२०८३ कार्तिक ४ गते बुधबार

Business Intelligence Platform

मेटाले अमेरिका, जापानसहित विभिन्न देशमा टिकटकको विज्ञापनमा प्रतिबन्ध लगायो

काठमाडौं। फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले चिनियाँ कम्पनी बाइटडान्सअन्तर्गतको टिकटकको विज्ञापन आफ्ना प्लेटफर्ममा प्रकाशन गर्न प्रतिबन्ध लगाएको छ। कम्पनीका प्रवक्ताले बिहीबार यसबारे जानकारी दिएका हुन्।

यो निर्णय अमेरिका, क्यानडा, इजिप्ट, इन्डोनेसिया, जापान, थाइल्यान्ड र भियतनाममा तत्काल लागू भएको मेटाले जनाएको छ। ती देशमा टिकटक तथा बाइटडान्सका अन्य सेवासँग जोडिने विज्ञापन सञ्चालन गर्ने तेस्रो पक्षका विज्ञापनदातालाई समेत प्रतिबन्ध लागू हुनेछ।

यो कदम मेटा र बाइटडान्सबीच लामो समयदेखि जारी प्रतिस्पर्धा थप चर्किएको संकेतका रूपमा हेरिएको छ। बाइटडान्सको भिडियो सेयरिङ एप टिकटक प्रयोगकर्ताको सहभागिता, सामग्री निर्माता र विज्ञापनबाट हुने आम्दानीका क्षेत्रमा मेटाको प्रमुख प्रतिस्पर्धी बनेको छ।

मेटाले आफ्नो निर्णयको बचाउ गर्दै प्रतिस्पर्धी कम्पनीलाई आफ्ना प्रयोगकर्तालाई अर्को प्लेटफर्ममा लैजान सहयोग गर्ने उद्देश्यका विज्ञापन सेवा उपलब्ध गराउन आवश्यक नभएको जनाएको छ।

“हाम्रा एपबाट मानिसलाई बाहिर लैजाने उद्देश्य राख्ने प्रतिस्पर्धीको विज्ञापन हामीले चलाउनुपर्दैन,” मेटाले भनेको छ। प्रतिस्पर्धीलाई प्रवर्द्धनात्मक सेवा नदिनु विभिन्न उद्योगमा सामान्य व्यावसायिक अभ्यास भएको पनि कम्पनीको भनाइ छ।

मेटाले आफूहरू उत्पादनको गुणस्तर र प्रयोगकर्ताको अनुभवका आधारमा प्रतिस्पर्धा जारी राख्ने जनाएको छ।

बालबालिकाको सुरक्षालाई लिएर पनि प्रतिस्पर्धा

मेटा र टिकटकबीचको विवाद विज्ञापनमा मात्र सीमित छैन। सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा पार्ने प्रभाव र उनीहरूको सुरक्षालाई लिएर पनि यी कम्पनीमाथि दबाब बढ्दै गएको छ।

मेटाले अगस्टमा अमेरिकी राज्यहरूसँग बालबालिकामा सामाजिक सञ्जालको हानिकारक प्रभावसम्बन्धी मुद्दा समाधान गर्ने क्रममा १८ अर्ब अमेरिकी डलरसम्मको सम्झौता गरेको थियो। त्यसपछि मेटाले टिकटक र युट्युबलाई पनि किशोरकिशोरीको सुरक्षा बढाउन आफूले स्वीकार गरेका उपाय अपनाउन आग्रह गर्दै आएको छ।

मेटाले फेसबुक र इन्स्टाग्राम प्रयोग गर्ने बालबालिकाका लागि दैनिक प्रयोगको समयसीमा लागू गर्ने, रातिको समयमा प्रयोग सीमित गर्ने र उमेरअनुसार प्रतिबन्धित सामग्रीमा बालबालिकाको पहुँच रोक्ने उपायलाई बलियो बनाउने सहमति गरेको थियो।

टिकटकले मेटाको अभियानबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन। तर सेप्टेम्बरमा अमेरिकाको अलाबामा राज्यसँग सम्झौता गर्दै त्यहाँका प्रयोगकर्ताका लागि प्रयोग समयसम्बन्धी नयाँ सीमा लागू गर्ने र उमेर प्रमाणीकरणका उपाय सुदृढ गर्ने सहमति गरेको थियो। बालबालिकाको सुरक्षामा जोखिम उत्पन्न गरेको र आफ्नो सुरक्षा व्यवस्थाबारे उपभोक्तालाई भ्रममा पारेको आरोपसँग सम्बन्धित विवाद समाधान गर्न उक्त सम्झौता गरिएको थियो।

अमेरिकामा टिकटकको स्वामित्व संरचनामा परिवर्तन

अमेरिकामा दुई करोड होइन, २० करोडभन्दा बढी प्रयोगकर्ता रहेको टिकटकको सञ्चालन अमेरिकी प्रयोगकर्ताको तथ्याङ्क सुरक्षित राख्ने र एपमाथि प्रतिबन्ध लाग्न नदिने उद्देश्यले गरिएको सम्झौतापछि अमेरिकी पक्षको बहुमत स्वामित्व रहेको संयुक्त उद्यममार्फत हुँदै आएको छ।

टिकटकको वेबसाइटमा अन्य सामाजिक सञ्जालका एप खोल्ने वा ती एपमा प्रयोगकर्तालाई लगइन गराउने लिंकलाई समर्थन नगर्ने उल्लेख छ। यद्यपि, प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा अन्य प्लेटफर्मका वेबसाइटमा लैजाने लिंक राख्न सक्छन्।

मेटाको विज्ञापन प्रतिबन्धबारे ८ब्लुमबर्ग न्युज८ले बिहीबार पहिलोपटक समाचार सार्वजनिक गरेको थियो। टिकटक र बाइटडान्सले भने यस विषयमा रोयटर्सले मागेको प्रतिक्रियाको तत्काल जवाफ दिएका थिएनन्।  सिएनए

 

मूल्य मिलेमतोको आरोपमा जापानका चार ठूला बियर कम्पनीमा छापा

टोकियो। जापानका चार प्रमुख बियर उत्पादक कम्पनीले बियरको मूल्य बढाउन आपसमा मिलेमतो गरेको आशंकामा जापानी अधिकारीहरूले आज बुधबार ती कम्पनीका कार्यालयमा छापा मारेर अनुसन्धान थालेका छन्।

अनुसन्धानमा असाही ब्रुअरीज, किरिन ब्रुअरी, साप्पोरो ब्रुअरीज र सन्तोरी परेका छन्। यी चार कम्पनीले जापानको बियर बजारको करिब ९० प्रतिशत हिस्सा ओगटेको बताइएको छ।

जापानको फेयर ट्रेड कमिसन (जेएफटीसी) ले थोक बियरको मूल्य निर्धारणमा मिलेमतो भएको आरोपबारे पहिलोपटक चारै कम्पनीमा स्थलगत निरीक्षण गरेको अनुसन्धानसँग जानकार एक स्रोतले जनाएको छ।

स्रोतका अनुसार यस्तो मूल्य मिलेमतो केही वर्षदेखि चलिरहेको हुनसक्ने आशंका गरिएको छ। चारवटै कम्पनीका प्रतिनिधिहरू समय–समयमा भेटेर बियरको मूल्य बढाउने विषय र मूल्यवृद्धिको समयबारे छलफल गर्ने गरेको आशंका छ।

पछिल्ला केही वर्षमा यी कम्पनीहरूले कच्चा पदार्थ र ढुवानी खर्च बढेको कारण देखाउँदै बियरको मूल्य पटक–पटक वृद्धि गरेका थिए। जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

चारवटै कम्पनीले आफूहरू अनुसन्धानको दायरामा रहेको पुष्टि गर्दै अधिकारीहरूलाई पूर्ण सहयोग गर्ने बताएका छन्।

सन्तोरीले एक विज्ञप्तिमार्फत मदिराजन्य वस्तुको कारोबारसम्बन्धी गतिविधिमा प्रतिस्पर्धा विरोधी कानुन उल्लंघन गरेको आशंकामा फेयर ट्रेड कमिसनले आफ्नो कार्यालयमा स्थलगत निरीक्षण गरिरहेको जनाएको छ।

यो छापा जापानमा मूल्य मिलेमतोसम्बन्धी पछिल्लो अनुसन्धानसँग पनि जोडिएको छ। यसअघि यही वर्ष जेएफटीसीले जापानका छ प्रमुख आइसक्रिम कम्पनी माथि पनि कारबाही थालेको थियो।

ती कम्पनीहरूले कच्चा पदार्थको मूल्य बढेको भन्दा बढी मात्रामा आइसक्रिमको मूल्य वृद्धि गर्न वर्षौँदेखि आपसमा समन्वय गरेको आरोप लागेको थियो।

जापानमा प्रतिस्पर्धा विरोधी गतिविधिमाथि निगरानी गर्ने निकायले ठूला कम्पनीबीच मूल्य निर्धारणमा हुने सम्भावित मिलेमतोमाथि अनुसन्धान तीव्र बनाएको पछिल्ला घटनाले देखाएको एएफपीले उल्लेख गरेको छ।

 

माइक्रोसफ्ट र एनभिडियाले सार्वजनिक गर्दै एआई क्षमतायुक्त नयाँ ल्यापटप

सान फ्रान्सिस्को। माइक्रोसफ्टले एनभिडियाको चिप प्रयोग गरिएको नयाँ ल्यापटप सार्वजनिक गर्ने भएको छ। विन्डोजलाई एआई एजेन्टहरूले कोड लेख्नेलगायतका जटिल काम क्लाउडमा नपुगी आफ्नै कम्प्युटरमै गर्न सक्ने प्लेटफर्मका रूपमा विकास गर्ने उद्देश्यसहित नयाँ ल्यापटप ल्याउन लागिएको विश्लेषकहरूले बताएका छन्।

माइक्रोसफ्टका लागि यो कदम महँगो पर्ने ‘एज्युर’ क्लाउड कम्प्युटिङ डेटा सेन्टरमा हुँदै आएका केही कामलाई उच्च क्षमताका विन्डोज कम्प्युटरमा सार्ने रणनीतिक दाउ हो। यसबाट व्यवसाय तथा घरमा प्रयोग हुने कम्प्युटर बजारमा आफ्नो बलियो पकड कायम राख्दै ग्राहककै खर्चमा आवश्यक हार्डवेयर प्रयोग गर्न सकिने अपेक्षा माइक्रोसफ्टको छ। यही बजारमा लामो समयदेखिको प्रतिस्पर्धी एप्पलले पनि नयाँ म्याक कम्प्युटरमार्फत आफ्नो उपस्थिति बढाउने प्रयास गरिरहेको छ।

