसम्म पहुँच

सापकोटाको सम्पर्क सञ्जालको अर्को रोचक पाटो कारागारसँग जोडिएको छ।

अनुसन्धानका क्रममा उनको मोबाइलबाट नक्खु कारागारमा रहेका व्यवसायी दीपक भट्ट, उनको परिवारका अर्का सदस्य तथा व्यवसायी सुलभ अग्रवालको समूहसँग समेत सम्पर्क देखिएको प्रहरी अधिकारीहरूले बताएका छन्।

भट्ट र अग्रवाल विभिन्न कसुरको अनुसन्धानमा थुनामा रहेका बेला सापकोटासँग सम्पर्कमा रहेको विवरण सार्वजनिक भएको हो।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सापकोटाले कारागारमा रहेका प्रभावशाली व्यक्तिहरू र बाहिरका शक्तिकेन्द्रबीच सम्पर्क तथा सूचना आदानप्रदान गराउने माध्यमको भूमिका खेलेको हुन सक्ने आशंका गरिएको छ।

यससँगै पूर्वमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री दीपक खड्का र कांग्रेस नेता उमेश श्रेष्ठलगायतसँग पनि उनको संवाद भएको विवरण सार्वजनिक भएको छ। तर यी व्यक्तिहरूको नाम सम्पर्क सूचीमा देखिनु आफैंमा कुनै कसुरमा संलग्न भएको प्रमाण होइन। कसले के प्रयोजनका लागि सम्पर्क गरेको थियो भन्ने कुरा छुट्टाछुट्टै अनुसन्धानको विषय हो।

सुरक्षा निकायभित्रको पहुँच र गोप्य सूचना

सापकोटाको सम्पर्क सञ्जालमा सशस्त्र प्रहरीका तत्कालीन अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको नाम पनि विशेष रूपमा जोडिएको छ। पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको राति दाहाल उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको विवरण सार्वजनिक भएको थियो। त्यसपछि सापकोटासँगको सम्पर्क र सूचना आदानप्रदानको आरोपमा उनीमाथि छानबिन भयो र सरकारले सेवाबाट हटायो।

अनुसन्धान अधिकृतहरूले सापकोटाको मोबाइलमा प्रधानमन्त्री वालेन्द्र शाह बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएको समयसमेत पठाइएको सन्देश फेला परेको दाबी गरेका छन्।

यदि सरकारी सुरक्षा र संवेदनशील सूचनासँग सम्बन्धित विवरण अनधिकृत व्यक्तिसम्म पुगेको हो भने यो सामान्य सम्पर्कको विषय मात्र रहँदैन। यसले सुरक्षा संयन्त्रभित्रको सूचना व्यवस्थापन र आन्तरिक अनुशासनमाथि नै प्रश्न उठाउँछ।

प्रधानन्यायाधीशदेखि बहालवाला न्यायाधीशसम्म विवाद

सापकोटा प्रकरणको पछिल्लो विकासले न्यायपालिकालाई समेत विवादमा तानेको छ। कात्तिक १३ मा सार्वजनिक भएको विवरणअनुसार प्रधानन्यायाधीश मनोजकुमार शर्मा र सापकोटाको नाम जोडिएको आर्थिक कारोबारको विवरण बाहिरिएको छ। त्यसमा तीन महिनाको १ लाख ९८ हजार ३ सय ३३ रुपैयाँको हिसाब र ७ हजार ५ सय अमेरिकी डलर जम्मा गर्न आग्रह गरिएको विवरण उल्लेख छ।

त्यस्तै, बहालवाला न्यायाधीश हरि फुयाँलसँग सर्वोच्च अदालतमा विचाराधीन रोहित गुप्ताको मुद्दाका विषयमा सापकोटाले संवाद गरेको विवरण पनि सार्वजनिक भएको छ।

प्रधानन्यायाधीश शर्माले भने आफूलाई जोडेर सार्वजनिक भएको प्रसंग र कारोबारमा कुनै संलग्नता नरहेको, सम्बन्धित व्यक्तिहरूसँग चिनजान वा सम्पर्कसमेत नभएको भन्दै विज्ञप्तिमार्फत खण्डन गरेका छन्।

यस प्रकरणमा सार्वजनिक भएका विवरणका आधारमा कुनै न्यायाधीश वा पदाधिकारीलाई दोषी ठहर गर्न मिल्दैन। तर न्यायपालिकाको नेतृत्वसँग नाम जोडिएपछि निष्पक्ष र स्वतन्त्र छानबिनको आवश्यकता झन् बढेको छ।

नेपाल बारले पनि आरोप प्रमाणित भए कानुनी कारबाही र प्रमाणित नभए सम्बन्धित व्यक्तिको प्रतिष्ठा तथा संस्थागत मर्यादा जोगाउनुपर्ने धारणा सार्वजनिक गरेको छ।

उनको पछाडि को छ?