एनभिडियाका लागि भने विन्डोज पीसी बजारमा प्रवेशले लामो समयदेखि यस क्षेत्रमा प्रभुत्व जमाउँदै आएका इन्टेल र एडभान्स्ड माइक्रो डिभाइसेज ९एएमडी० लाई चुनौती दिने नयाँ अवसर सिर्जना गर्न सक्छ।

माइक्रोसफ्टले सान फ्रान्सिस्कोमा आयोजना गर्ने कार्यक्रममा विन्डोज अपरेटिङ सिस्टम र ‘सरफेस’ हार्डवेयर शृंखलाबारे नयाँ जानकारी सार्वजनिक गरिनेछ। यो कार्यक्रम माइक्रोसफ्ट र एआई चिप निर्माता एनभिडियाबीच वर्षौंदेखि भइरहेको सहकार्यको महत्वपूर्ण परिणामका रूपमा हेरिएको छ।

दुवै कम्पनीले गत जुनमा घोषणा गरिएका एनभिडियाका ‘आरटीएक्स स्पार्क’ चिपमार्फत कम्प्युटरमा कोड लेख्ने, जटिल व्यावसायिक परियोजना व्यवस्थापन गर्ने जस्ता काम सिधै डेस्कटप र ल्यापटपमै सञ्चालन गर्ने प्रविधि विकास गरिरहेका छन्।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेला र एनभिडियाका सीईओ जेन्सेन ह्वाङले आज संयुक्त रूपमा नयाँ ल्यापटप सार्वजनिक गर्नेछन्। नयाँ उपकरणको नाम ‘सरफेस ल्यापटप अल्ट्रा’ राखिएको छ।

माइक्रोसफ्ट र एनभिडियासामु रहेको प्रमुख चुनौती भनेको जटिल समस्या आफैं समाधान गर्न सक्ने एआई एजेन्टलाई व्यक्तिगत कम्प्युटरभित्र सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने प्रमाणित गर्नु हो।

एनभिडियाले एआई हब ‘हगिङ फेस’ मा भएको ह्याकिङ घटनाजस्तो समस्या दोहोरिन नदिन सुरक्षा उपायमा काम गरिरहेको छ। उता, एप्पलले पनि एआई एजेन्टलाई म्याक कम्प्युटरको हार्डड्राइभमा पूर्ण पहुँच दिने प्रक्रियालाई थप सुरक्षित बनाउने प्रयास गरिरहेको छ।

तर विश्लेषकहरूका अनुसार नयाँ उपकरणको मूल्य नै सबैभन्दा ठूलो प्रश्न बन्नेछ। पछिल्लो समय मेमोरी चिपको अभाव र बढ्दो लागतका कारण डेस्कटप तथा ल्यापटप कम्प्युटरको मूल्य बढिरहेको छ।

दुई वर्षअघि माइक्रोसफ्टले एआईसम्बन्धी काम कम्प्युटरमै सञ्चालन गरेर लागत घटाउने अवधारणा अघि सार्दा यस्ता ल्यापटपको मूल्य प्रायः २ हजार डलरभन्दा कम थियो। तर पछिल्ला साताहरूमा एनभिडियाले ‘डीजीएक्स स्पार्क’ नामक एआई डेस्कटपको मूल्य करिब ७५ प्रतिशतले बढाएर ६ हजार ९५० डलर पुर्‍याएको छ। यसको प्रमुख कारण १२८ गिगाबाइट मेमोरीको मूल्यमा भएको तीव्र वृद्धि हो।

‘मोर इनसाइट्स एन्ड स्ट्राटेजी’का विश्लेषक एन्सेल सागका अनुसार मेमोरी चिपको मूल्यवृद्धिले एप्पल र माइक्रोसफ्ट दुवैको एआईलाई कम्प्युटरमै सञ्चालन गर्ने योजनालाई प्रभावित गरिरहेको छ।

सागले रोयटर्ससँग भनेका छन्, “दुई वर्षअघि सफ्टवेयर तयार थिएन, तर हार्डवेयर तयार थियो। अहिले सफ्टवेयर तयार छ, तर हार्डवेयर स्थानीय रूपमा एआई चलाउन निकै महँगो भएको छ।”

यसको परिणामस्वरूप स्थानीय कम्प्युटरमै एआई चलाउने क्षमता पर्याप्त बजेट भएका प्रयोगकर्तामा मात्र सीमित हुने अवस्था आउन सक्छ। रोयटर्स

 

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ ।

उक्त सडक सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन् । उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरलानाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ । कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम—कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो ।

यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्या कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयौंको सङ्ख्यामा ती कन्टेनर रोकिएका थिए ।

भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोल क्षतिमा हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो । त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो ।

कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए।

चीनबाट कोरलानाका हुँदै पैठारी गरी नेपाल भित्र्याइएको दसैँतिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यपारीमात्र होइन उपभोक्ता समेत इच्छाइएको सामग्री खरिद गर्नबाट वञ्चित हुनुपरेको छ । त्यसबाट नेपाली बजारसमेत आर्थिक रुपमा चलायमान हुनसकेको छैन ।

स्थानीय तहको मनपरी : सहमतिबिनै ३४ करोड ऋण

काठमाडौं । केही स्थानीय तहले नेपाल सरकारको स्वीकृति र वार्षिक बजेटमा व्यवस्था नगरी नगर विकास कोषबाट आन्तरिक ऋण लिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ।

आयोगको आठौँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा १७ वटा स्थानीय तहले नगर विकास कोषबाट ३३ करोड ८७ लाख ८१ हजार रुपैयाँभन्दा बढी ऋण परिचालन गरेका छन्। तीमध्ये सात स्थानीय तहले वार्षिक बजेटमै ऋणको व्यवस्था गरेका थिएनन्।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश तथा स्थानीय तहले आन्तरिक ऋण लिनुअघि नेपाल सरकारको सहमति लिनुपर्छ। तर गत आर्थिक वर्षमा ऋण लिएका १७ वटै स्थानीय तहले अर्थ मन्त्रालयबाट यस्तो सहमति नलिएको आयोगले जनाएको छ।

आयोगले स्थानीय तहले बजेटमा ऋणको अनुमान समावेश गरी तोकिएको सीमाभित्र रहेर मात्र ऋण परिचालन गर्नुपर्नेमा जोड दिएको छ। आयोगले २०८२/८३ का लागि स्थानीय तहले आफ्नो राजस्वको अधिकतम १२ प्रतिशतसम्म आन्तरिक ऋण लिन सक्ने सीमा सिफारिस गरेको थियो। तर मोरङका दुई स्थानीय तहले उक्त सीमाभन्दा बढी ऋण लिएको प्रतिवेदनमा उल्लेख छ।

आयोगका अनुसार आन्तरिक ऋण पूर्वाधार विकास, पुँजी निर्माण, रोजगारी सिर्जना, आय वृद्धि तथा दीर्घकालीन लाभ हुने उत्पादनशील क्षेत्रमा मात्र परिचालन गर्नुपर्छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि १६ वटा स्थानीय तहले नगर विकास कोषबाट आन्तरिक ऋण लिएका थिए।

आयोगले स्थानीय तहले विभिन्न संस्थाले नगर विकास कोषबाट लिएको ऋणमा जमानत बसेको विषयमा समेत प्रश्न उठाएको छ। प्रचलित कानुनमा स्थानीय तहले त्यस्तो जमानत बस्न सक्ने स्पष्ट व्यवस्था नरहेको आयोगको भनाइ छ।

आयोगले संघ, प्रदेश र स्थानीय तहबाट परिचालन हुने आन्तरिक तथा सार्वजनिक ऋणको एकीकृत विद्युतीय सूचना, लेखांकन र प्रतिवेदन प्रणाली विकास गर्न सरकारलाई सुझाव दिएको छ।

ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

बाजुरा । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन् ।

गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने जैसीले उदाहरण प्रस्तुत गरेका छन् । २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गरेका जैसी त्यसपछि गाउँ फर्किए ।

गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरेर कुखुरापालनसँगै तरकारीखेती सुरु गरे । केही वर्ष कृषि तथा पशुपालनमा लागेपछि फरक र नयाँ प्रकारको व्यावसायिक खेती गर्ने सोच आएपछि उनी ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भए ।

“केही नयाँ फरक गर्नुपर्छ भन्ने सोच आयो,” जैसीले भने, “कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदानमा ड्रागन फ्रुटखेती सुरु गरेँ ।”

सुरुमा परीक्षणका रूपमा केही बिरुवा लगाएर उक्त खेती सुरु गरेका जैसीले उत्पादन राम्रो हुन थालेपछि त्यसलाई विस्तार गरेका हुन् । हाल उनले पाँच रोपनीमा ड्रागन फ्रुटका एक हजार ४०० बिरुवा लगाएका छन् ।

ड्रागन फ्रुटका बिरुवाले दुई वर्षमै फल दिन थालेपछि जैसीको उत्साह थपिएको छ । गत वर्ष करिब छ क्विन्टल ड्रागन फ्रुट बिक्री गरेका उनले यस वर्ष भने उत्पादन बढेको बताए । “जेठ महिनादेखि फल्न सुरु हुन्छ र असोजसम्म यसको सिजन हुन्छ,” उनले भने, “गत वर्ष करिब छ क्विन्टल बिक्री भएको थियो । यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु । अझै केही पाक्ने क्रममा छ ।”

जैसीका अनुसार ड्रागन फ्रुटको बिक्रीबाट वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी भएको छ । उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ । उनले मार्तडी बजारसँगै अछामको साँफेबगरसम्म पुर्याएर बिक्री गर्दै आएका छन् ।

उत्पादन बढ्दै गएमा आम्दानी बढाउन सकिने उनको भनाइ छ । जैसीका अनुसार राम्रो मलजल र व्यवस्थापन गर्न सके एउटा बोटले २५ वर्षसम्म उत्पादन दिन सक्छ । “ड्रागनखेतीमा सुरुमा केही लगानी र मेहनत चाहिन्छ,” उनले भने, “तर अन्य बालीजस्तो धेरै सिँचाइ आवश्यक पर्दैन । गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय–समयमा काँटछाँट गरे पुग्छ ।”

जैसीको ड्रागन फ्रुटखेती अहिले बाजुरामा कृषि सम्भावनाको एउटा उदाहरण बनेको छ । जिल्लामै ठूलो क्षेत्रफलमा खेती गर्ने उनी पहिलो कृषक हुन् । अन्य स्थानमा केही वर्षअघि खेती सुरु भए पनि व्यावसायिक हुन सकेको छैन ।

बाजुरामा कृषियोग्य जमिन भए पनि परम्परागत बालीबाट मात्र पर्याप्त आम्दानी गर्न कठिन हुने अवस्था छ । यहाँ करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा हालसम्म सिँचाइ सुविधा पुगेको छैन । वर्षभरि लगाएको खेतीले छ महिना पनि खान पुग्दैन ।

कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागनखेती सुरुआत गरिएको थियो ।

केन्द्रका बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागनखेती हुन्छ । “नयाँ बाली भएकाले यहाँ थोरै किसान मात्रै व्यावसायिक खेतीमा हुनुहुन्छ,” उनले भने, “जिल्लामा ड्रागन फ्रुटको सम्भावना प्रशस्त रहेको छ । मेहनतका साथ लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।” रासस समाचार

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।

“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन”, उनले भने, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दसैं मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिदैन । हामीले यो ढङ्गले गर्न लागेका हौँ ।”

प्रवक्ता पौडेलले यही असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिए।

प्रवक्ता पौडेलले पनि विगत ४र५ वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको बताए ।

उनले भने, “गत भदौ ३१ गतेसम्म रु सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन भएको छ । सो रकमको करिव ८ देखि १० प्रतिशतसम्मको रकम दसैँमा वृद्धि हुने अनुमान गरेका छौँ ।”

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौं ।  यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट टिकट बुकिङ खुला गरिएको छ ।

यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपश्चात् महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए ।

उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको जानकारी गराए ।

दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।

महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने उनले बताए ।

दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।

विश्व बैंकको प्रक्षेपण: रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने

काठमाडौं । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३र८४ मा सुस्त भई तीन दशमलव सात प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ (बिल्डिङ ब्याक डिफरेन्ट्ली फर द फ्युचर) मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ ।

बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने विश्व बैंकको आकलन छ । त्यस्तै, व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।

कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको विश्व बैंकलेल प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पु¥याएको बताउँदै यसलाई नेपालको पूर्वाधार र आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका हुन् ।

उनले सडक तथा सञ्चार सञ्जाल, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाका पूर्वाधारमा जलवायु परिवर्तन र बदलिँदो जोखिमलाई ध्यानमा राखेर उत्थानशीलता तथा वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले नेपाललाई अझ बढी उत्थानशील र दिगो विकासको मार्गमा अघि बढाउन आवश्यक प्रणालीमा लगानी तथा उपयुक्त नीति कार्यान्वयन गर्न विश्व बैंक नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

नेपाल उद्धार तथा राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दै गर्दा क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने कार्यमा मात्र सीमित नरही बहुविपद् जोखिमको अद्यावधिक मूल्याङ्कन गर्न विश्व बैंकले सुझाव दिएको छ ।

प्रतिवेदनले पूर्वाधारको स्थान र डिजाइनबारे सावधानीपूर्वक विचार गर्न तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा थप वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । विपद् पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने तथा सङ्कटासन्न घरपरिवारलाई विपद्पछिको सहायता तीव्र रूपमा उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ ।

दक्षिण एसियाको आर्थिक वृद्धि ६.९ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकको पछिल्लो दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदन ‘आर्थिक वृद्धिका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ ले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आघातप्रति दक्षिण एसियाली अर्थतन्त्र उत्थानशील रहने अपेक्षा गरिएको छ । सन् २०२७ मा भने यस क्षेत्रको आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

प्रतिवेदनले कृत्रिम बौद्धिकताको रणनीतिक प्रयोगमार्फत आर्थिक वृद्धिका नयाँ स्रोत निर्माण गर्न सकिने सम्भावनाको समेत विश्लेषण गरेको छ । दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि एआईको प्रयोग तीव्र रूपमा बढिरहेको र व्यवसायहरूले बजारका नयाँ अवसर पहिचान गर्न यसको उपयोग गरिरहेको विश्व बैंकले जनाएको छ । एआईको प्रयोगमा अत्यधिक निर्भर दक्षिण एसियाली आपूर्तिकर्ताका लागि विश्वव्यापी मूल्य शृङ्खलासँगको सम्बन्धमार्फत नयाँ अवसर विस्तार भइरहेको पछिल्ला तथ्याङ्कको विश्लेषणले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य, शिक्षा र कृषिजस्ता दक्ष जनशक्तिको अभाव रहेका क्षेत्रमा सार्वजनिक सेवा प्रवाहका लागि एआईको प्रयोगलाई अर्को महत्वपूर्ण सम्भावनाका रूपमा प्रतिवेदनले औँल्याएको छ ।

विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले एआईको प्रयोगले श्रम उत्पादकत्व वृद्धि, निर्यातका अवसर विस्तार तथा सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत दक्षिण एसियाको विकासको दिशालाई रूपान्तरण गर्ने सम्भावना रहेको बताएका छन् ।

उनले एआईबाट अपेक्षित लाभ हासिल गर्न सरकारले यसको प्रयोगमा अवरोध खडा गर्ने आधारभूत कमीकमजोरीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

प्रतिवेदनले जनशक्तिको सीप सुदृढ गर्ने, व्यवसायमैत्री वातावरण निर्माण गर्ने तथा भौतिक र डिजिटल पूर्वाधारमा सुधार गर्नेलगायतका नीतिगत उपाय अवलम्बन गर्न सुझाव दिएको छ । साथै, साना व्यवसायले एआईको उपयोगमा सामना गर्ने अवरोध हटाउने, स्थानीयस्तरमा एआईसम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा स्पष्ट नियामक संरचना स्थापना गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ । यस्तो नियामक संरचनाले अनिश्चितता घटाउनुका साथै तथ्याङ्कको सुरक्षा र गोपनीयता सुनिश्चित गर्नुपर्ने विश्व बैंकले जनाएको छ । रासस

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढेर दुई हजार ५७८ दशमलव ७३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले बढेर ४६१ दशमलव ८६ मा पुगेको छ ।

त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ८२ अङ्कले बढेर १७७ दशमलव ७१ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७५ अङ्कले बढेर १५५ दशमलव ८४ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर रु तीन अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो ।

आज १६९ कम्पनीको सेयर बढ्यो भने ९५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १५ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सर्वोत्तम पेन्ट्स, एनआइविएल ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

व्यवसायी थपाको आँट- ‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी । बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ को भग्नावशेषछेउ बसेर रिसोर्टका सञ्चालक हुम थापाले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित ‘पोस्ट’ साझा गरे, ‘परिस्थिति जस्तो भए पनि सुखदुःखमा साथ दिने प्यारो जङ्गे’ । उक्त तस्बिर लिँदा थापाको साथमा थियो उनको प्यारो ‘कुकुर’ अर्थात् जङ्गे । जुन रिसोर्टको रेखदेख र सुरक्षामा सहयोगी बन्दै आएको थियो ।

दरमखोलाको बाढीले बागलुङको गलकोट नगरपालिका–७ मल्मका युवा उद्यमी थापाको रिसोर्टसहित त्यस क्षेत्रमा ल्याएको विपद्को कहर बुझ्न त्यही तस्बिर नै प्रयाप्त थियो । त्यो देखेपछि धेरै आफन्त र शुभेच्छुकले उनलाई सहानभूति मात्र दिएनन् । सङ्कटका बेला हार नखान ढाडस दिए । कतिले साथ र सहयोगको बचन दिए । थापा अहिले आफूलाई सम्हाल्दै छन् । झण्डै दुई करोडको लगानीमा बनेको रिसोर्टलाई पुनःसञ्चालनमा ल्याउन हिम्मत बटुलिरहेका छन् ।

गलकोट नगरपालिका–३ चिसापानीमा रहेको उक्त रिसोर्ट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा समेत विकास भइरहेको थियो । थापाले छ वर्षअघि जिल्लामै पहिलोपटक पौडी पोखरीसहितको रिसोर्ट सञ्चालनमा ल्याएका थिए । रेम्बो ट्राउट जातको माछापालनका कारण पनि चिसापानीको अलग्गै पहिचान बनेको थियो । थापाले पर्यटकको आकर्षणका लागि पिङ, बगैँचालगायतका संरचना निर्माण गरेका थिए ।

रेम्बो ट्राउट र स्थानीय दरमखोलाको असला माछाका परिकारका लागि रिसोर्ट परिचित थियो । प्राकृतिक वातावरण रुचाउने पर्यटकको बासका लागि पनि परम्परात शैलीको घर पनि निर्माण गरिएको थियो । थापा निकट भविष्यमा ‘स्काइ साइक्लिङ’ र ‘जिपलाइन’ सञ्चालन गर्ने योजनामा थिए । ‘कोभिड–१९’ महामारीपछि रिसोर्ट विस्तारै व्यावसायिक रूपमा सफल हुँदै थियो । पर्यटक र पाहुनाको आकर्षण बढेको थियो ।

सुरुमा रु एक करोड लगानीबाट सुरु गरिएको व्यवसायमा अहिले रु दुई करोड बढी लगानी पुगिसकेको थापाले बताए । “रिसोर्टमा बर्सेनि नयाँनयाँ संरचना थप्दै ल्याएको थिएँ, अहिलेको बाढीले सबै सपना क्षणभरमै चकनाचूर पार्‍यो”, उनले भने, “प्रकृतिसँग कसैको केही नचल्ने रहेछ, देशविदेशमा रहनुभएका साथीभाइ र आफन्तको साथ–सहयोग र हौसलाले फेरि उठ्ने प्रयासमा छु, नयाँ सोच र नयाँपनका साथ रिसोर्ट पुनःसञ्चालनमा आउनेछ ।”

बाढीले पौडीपोखरी, रेष्टुरेण्ट, बगैँचासहित रिसोर्टका मुख्य संरचनामा क्षति पुर्‍याएको थापाले बताए । पुनःनिर्माणमा झण्डै एक करोड खर्च लाग्ने देखिएको उनको भनाइ छ । दरमखोला किनारमा रहेको रिसोर्टको जग्गामा बाढीले कटान गरेकाले तटबन्धलगायतका काममा पनि ठूलो खर्च हुने थापाले बताए । विदेश जाने सोच त्यागेर घरगाउँमै बसेर उद्यमी बन्ने थापाको आँट र योजना देखेर धेरैले उहाँको प्रशंसा गर्ने गरेका छन् । रिसोर्टमा सात जनाले रोजगारी गर्दै आएका थिए । अहिले उनीहरूको रोजीरोटी पनि खोसिएको छ ।