सापकोटा प्रकरणको सबैभन्दा ठूलो अनुत्तरित प्रश्न यही हो। के उनी आफैंले सम्बन्ध र सम्पर्क विस्तार गरेर प्रभावशाली व्यक्तिहरूबीच मध्यस्थताको भूमिका बनाएका थिए? कि कुनै शक्तिशाली समूहको प्रतिनिधिका रूपमा काम गरिरहेका थिए?

उनलाई उच्च तहका व्यक्तिसँग परिचय गराउने, सम्पर्क कायम गराइदिने र उनको माध्यमबाट काम गराउन खोज्ने व्यक्तिहरू को थिए?

उनले विभिन्न अधिकारीलाई बढुवा, मुद्दा र ठेक्कापट्टामा सहयोग गर्ने आश्वासन दिन सक्ने आधार के थियो? उनको आर्थिक स्रोत के थियो? विदेशमा रहेको सम्पत्ति र कारोबारको वास्तविकता के हो?

यी प्रश्नको जवाफ नखोजी सापकोटालाई मात्र केन्द्रमा राखेर अनुसन्धान टुंग्याउनु पर्याप्त हुँदैन।

प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पर्क, आर्थिक कारोबार र सम्भावित सम्पत्ति व्यवस्थापनका विषयमा अनुसन्धान अघि बढाएका छन्। उनका सम्पर्कमा देखिएका केही व्यक्तिका घरमा छापा मारेर विद्युतीय उपकरण र कागजात नियन्त्रणमा लिइएको विवरणसमेत सार्वजनिक भएको छ।

व्यक्ति पक्राउ परे, प्रणालीको परीक्षण कहिले?

इनम सापकोटा प्रकरण एउटा व्यक्तिको सम्पर्क सूचीको कथा मात्र होइन। यो राज्यका संवेदनशील संस्थाहरूमा औपचारिक पदबाहिरका व्यक्तिको पहुँच कति टाढासम्म पुग्न सक्छ भन्ने गम्भीर प्रश्न हो।

अदालतमा न्याय पाउनुपर्ने नागरिकले बिचौलिया खोज्नुपर्ने अवस्था छ कि छैन? प्रहरीमा बढुवा हुन कार्यसम्पादनभन्दा बाहिरी सम्पर्क प्रभावशाली हुन थालेको हो कि होइन? सुरक्षा निकायका गोप्य सूचना बाहिरिने अवस्था कसरी बन्यो? कारागारमा रहेका व्यक्तिले बाहिरको शक्ति सञ्जालसँग कसरी सम्पर्क कायम राखे?

यी प्रश्नको जवाफ व्यक्तिहरूको मोबाइल परीक्षणमा मात्र सीमित हुनु हुँदैन। सम्पर्कको उद्देश्य, सम्भावित आर्थिक लाभ, निर्णय प्रक्रियामा परेको प्रभाव र संस्थागत संरक्षणको शृंखला पहिल्याउनुपर्छ।

सापकोटाको मोबाइलमा भेटिएका नामहरू अनुसन्धानको सुरुआत हुन्, दोषी प्रमाणित गर्ने अन्तिम आधार होइनन्। कसुर पुष्टि गर्ने जिम्मेवारी अनुसन्धान र न्यायिक प्रक्रियाकै हो।

तर एउटा कुरा स्पष्ट छ- यदि एउटा सामान्य सार्वजनिक परिचय भएको व्यक्तिले न्यायालय, सुरक्षा निकाय, राजनीति र प्रशासनका उच्च तहसम्म सम्पर्कको जालो बनाउन सकेको हो भने समस्या त्यो व्यक्तिमा मात्र सीमित छैन।

इनम सापकोटा को हुन् भन्ने प्रश्नभन्दा पनि उनलाई त्यस्तो पहुँच दिने संरचना के हो भन्ने प्रश्नको जवाफ खोज्नु अहिलेको सबैभन्दा ठूलो सार्वजनिक चासो हो।