“व्यवसायलाई फेरी उठाउनुपर्छ भनेर देशविदेशबाट आफन्त र शुभेच्छुकहरूले स्वतःस्फूर्त रूपमा सहयोग गरिरहनुभएको छ”, थापाले भने, “सबैले हामी साथमा छौँ भन्नुभएको छ, हिम्मत दिनुभएको छ, पुनःनिर्माणपछि छिट्टै रिसोर्ट सञ्चालनमा आउनेछ ।” गलकोट नगरपालिकासहित राज्यका निकायबाट थोरै भएपनि राहत पाउनेमा आफू आशावादी रहेको उनले बताए ।

बाढीले रेम्बो ट्राउट र स्थानीय जातको माछापालनका लागि बनाइएका पोखरीमा भने क्षति पुर्‍याएको छैन । रिसोर्ट करिब २७ रोपनी क्षेत्रफलमा फैलिएको छ । रेम्बो ट्राउटका ३० हजार भुरा छाड्न मिल्ने गरी बनाइएका दश पोखरीले ठूलो क्षेत्रफल ओगटेका छन् । उक्त स्थानमा रहेको पानी परीक्षणपछि उपयुक्त देखिएपछि थापाले ट्राउट माछाापलन सुरु गरेका थिए ।

ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । दरमखोलाको असला माछा पनि त्यस क्षेत्रमा प्रख्यात छ । उक्त माछाको सुकुटी देशविदेशमा कोशेलीको रूपमा लैजाने गरिन्छ । होटल, रेष्टुराँमा पनि असला माछाको रोजाइँ अत्यधिक छ ।

आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्ट खोलेको थापाको भनाइ छ । केही वर्षअघि पौडी पोखरीमा भलिबल प्रतियोगिता सञ्चालन गरेपछि उक्त रिसोर्ट चर्चामा आएको थियो । पछिल्लो समय चाडपर्व र बिदाका बेलामा रिसोर्ट घुम्न आउनेको सङ्ख्या उल्लेख्य रहने गरेको थियो । रिसोर्टलाई गलकोट–३ हटिया बजार र गलकोट–७ मल्मको आँगाखेत तर्फबाट सडकले जोडेकाले आउजाउ गर्न पनि सहज छ ।

यही असोज ८ गतेदेखि ११ गतेसम्मको निरन्तरको वर्षाले दरमखोलामा आएको बाढीले व्यावसायिक संरचनासहित घरगोठ, खेत, सडक, भवनलगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । नगरभित्र करिब तीन सय रोपनी क्षेत्रफलको धानबाली बाढीसँगै बगेको उनको भनाइ छ । वडा नं। ९ को कार्यालय भवनसँगै ६३ घरमा पूर्ण रूपमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । बाढीपहिरोमा परी बागलुङ जिल्लाभर १५ जनाको ज्यान गएको छ भने ठूलो भौतिक क्षति भएको छ । रासस

सिंगापुरले फिनटेक क्षेत्रका लागि २२ करोड सिंगापुर डलर लगानी गर्ने

सिंगापुर। सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा नवप्रवर्तनलाई तीव्र बनाउन २२ करोड सिंगापुर डलर (करिब १७ करोड ३० लाख अमेरिकी डलर) लगानी गर्ने भएको छ।

सिंगापुरका उपप्रधानमन्त्री तथा व्यापार तथा उद्योगमन्त्री एवं एमएएसका अध्यक्ष गान किम योङले सोमबार यस्तो घोषणा गरेका हुन्। तीन वर्षमा खर्च गरिने उक्त रकम वित्तीय क्षेत्र प्रविधि तथा नवप्रवर्तन (एफएसटीआई) योजनाको चौथो चरणअन्तर्गत परिचालन हुनेछ।

यो योजनाको उद्देश्य सिंगापुरलाई प्रतिस्पर्धी र जीवन्त फिनटेक केन्द्रका रूपमा थप बलियो बनाउनु हो। योजनाले वित्तीय क्षेत्रमा नयाँ प्रविधि अपनाउन आवश्यक पूर्वाधार निर्माण, प्रविधिको विकास तथा दक्ष जनशक्ति उत्पादन र आकर्षणमा सहयोग गर्ने एमएएसले जनाएको छ।

तीन वर्षमा कम्तीमा १ हजार इन्टर्नसिप

एमएएसका अनुसार योजनाले सिंगापुरको फिनटेक क्षेत्रमा युवा प्रतिभाको निरन्तर आपूर्ति सुनिश्चित गर्न सहयोग गर्नेछ। त्यसका लागि इन्टर्नसिप भत्तामा सह-वित्तीय सहयोग उपलब्ध गराइनेछ र आगामी तीन वर्षमा कम्तीमा १ हजार फिनटेक इन्टर्नसिप सिर्जना गर्ने लक्ष्य राखिएको छ। यसका लागि सिंगापुर फिनटेक एसोसिएसनले व्यवस्थापन गर्ने फिनटेक इन्टर्नसीप पोर्टल सञ्चालनमा ल्याइएको छ। पोर्टलले उच्च शिक्षण संस्थाका विद्यार्थीलाई फिनटेक कम्पनीसँग जोड्नेछ।

कम्तीमा तीन महिनाको पूर्णकालीन वा आंशिककालीन इन्टर्नसिपमा सहभागी हुने विद्यार्थीका लागि निश्चित सिकाइ उपलब्धि तय गरिनेछ। योग्य कम्पनीले प्रत्येक इन्टर्नका लागि मासिक भत्ताको ८० प्रतिशतसम्म, अधिकतम १ हजार सिंगापुर डलर प्रतिमहिना प्राप्त गर्न सक्नेछन्। एउटै कम्पनीले एक वर्षमा बढीमा १० जना इन्टर्नका लागि यस्तो सहयोग पाउनेछ।

एआई र नयाँ प्रविधिमा विशेष जोड

एफएसटीआई ४।० अन्तर्गत संस्थागत नवप्रवर्तन, एआई प्रविधि अपनाउने, पूर्वाधार तथा प्लेटफर्म र प्रतिभा विकासलगायत छवटा क्षेत्रमा कार्यक्रम सञ्चालन हुनेछ।

एमएएसले कृत्रिम बुद्धिमत्ता (एआई), डिस्ट्रिब्युटेड लेजर प्रविधि र क्वान्टम प्रविधि जस्ता अग्रणी प्रविधिमा विशेष ध्यान दिने जनाएको छ।

योजनाअन्तर्गत वित्तीय संस्था तथा फिनटेक कम्पनीले विकास र प्रयोग गर्ने नवीन प्रविधिमा सहयोग उपलब्ध हुनेछ। त्यस्ता परियोजनाले व्यावसायिक प्रभाव, प्राविधिक सम्भाव्यता र नवप्रवर्तनको स्पष्ट आधार देखाउनुपर्नेछ।

एआई पाथफाइन्डर कार्यक्रमले बजारमा परीक्षण भइसकेका एआई समाधानको प्रयोगलाई तीव्र बनाउनेछ। त्यस्तै, पूर्वाधार तथा प्लेटफर्म कार्यक्रमले वित्तीय क्षेत्रको दक्षता, उत्पादकत्व र नवप्रवर्तन बढाउने उद्देश्य राखेको छ।

१ हजार ८ सयभन्दा बढी फिनटेक कम्पनी

उपप्रधानमन्त्री गानका अनुसार सिंगापुरमा अहिले १ हजार ८ सयभन्दा बढी फिनटेक कम्पनी सञ्चालनमा छन्। तीमध्ये धेरै कम्पनी क्षेत्रीय बजार हुँदै विश्व बजारसम्म पुगेका छन्।

फिनटेक क्षेत्रमा करिब १० हजार मानिस कार्यरत रहेको उनले बताए। सन् २०२५ मा मात्रै सिंगापुरको फिनटेक क्षेत्रमा करिब ३ अर्ब सिंगापुर डलर लगानी भएको थियो।

सन् २०१५ मा सुरु गरिएको एफएसटीआई योजनाअन्तर्गत अहिलेसम्म ३५० भन्दा बढी फिनटेक परियोजनालाई सहयोग गरिएको छ।

जनशक्तिको अभाव प्रमुख चुनौती

सिंगापुरको फिनटेक उद्योगले दक्ष जनशक्तिको अभाव र कर्मचारी पलायनको चुनौती सामना गरिरहेको छ। सिंगापुर फिनटेक एसोसिएसनको सन् २०२५ को प्रतिभा प्रतिवेदनअनुसार एआई, डाटा साइन्स, साइबर सुरक्षा र क्लाउड आर्किटेक्चर क्षेत्रमा दक्ष जनशक्तिको उल्लेख्य अभाव छ।

कम्पनीहरूले दक्ष कर्मचारी नियुक्त गर्न लामो समय लाग्ने, उच्च पारिश्रमिकको अपेक्षा र करिअर विकास तथा पारिश्रमिकसँग सम्बन्धित कारणले कर्मचारी टिकाउन कठिन हुने समस्या भोगिरहेका छन्।

नयाँ प्रविधिका लागि थप आर्थिक सहयोग

एफएसटीआई ४।० अन्तर्गत योग्य भूमिकामा कार्यरत जनशक्तिको खर्चका लागि सिंगापुरका नागरिकलाई ५० प्रतिशतसम्म र गैरनागरिक, स्थायी बासिन्दासहितका लागि २५ प्रतिशतसम्म सहयोग उपलब्ध हुनेछ। यस्तो सहयोग बढीमा २४ महिनासम्म उपलब्ध हुनेछ।

त्यस्तै, ग्लोबल फिनटेक ह्याकसेलेरेटरका योग्य अन्तिम प्रतिस्पर्धीले आफ्ना समाधान थप विकास तथा परीक्षण गर्न ५ लाख सिंगापुर डलरसम्मको स्केल–अप अनुदान प्राप्त गर्न सक्नेछन्।

एमएएसका अनुसार योजनाको सुरुवातदेखि ह्याकसेलेरेटरका प्रतिस्पर्धीले ३।८ अर्ब सिंगापुर डलरभन्दा बढी लगानी जुटाइसकेका छन् भने ३० भन्दा बढी ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना भएका छन्।

अघिल्ला चरणमा पनि ठूलो लगानी

एफएसटीआई योजनाको तेस्रो चरणमा सन् २०२३ देखि २०२६ सम्मका लागि १५ करोड सिंगापुर डलर प्रतिबद्ध गरिएको थियो।

दोस्रो चरणमा सन् २०२० देखि २०२३ सम्म २५ करोड सिंगापुर डलर लगानी गरिएको थियो। कोभिड–१९ महामारीका समयमा साना वित्तीय संस्थालाई दूरस्थ काममा रूपान्तरण गर्न पनि यसले सहयोग गरेको थियो।

पहिलो चरणमा सन् २०१५ देखि २०२० सम्म २२ करोड ५० लाख सिंगापुर डलर लगानी गरिएको थियो। त्यस चरणले सिंगापुरलाई प्रमुख फिनटेक केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरेको थियो।

सिंगापुर फिनटेक एसोसिएसनले नयाँ योजनाले नवप्रवर्तनमा मात्र नभई प्रविधिको व्यावसायीकरण र विस्तारमा समेत जोड दिएको भन्दै स्वागत गरेको छ। फिनटेक उद्योगका प्रतिनिधिहरूले भने अहिलेको चुनौती नयाँ प्रविधि विकास गर्नु मात्र नभई राम्रा समाधानलाई वास्तविक बजारमा प्रयोग र ठूलो स्तरमा विस्तार गर्नु रहेको बताएका छन्। एआईमा केन्द्रित नयाँ कार्यक्रम र अनुदानले कम्पनीलाई नयाँ उत्पादन विकासमा थप लगानी गर्न प्रोत्साहित गर्ने उनीहरूको भनाइ छ।

सिंगापुर सरकारले भने हङकङलगायत अन्य क्षेत्रीय वित्तीय केन्द्रसँगको प्रतिस्पर्धालाई ‘शून्य–योग’ खेलका रूपमा नहेरेको जनाएको छ। सिंगापुर अझ सक्षम हुँदै जाँदा त्यसबाट क्षेत्रीय वित्तीय उद्योग र प्रविधि क्षेत्रले समेत लाभ लिन सक्ने सरकारको विश्वास छ। स्रोत सिएनए

 

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् ।

उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए ।

डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी समय लागेको छ । उनले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको जानकारी दिए । यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको उनको भनाइ छ ।

डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गर्नुभएका रोकाया यही असोज १७ गते साँझ जोमसोम आइपुग्नुभएको हो । हाल भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ ।

रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा निकै कठिन भएको उनले बताए ।

माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएको रोकायाले बताउनुभयो । नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनको भनाइ छ ।

डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडा च्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै रोकायासहितको टोली च्याङ्ग्रा लिएर जोमसोम आइपुगेको हो । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको रोकायाले बताए ।

च्याङ्ग्रा व्यापारी शेरबहादुर रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन् । गत वर्ष ११ हजार बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो ।

बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने व्यापारी रोकायाले बताए । “हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ । दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो”, उनले भने । रासस

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

कास्की । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन् ।

निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीको भनाइ छ ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक ३०० हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन् । एबिसीमा पर्यटकलाई राख्न सकिने ६ वटा होटल तथा लज रहेका छन् । यहाँका होटलमा ३५० सम्म पर्यटक राख्न सक्ने क्षमता छ । “स्वदेशी पर्यटक छैनन् तर विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ । अहिले यहाँ आउने सबै सडकहरु पनि खुलेका कारणले पदयात्रा सहज भएको छ,” गुरुङले भने ।

यसअघि वर्षा र बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो । अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सडक अवरुद्ध भएको थियो । गाउँपालिकाले झन्डै डेढ महिना लगाएर असोज पहिलो साता सडक खुलाएको हो ।

मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सडक तथा पदयात्रा मार्ग पहिरोका कारण अवरुद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेको सचिव गुरुङले बताउनुभयो । “मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ । त्यसकारण पनि साउथ एसियन मुलुकका पर्यटकको पर्यटकको रोजाइ एबिसीमा बढेको हो । नेपाली पर्यटन दसैँ सुरु भएपछि आउने अपेक्षामा छौँ,” छोम्राङ पर्यटन व्यवस्थापन समितिका सचिव गुरुङले भने ।

अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्न पनि सहज भएको छ । सडक यातायात सहज हुनु र पदयात्रा मार्गमा समेत अवस्था सामान्य बन्दै जानुले पर्यटकको आवागमन बढाएको हो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पोखरादेखी–घान्द्रुक–एबिसीसम्मको सबै सडक अहिले खुला रहेको बताउनुभयो । उहाँले कतिपय स्थानमा अस्थायी प्रबन्ध गरेर भए पनि पदमार्ग खुला गरिएको बताए ।

“बिरेठाँटी र स्याउली बजार खुल्यो । घान्द्रुकबाट माथि पनि अब समस्या छैन । अब एबिसी ट्रेक आउने स्थायी र अस्थायी सबै सडक खुलेको । नयाँपुल, घान्द्रुक, छोमरुङ सबै ठाउँबाट आउन सकिन्छ,” वडाध्यक्ष गुरुङले भने ।

यसैगरी, दुई महिनाअघि किम्रुङखोलाले पक्की झोलुङ्गे पुल बगाएर अवरुद्ध बनेको पदमार्ग किम्रुङ खोलामाथि काठे फड्के निर्माण गरी पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट करिब चार हजार १३० मिटरको उचाइमा रहेको छ । हिमालको काखमै पुगेर अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ«े हिमालको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले एबिसी पदयात्रा विश्वका चर्चित पदयात्रा गन्तव्यमा मानिन्छ ।

विशेषगरी हिमालको नजिकबाट सूर्योदय तथा हिमशृङ्लाको दृश्यावलोकन, स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्न सकिने भएकाले एबिसी पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, स्थानीय जीवनशैली, हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला र हिमाली भू–दृश्यको अवलोकन गर्न पाउँछन् ।

माछापुच्छ«े आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो । पदयात्राका क्रममा माछापुच्छ«े, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम लगायतका हिमालहरु नजिकबाट अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेसँगै गाउँपालिकाले पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर हालै प्राथमिक उपचार केन्द्र पनि सञ्चालनमा ल्याएको छ ।

माछापुच्छ«े बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । केन्द्रबाट एबिसी तथा माछापुच्छ«े बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीबाट तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराउन सहज हुनेछ ।

एबिसी पदयात्रामा आउने पर्यटकहरु बिरामी पर्ने तथा हाई अल्टिच्युड ९उच्च उचाइ०का कारणले लेक लागेर ज्यान पनि जाने गरेको थियो । रासस

अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

भद्रपुर । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ ।

निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार दैनिक सातदेखि ८०० मिटर कालोपत्र भइरहेको छ । “अझै चार महिना बाँकी छ । त्यसबेला सम्ममा ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,” उनले भने ।

सडक निर्माणको तुलनामा पुलतर्फको प्रगति भने केही कम छ । आयोजना प्रमुख पन्तका अनुसार पुल निर्माणको समग्र प्रगति हाल ३१ प्रतिशत छ । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काईमा पनि निर्माण जारी छ । पश्चिम खण्डमा रतुवा, बक्राहा र लोहन्द्रामा पनि धमाधम पुल बनिरहेका छन् ।

आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्टको काम सम्पन्न भइसकेको छ भने बाँकी सडक स्तरोन्नति, पुल तथा ओभरपास निर्माणलाई एकैसाथ अघि बढाइएको छ । पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना छ । चारआलीको जङ्गल क्षेत्रमा हात्तीका लागि अन्डरपास तथा पैदलयात्रीका लागि छ वटा क्रसिङ निर्माण हुनेछन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण तथा स्तरोन्नति जारी छ । पूर्वी खण्डअन्तर्गत ४५ किलोमिटर काँकरभिट्टा–सितापुरी स्तरोन्नतिका लागि रु १० अर्ब छ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएको छ । रासस

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए ।

राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेर आएको सूचना पुगेपछि तत्काल महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान निर्देशन दिइयो । प्रहरीले चौकी छाडेर आसपासका स्थानीयलाई समेत बस्तीबाट सुरक्षित स्थानमा जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बजारमा पस्यो ।

बाढीले पर्वततर्फ नौ घर बगाएको र झण्डै ५० घर डुबानमा परेको स्थानीयले बताएका छन् । सँगै जोडिएको स्याङ्जाको गल्याङ नगरपालिका–५ को बजार क्षेत्रसमेत पूर्ण रूपमा डुबानमा परेको थियो ।

स्याङ्जातर्फका करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका छन् । अहिले ती क्षेत्रमा बालुवा र गिटी थुप्रिएर बगरमा परिणत भएको स्थानीय रेशमलाल न्यौपानेले बताए । “असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ । कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,” उनले भने ।

बाढीले प्रहरी चौकीसहित खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल तथा होटलमा क्षति पुर्‍याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत संस्थासमेत डुबानमा परेका छन् । न्यौपानेका अनुसार पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको छ ।

गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले करिब रु ३० लाख बराबरको क्षति भएको बताए । स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताए ।

स्थानीय होटल व्यवसायी उमाकान्त न्यौपानेले घरसहित रु ४० लाखभन्दा बढीको क्षति भएको बताए । “अन्यत्र जाऊँ भने जग्गाजमिन छैन । यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ । जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,” उनले भने । उनी अहिले परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् ।

स्थानीय अगुवा व्यवसायी रेशमलाल न्यौपानेले घर तथा विभिन्न व्यवसायमा भएको क्षतिसमेत जोड्दा पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको जानकारी दिए । बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ ।

स्याङ्जातर्फको बजार क्षेत्र पनि बाढीपछि खण्डहरमा परिणत भएको छ । यहाँ सानाठूला गरी करिब २५ घरमा क्षति पुगेको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आउनुभएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी बाढीले क्षणभरमै बगाएको बताए । उनका अनुसार करिब रु ५० लाखभन्दा बढीका सरसामान बाढीले बगाएको छ ।

गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको रु १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको उनले जानकारी दिए । बाढीले स्थानीय मन्दिर, सत्तल, शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्‍याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको उनले बताए ।

वर्षौँदेखिको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब अन्यत्र बसाइँ सर्ने वा सोही स्थानमा पुनः घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा उनीहरू अन्योलमा छन् ।

राससका अनुसार, स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीले बजार क्षेत्र असुरक्षित बनाएपछि स्थानीय नयाँ ठाउँमा जाने वा जोखिम मोलेर पुनः सोही ठाउँमा बस्ने भन्ने विषयमा अन्योलमा रहेको बताए ।

सहकारीको ऋण उठाउन न्यायाधिकरण सक्रिय : २७ मुद्दाबाट ११ करोड असुली

काठमाडौं। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीमाथि कारबाही अघि बढाउँदै कर्जा असुली न्यायाधिकरण कार्यालयले हालसम्म करिब ११ करोड रुपैयाँ असुली गरेको छ।

गत वर्ष असार २५ गते स्थापना भएको न्यायाधिकरणले गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको असोज १५ गतेसम्म २७ वटा मुद्दाको मिलापत्र तथा फैसला कार्यान्वयनबाट उक्त रकम असुली गरेको हो।

सहकारी संस्थाले ऋणीबाट उठाउन नसकेको कर्जा असुल गराउन न्यायाधिकरणमा उजुरी दिन सक्ने व्यवस्था छ। उजुरी परेपछि न्यायाधिकरणले प्रारम्भिक कारबाही, पेशी र सुनुवाइ गर्दै तोकिएको कानुनी प्रक्रियाबाट मुद्दाको किनारा लगाउने गरेको छ।

सहकारी क्षेत्रका लागि कर्जा असुलीसम्बन्धी विवाद हेर्ने यो पहिलो न्यायाधिकरण हो। सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ मा व्यवस्था भए पनि लामो समय कार्यान्वयन हुन नसकेको कर्जा असुलीसम्बन्धी संयन्त्र गत वर्षदेखि सञ्चालनमा आएको हो।

न्यायाधिकरण कार्यालय प्रमुख अच्युत श्रेष्ठका अनुसार यसको मुख्य उद्देश्य सहकारीको जोखिममा रहेको कर्जा छिटो असुल गराउनुका साथै सहकारी क्षेत्रमा वित्तीय अनुशासन र सुशासन कायम गर्न सहयोग गर्नु हो। यसले अदालतमा पर्ने मुद्दाको चाप घटाउनसमेत सहयोग गर्ने अपेक्षा गरिएको छ।

अदालतमा कर्जा असुलीसम्बन्धी मुद्दा लामो समयसम्म चल्न सक्ने भए पनि न्यायाधिकरणले त्यस्ता विवादलाई तुलनात्मक रूपमा छिटो र सरल प्रक्रियाबाट टुंग्याउने व्यवस्था गरेको छ। आवश्यकताअनुसार ऋणी र सहकारीबीच मेलमिलापमार्फत विवाद समाधान र ऋण चुक्ता गर्ने वातावरण समेत बनाइन्छ।

न्यायाधिकरणले तोकिएको समयमा साँवा–ब्याज नतिर्ने, भाका नाघेपछि पनि आलटाल गर्ने तथा सहकारीको कर्जा फिर्ता नगर्ने ऋणीविरुद्ध संस्थाले दायर गर्ने उजुरी तथा मुद्दा लिने गरेको छ।

कार्यालयका अनुसार पछिल्लो समय मुद्दाको संख्या तीव्र गतिमा बढिरहेको छ। मुद्दाको चापअनुसार आवश्यक जनशक्ति र कार्यालय व्यवस्थापन गर्नु चुनौतीपूर्ण बन्दै गएको कार्यालयले जनाएको छ।

यसअघि बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीसम्बन्धी विवाद हेर्न ऋण असुली न्यायाधिकरण भए पनि सहकारीको कर्जा असुलीका लागि छुट्टै निकाय थिएन। नयाँ न्यायाधिकरण सञ्चालनमा आएपछि सहकारीले लामो कानुनी प्रक्रियामा अल्झिनुपर्ने अवस्था केही हदसम्म घट्ने अपेक्षा गरिएको छ।

न्यायाधिकरणले नागरिक बडापत्र, उजुरी तथा निवेदनका ढाँचा र कार्यविधि अनलाइन उपलब्ध गराउने, वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशासन प्रवद्र्धन गर्ने कामसमेत गर्दै आएको छ।

जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ । नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, रोग तथा परजीवीको सङ्क्रमण, साना खपटेको प्रकोप र अव्यवस्थित मह सिकारका कारण मौरीपालन तथा जङ्गली मौरी संरक्षण दुवै चुनौतीपूर्ण बन्दै गएको छ ।

मौरीपालन विकास केन्द्र, भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईंका अनुसार मौरीपालक किसानले पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै चरनको अभाव, रोग तथा परजीवीको सङ्क्रमण र साना खपटेको प्रकोपजस्ता समस्या एकैसाथ सामना गर्नुपरेको छ ।

वरिष्ठ मह क्षेत्र विकास विज्ञ सुरेन्द्रराज जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार नेपालभर दुई लाख ७६ हजार मौरीका घारबाट चार हजार २७८ टन मह उत्पादन भएको छ । यसअनुसार प्रतिघार औसत मह उत्पादन १५ दशमलव ५ किलोग्राम र प्रतिव्यक्ति वार्षिक मह उपलब्धता करिब १४३ ग्राम मात्र रहेको छ । उहाँका अनुसार नेपालमा उत्पादन हुने कुल महमध्ये एपिस मेलिफेराले ६५ प्रतिशत, एपिस सेरेनाले २८ प्रतिशत र जङ्गली मौरी ९खागो, भीर तथा पुत्का मौरी० ले सात प्रतिशत योगदान गरेका छन् ।

देशको वनजङ्गल, खेती प्रणाली र प्राकृतिक चरन क्षमतालाई हेर्दा नेपालमा १० लाखसम्म मौरीका गोला पाल्न सकिने क्षमता रहेको विज्ञ जोशीले बताए । उचित व्यवस्थापन र प्रवर्द्धन गर्नसके वार्षिक २० हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन गर्न सकिने उहाँको भनाइ छ । हाल देशभर करिब १६ हजार ५०० घरपरिवार प्रत्यक्ष रूपमा मौरीपालनमा आबद्ध छन् ।

बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव सुधीर श्रेष्ठले महको प्याकेजिङ पारिवारिक तथा उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिए । उनले महको गुणस्तर कायम गर्दै आकर्षक प्याकेजिङ र प्रभावकारी प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए। चिउरीबाट ठूलो परिमाणमा मह उत्पादन गर्न सकिने भएकाले चिउरी प्रवर्द्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो । सचिव श्रेष्ठले चिउरीलगायत वनस्पतिबाट ठूलो परिमाणमा मह उत्पादन गर्न सकिने भएकाले चिउरीलगायत वनस्पति चरन क्षेत्रमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । प्रदेशले महको प्याकेजिङ र प्रवर्द्धनमा जोड दिइरहेको उल्लेख गर्दै उनले किसानले सोहीअनुसारका योजना ल्याएमा प्रदेश सरकारले मह उत्पादनमा संलग्न किसानलाई आवश्यक सहयोग गर्ने बताए।

व्यावसायिक मौरीपालनको विस्तारसँगै नेपालका स्थानीय तथा जङ्गलीमौरी संरक्षणलाई समेत प्राथमिकता दिनुपर्ने अवस्था रहेको अमगाईंले बताए । नेपालमा पाइने खागो मौरी ९एपिस डोर्साटा०, भीर मौरी ९एपिस लेबरियोसा० तथा पुत्का मौरीको प्राकृतिक बासस्थानमा आएको परिवर्तन र अवैज्ञानिक रूपमा गरिने मह सिकारका कारण तिनको सङ्ख्यामा कमी आउन थालेको सचिव श्रेष्ठले उनको भनाइ छ ।

खागो मौरी र भीर मौरी विशेषगरी ठूला रूख तथा भीरपहरामा गोला बनाएर बस्ने गर्दछन् । भीर मौरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ भने खागो मौरी तराई तथा मध्यपहाडी क्षेत्रमा पाइन्छ । मौरीपालन विकास केन्द्रले भीर मौरीको महत्व, संरक्षण र मह सङ्कलनका विषयमा विभिन्न समयमा सचेतना तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको अमगाईंले बताए ।

जथाभावी मह सिकार गर्दा मौरीको गोला तथा चाका नष्ट हुने भएकाले जङ्गली मौरीको प्राकृतिक बासस्थान र चरन क्षेत्र संरक्षण गर्नुपर्ने अमगाईंले बताए । मौरीको चरनका लागि वनजङ्गल तथा कृषि क्षेत्रमा उपलब्ध फूल, पुष्परस र परागकणको महत्वपूर्ण भूमिका रहने भएकाले वर्षभरि चरन उपलब्ध हुनेगरी वनस्पति व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा तथा अन्य वातावरणीय प्रतिकूलताले मौरीको चरन प्रभावित भएको अमगाईंले बताए । पहाडी क्षेत्रमा असामान्य वर्षाका कारण चरन क्षेत्र नष्ट हुँदा रानी मौरी उत्पादन तथा समागममा समस्या देखिएको उनले बताए । यही वर्ष चितवनमा अत्यधिक वर्षा र बाढीका कारण करिब एक हजार मौरीका घारगोला डुबानमा परी क्षति भएको उनले जानकारी दिए ।

व्यावसायिक मौरीपालनमा मौरीको घारमा लाग्ने साना खपटे पनि पछिल्लो समय थप चुनौतीका रूपमा देखिएको अमगाईंले बताए । गत वर्षदेखि किसानले यो किरा देखिएको जानकारी गराउँदै आएकामा यस वर्ष यसको प्रकोप व्यापक बनेको र चितवनलगायत देशका अधिकांश जिल्लामा देखिएको उनले बताए । प्रारम्भिक अनुमानअनुसार यस किराले करिब तीनदेखि पाँच प्रतिशत घारमा क्षति पु¥याएको छ ।

त्यस्तै, एपिस सेरेना मौरीमा विभिन्न भाइरस, जीवाणु तथा परजीवीको सङ्क्रमणसमेत देखिएको छ । पाँच वटा मौरीका नमुनामा गरिएको आरटी–पिसीआर परीक्षण तथा भाइरोम विश्लेषणमा पाँचवटै नमुनामा ब्ल्याक क्विन सेल भाइरस, चार वटामा काश्मिर बी भाइरस र स्याकब्रुड भाइरस, तीनवटामा डिफम्र्ड विङ भाइरस तथा एउटामा एक्युट बी प्यारालाइसिस भाइरस भेटिएको छ । त्यस्तै, दुई वटा एपिस सेरेना नमुनामा युरोपियन फलब्रुड र दुई वटामा नोसेमा परजीवीको सङ्क्रमण देखिएको छ ।

चरनको अभावका कारण मौरीलाई भोकमरीबाट जोगाउन कृत्रिम आहारको व्यवस्था गर्नुपर्ने हुन्छ । मौरीलाई सक्रिय राख्न चिनीको चास्नी तथा परागकणजस्ता कृत्रिम आहार दिनुपर्ने र सङ्कटको समयमा सेरेना मौरीको घारबाट मह ननिकाल्न कृषकलाई सुझाव दिइएको अमगाईंले बताए ।

मौरीपालन विकासका लागि चरन क्षेत्रको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको विज्ञ जोशीले बताए। सर्वेक्षणअनुसार ५६ दशमलव ५ प्रतिशत मौरीपालकले चरन क्षेत्रको अभावलाई प्रमुख समस्याका रूपमा लिएका छन् । मौरीपालकको तथ्याङ्क तथा दर्ता प्रणालीको अभाव र चरन क्षेत्रको भारवहन क्षमताको वैज्ञानिक अध्ययन नहुनु पनि समस्या रहेको उनको भनाइ छ ।

मौरी, मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली र कृषि एकअर्कामा अन्तरनिर्भर रहेकाले ‘एक स्वास्थ्य दृष्टिकोण’ अपनाएर बहुसरोकारवाला निकायबीच समन्वय गर्नुपर्नेमा जोशीले जोड दिए । उनका अनुसार व्यावसायिक मौरीपालन विस्तारसँगै जङ्गली मौरीको प्राकृतिक बासस्थान र चरन क्षेत्र संरक्षणलाई समान प्राथमिकता दिनसकेमा मह उत्पादन बढाउनुका साथै कृषि उत्पादन र जैविक विविधता संरक्षणमा समेत योगदान पुग्नेछ । रासस फिचर

‘त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो’- डा. बाबुराम भट्टराई

विचारः डा. बाबुराम भट्टराई

भोटेकोशी विपत्तिलाई सामान्य बाढी मात्रै ठान्नु उपयुक्त हुँदैन । यो बाढी होइन, यो त हिमाली महाविपत्ति हो । हिमालको बरफ र चट्टानको पहिरो नदी तालमा ठोक्किएर, सबै बगेर ढुङ्गामुढा र गेग्रानसहितको जलप्रलय भयो । यस्तो घटना बिसवको विपद्को इतिहासको असाध्यै बिरलै भएको परिघटना हो । वातावरणीय विनाशले गर्दा आगामी दिनमा यस खालका समस्या झन् बढ्ने सम्भावना रहन्छ । नेपालजस्तो कम विकसित र गरिब देशमा यसखालका घटना हुँदा भौतिक, मानवीय र सामाजिक रुपमा ठूलो क्षति पुगेको छ । भोटेकोशी बाढीले रसुवागढीदेखि तटीय क्षेत्रसम्म पुर्‍याएको क्षतिको प्रारम्भिक अनुमान झण्डै रु चार खर्ब छ ।

उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडिएनए० प्रतिवेदनअनुसार पुनर्निर्माण एवं पुनःस्थापनाका लागि रु सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यकपर्ने अनुमान छ । त्यो त आर्थिक क्षतिको विषय भयो । बाढीबाट जुन खालको मानवीय क्षति भयो, परिवार छिन्नभिन्न भए, बालबालिका अभिभावकविहीन भएका छन्, जलविद्युत्जस्ता ठूला, रुपान्तरणकारी पूर्वाधार आयोजना ध्वस्त भएका छन्, यसले परिवारदेखि राष्ट्रिय अर्थतन्त्रमै दूरगामी नकारात्मक असर पारेको छ ।

घटना भएको केही दिनपछि म प्रभावित क्षेत्र पुगेको थिएँ । आफूलाई लागेको सुझाव मैले त्यहाँ पनि सरोकारवालालाई दिएँ । अब सरकार र अन्य निकायलाई भन्न चाहन्छु– यो विपत्तिबाट सिकेर अब आगामी दिनमा जुन हिमाल पग्लने र यस्तो विपत्ति आउने बढी खतरा हुन्छ, त्यसलाई ध्यान दिँदै सम्पूर्ण देशको नै एउटा भू–उपयोग योजना बनाउनुपर्छ । कुन ठाउँ केका निम्ति प्रयोग गर्ने रु बस्तीको निम्ति कुन भूगोल उपयुक्त हुन्छ, खेतीपातीका लागि कुन उपयुक्त हुन्छ, उद्योगधन्दाका लागि कुन उपयुक्त हुन्छ भन्ने वैज्ञानिक अनुसन्धानबाट निष्कर्षमा पुग्नुपर्छ । यी आधारमा मात्रै विकासको बाटो अगाडि लानुपर्छ । म आफैँ एउटा सहरी तथा क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले पनि यसको सुरुआत त्रिशूली करिडोरबाट गर्नुपर्छ भन्ने लाग्दछ । त्रिशूली करिडोरको एकीकृत ढङ्गले नै एउटा गुरुयोजना बनाएर काम गर्नुपर्छ ।

विपद्बाट जति नागरिक विस्थापित भएका छन् तीनको पुनःस्थापना सँगसँगै त्यो करिडोरको नै नयाँ ढङ्गले विकास गर्नुपर्छ । यो क्षेत्र काठमाडौँबाट अलि नजिक र चीनसँग जोडिएको ऐतिहासिक र महत्वपूर्ण मार्ग पनि हो । त्यसैले यो विपत्तिले जुन क्षति गरेको छ, यसबाट पाठ सिकेर आगामी दिनमा त्रिशूली करिडोरलाई एउटा नमुना विकासका क्षेत्रका रुपमा अगाडि बढाउन सक्नुपर्छ । अब फेरि त्यहीँ ठाउँमा बस्ती बसाउने त रु भन्ने प्रश्न उठ्न सक्छ । सामान्य रुपमा बाढी आउँदा १०र१५ मिटर अधिकतम् भए २० मिटर भन्ने परिकल्पना होला तर यसपटकको बाढी कतिपय स्थानमा १०० मिटर माथिसम्म आएको छ । अब यस्तै १०० मिटर नै सबैतिर पुर्‍याउन त सकिन्न । तैपनि अब यसले पाठ त सिकायो नी । त्यसैले असाध्यै भिराला क्षेत्र तथा नदी किनारमा टाँसिएर बस्ती बसाल्न हुँदैन । हिजो हामीले बुद्धि नपुर्‍याएकै हो । भू–उपयोग योजनाअनुसार बस्ती क्षेत्र, कृषि क्षेत्र, विकासका पूर्वाधार निर्माण गर्ने क्षेत्र भनेर छुट्याएनौँ । विगतको यही कमजोरीका कारण यसपटक ठूलो जनधनको क्षति भोग्नुपर्‍यो । त्यसैले अब पहिले जियोलोजिकल र टोपोग्राफिकल सर्भे गर्नुपर्छ । त्यसपछि नै अहिलेको विज्ञान प्रविधिको उच्च प्रयोगबाट कुन जमिन के–का निम्ति उपयुक्त छ भन्ने कुरा पत्ता लाग्छ । अब त्यस आधारमा मात्रै नक्साङ्कन गरेर विकास निर्माण गर्नुपर्छ ।

एउटै घटनामा यति ठूलो क्षति भएपछि पुनर्निर्माणका लागि स्रोत कहाँबाट जुटाउने भन्ने प्रश्न उठ्न सक्छ । हाम्रो देश जहाँ प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जिडिपी) नै निकै पछाडि छ । त्यसले गर्दाखेरि भोटेकोशी बाढीले पारेको क्षतिलाई सहजै पूर्ति गर्न त गाह्रो छ । तैपनि हामीले सधैँ अर्कासँग हात फैलाएर मागेर मात्रै पनि    हुँदैन । त्यसैले अब हामीले नै हाम्रो जुन आन्तरिक साधन स्रोत छ, त्यसलाई ठीक ढङ्गले विन्यास र प्राथमिकीकरण गर्नुपर्छ । अर्को, यो घटना जलवायु परिवर्तनले ल्याएको महाविपत्ति हो । अन्तरराष्ट्रिय सम्मेलनबाट त्यसको क्षतिपूर्ति पाउने भन्ने व्यवस्था पनि छ । अलिकति प्रक्रिया पु¥याएर क्षतिपूर्तिका विषयलाई अगाडि बढाउन सक्यौँ भने, त्यो स्रोत जुट्न सक्छ । यसका साथै अपुग स्रोत विभिन्न मित्रराष्ट्रबाट सहयोगका रुपमा, न्यून व्याजका रुपमा अलि दीर्घकालीन प्रकृतिको सहयोग लिएर जानु उपयुक्त हुन्छ । तर, मुख्य रुपमा आफ्नै साधनस्रोतमा नै बढी भर परेर जानुपर्छ ।

पुनर्निमाणका लागि बाढीसँगै बगेर आएका प्राकृतिक सामग्रीको उपयोग अर्को उपाय हुन सक्छ । मूल रुपमा बाढीले ढुङ्गागिटीसहितको गेग्रान थुपारेको छ । बाढीसँगै आएका कतिपय प्राकृतिक सामग्री प्रयोग त भई नै हाल्छ । प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा तिनै साधनस्रोतको उपयोग गर्ने र आवश्यक श्रमिकका रुपमा बाढीबाट विस्थापित नागरिकलाई परिचालन गर्न सकिन्छ । खासगरी रसुवामा गाउँका गाउँ नै विस्थापित भएका छन् । गाउँमा गएर बस्ने ठाउँ पनि छैन । त्यस्ता ठाउँहरुमा औद्योगिक केन्द्रहरु बनाएर विस्थापितलाई रोजगारी दिन सकिन्छ । यस्तो अवस्था बनाउन सकेको अवस्थामा नागरिकले रोजगारीको खोजीमा विदेश जान पनि पर्दैन । उनीहरुले घरठाउँमै रोजगारी पाउँछन् । यसो हुँदा राज्यले विस्थापित नागरिकलाई सधैँ आश्रय दिएर राख्न पनि पर्दैन । अर्कोतिर यस्ता विकास निर्माणका कामहरुमा तिनै विस्थापित मान्छेहरुलाई नै काममा लगाउन उपयुक्त हुन्छ । जुन बाहिरबाट ठेक्कापट्टा दिन्छौँ नी, अरुलाई ठेक्कापट्टा दिन्छौँ, श्रमिक पनि उसले आफैँले उताबाट ल्याउँछ, त्यसो नगरिकन स्थानीय साधनस्रोत र जनशक्तिलाई नै प्रयोग गर्ने ढङ्गले हामी गयौँ भने यो विपत्तिलाई एउटा अवसरका रुपमा लिन सकिन्छ ।

विकासको मोडलबारे पनि पुनर्विचार गर्नुपर्ने अवस्था आइसकेको छ । हामीले जलविद्युत् आयोजनामा जुन खालका सुरुङहरु बनायौँ, यस्तो विपद् आउला भन्ने कसैले पनि सोचेन । अब सुरुङहरु निर्माण गर्दाखेरि पनि त्यहाँको भूगोग, सम्भावित विपद्लाई ख्याल गरेर बनाउनुपर्ने हुन्छ । हामीले एउटै चाहिँ खोलामा यति नजिक नजिक यति धेरै आयोजनाहरु निर्माण गर्दा क्षतिको जोखिम उच्च हुने हुँदा त्यो गल्ति दोहो¥याउनु हुँदैन । अब यस्ता नदीतटीय क्षेत्रमा बस्ती त राख्नै भएन । पहिलेको जस्तो नदी किनारामै सहरीकरण हुन दियौँ भने ठूलो गल्ती हुन्छ । यसबाट सिकेर अगाडि बढ्नुपर्छ । अब माथिल्लो भागमा अलि ठूला समथल टारहरु छन् अथवा जङ्गल भएका ठाउँहरु छन्, सट्टापट्टा गरेर बढी नदी किनारका ठाउँमा वन जङ्गल लगाइदिने र वनजङ्गल भएको ठाउँमा फँडानी गरेर बस्ती बसाल्ने काम गर्न सकिन्छ । त्यसकै लागि समग्रको भू–उपयोग योजना बनाउने भन्न खोजेकोे हो । त्यो पुरानो भू–उपयोग योजना व्यवस्थित ढङ्गले जुन थिएन, अब नयाँ ढङ्गबाट व्यवस्थित बस्ती विकासमा जोड दिनुपर्छ ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माण गर्दा तत्कालीन राहतसँगै दीर्घकालीन र दिगो विकासलाई प्राथमिकता दिनुपर्छ । बाढीको जोखिमलाई ध्यानमा राखी सडक, पुल, जलविद्युत् आयोजना, विद्यालय, स्वास्थ्य संस्था तथा बस्तीको पुनर्निर्माण वैज्ञानिक अध्ययन र सुरक्षित स्थानको छनोटका आधारमा गर्न आवश्यक छ । नदीको प्राकृतिक बहाव क्षेत्र अतिक्रमण नगर्ने, तटबन्ध तथा संरक्षण संरचना निर्माण गर्ने र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिनुपर्छ । त्रिशूली करिडोरमा व्यवस्थित वसोवास निर्माण, कृषि, पूर्वाधार निर्माण गर्न सकिएमा यो देशकै लागि नमुना बन्न सक्छ । देशका ठूला, मझौला र साना नदी खोला किनारामा जसरी बस्ती विस्तार भएको छ, त्यसले यस खालका विपद् हुँदा ठूलो जनधनको क्षति गराउने पक्का छ । यस पटकको घटनाबाट शिक्षा लिएर सुरक्षित बसोबासको प्रबन्ध मिलाउन सयौँ भने अरु ठाउँका निम्ति पनि नमुना बन्न सक्छ । त्यसैले स्थानीय समुदायको सहभागिता, पारदर्शी योजना र सङ्घ, प्रदेश तथा स्थानीय तहबीच समन्वयबाट पुनर्निर्माण अघि बढाउनुपर्ने हुन्छ । साथै, भविष्यमा यस्ता विपद्बाट हुने क्षति घटाउन जलवायु परिवर्तन अनुकूल र जोखिम–सहनशील पूर्वाधार विकास गर्नुपर्छ । (राससका समाचारदाता अशोक घिमिरेसँग गरिएको कुराकानीमा आधारित)

हक्की खेलको ‘हब’ बन्दै धुलिखेल

बनेपा । काभ्रेको पर्यटकीय नगरी धुलिखेललाई देशकै प्रमुख ‘खेलकुद हब’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका– ११ र १२ को सिमाना चिसापानी डाँडामा अन्तरराष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको छ ।

रङ्गशालाका लागि सङ्घीय सरकारबाट बजेट र नगरपालिकाबाट जग्गा सुनिश्चित भएपछि निर्माण प्रक्रिया अघि बढाउन सहमति बनेको हो ।

धुलिखेल नगरपालिका र जिल्ला खेलकुद विकास समितिबीच यस विषयमा औपचारिक सम्झौतासमेत भएको छ ।

नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख निराजन जङ्गम र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइबाले सम्झौतापत्रमा विहीबार हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार, नगरपालिकाले यसअघि नेपाल हक्की सङ्घलाई ४० वर्षका लागि उपयोग गर्न अनुमति दिएको करिब २०० रोपनी जग्गामा उक्त परियोजना अघि बढाइनेछ ।

रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०८३/०८४ मा सङ्घीय सरकारबाट रु तीन करोड बजेट विनियोजन भएको नगरपालिका शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए ।

उक्त परियोजना राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मार्फत कार्यान्वयन हुनेछ । कार्यवाहक नगर प्रमुख जङ्गमले धुलिखेललाई ‘खेलकुदमैत्री पालिका’ का रूपमा विकास गर्ने लक्ष्यअनुसार योजना अघि बढाइएको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाइबाले सरकारका सम्बन्धित निकायसँग समन्वय गरी थप बजेट र पूर्वाधार व्यवस्थापनका लागि समितिले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाए ।

उक्त रङ्गशालामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता नभएका बेला स्थानीय विद्यालय, क्लब र खेलाडीले नियमित प्रशिक्षण गर्न पाउने व्यवस्था मिलाइने सो अवसरमा जानकारी दिइयो ।

आगामी दुई वर्षमा निर्माण सम्पन्न गरिने उक्त परियोजनासम्बन्धी सम्झौताले धुलिखेललाई हक्की खेलको नयाँ गन्तव्यका रुपमा अघि बढाउने विश्वास लिइएको छ ।

भारतमा एआईको दौड : विकासको अवसरसँगै रोजगारीको चुनौती

नयाँदिल्ली। भारतले विश्वका अत्याधुनिक एआई मोडल निर्माण गर्ने प्रतिस्पर्धाभन्दा अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा एआईको प्रयोग बढाउने रणनीतिलाई प्राथमिकता दिएको छ।

नयाँदिल्लीमा गत फेब्रुअरीमा भएको ‘इन्डिया एआई इम्प्याक्ट समिट’मा कृषि रोबोट, ड्रोन, स्वास्थ्य तथा निदान प्रविधिदेखि विद्यालय र सार्वजनिक सेवामा एआई प्रयोगका नमुना प्रस्तुत गरिएका थिए। यसले भारतले एआईलाई अनुसन्धानको सीमाभन्दा बाहिर निकालेर उत्पादनशीलता र आर्थिक विकासको साधनका रूपमा प्रयोग गर्न खोजिरहेको देखाएको छ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका स्रोतले पनि देशले एआई अनुसन्धान रोक्नुपर्ने कारण नरहेको बताएका छन्। भारतको ध्यान अत्याधुनिक ‘फ्रन्टियर मोडल’ निर्माणभन्दा भारतीय आवश्यकता सुहाउँदा एआई मोडल र त्यसको व्यावहारिक प्रयोगमा रहेको उनीहरूको भनाइ छ।

तर एआईको विस्तारसँगै रोजगारीको स्वरूपमा आउने परिवर्तन भारतका लागि प्रमुख चुनौती बन्न थालेको छ। विज्ञहरूका अनुसार एआईका कारण तत्कालै ठूलो संख्यामा रोजगारी गुम्नेभन्दा नयाँ स्नातक तथा युवाका लागि प्रवेशस्तरका रोजगारीका अवसर घट्न सक्ने जोखिम बढी छ।

भारतको सूचना प्रविधि उद्योग लामो समयदेखि ठूलो संख्यामा नयाँ कर्मचारी भित्र्याएर परीक्षण, मर्मत, ग्राहक सहयोग र आधारभूत कोडिङजस्ता कामबाट उनीहरूलाई क्रमशः दक्ष बनाउने ‘पिरामिड’ मोडलमा चलेको थियो। तर एआई प्रयोग बढेसँगै कम्पनीहरूले कम कर्मचारीमा बढी काम गराउन थालेका छन् र क्याम्पसबाट हुने नयाँ भर्ती पनि सानो तथा छनोटमुखी बन्दै गएको छ।

यसले एउटा नयाँ प्रश्न जन्माएको छ, अनुभवी कर्मचारी चाहिने तर अनुभव हासिल गर्ने प्रारम्भिक रोजगारी नै कम हुँदै गएमा नयाँ पुस्ता कसरी दक्ष बन्ने?

विज्ञहरूका अनुसार त्यसका लागि केवल ‘रिस्किलिङ’ तालिम पर्याप्त नहुन सक्छ। प्रशिक्षार्थी कार्यक्रम, विश्वविद्यालयसँगको सहकार्य, रोजगारीमा प्रवेश गर्ने वैकल्पिक बाटो र एआईबाट उत्पादित सामग्रीको परीक्षण तथा निगरानी गर्ने कनिष्ठ तहका नयाँ भूमिकाको विकास आवश्यक हुन सक्छ।

भारतका लागि अर्को महत्वपूर्ण विषय एआईले रोजगारीमा पारिरहेको प्रभाव मापन गर्नु हो। विज्ञहरूका अनुसार हाल उपलब्ध श्रम तथ्यांकले कुन क्षेत्रमा एआईका कारण कामको प्रकृति परिवर्तन भइरहेको छ भन्ने पर्याप्त रूपमा देखाउँदैन। त्यसैले रोजगारी घट्ने, नयाँ भूमिका सिर्जना हुने वा कामको स्वरूप परिवर्तन हुने अवस्थालाई छुट्टै मापन गर्ने प्रणाली आवश्यक देखिएको छ।

एआईको प्रयोग रोक्नेभन्दा कहाँ तीव्र रूपमा प्रयोग गर्ने र कहाँ सावधानी अपनाउने भन्ने विषय महत्वपूर्ण हुने विज्ञहरूको धारणा छ। रोजगारी छनोट, ऋण प्रवाह, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र कार्यस्थल निगरानीजस्ता क्षेत्रमा एआईको त्रुटि, अपारदर्शिता वा अत्यधिक नियन्त्रणले मानिसमा स्थायी असर पार्न सक्ने भएकाले त्यस्ता क्षेत्रमा कडा सावधानी आवश्यक रहेको उनीहरूले बताएका छन्।

भारतले अत्याधुनिक एआई प्रविधिमा विश्वको अग्रस्थान हासिल नगरे पनि त्यसको प्रयोगबाट ठूलो आर्थिक लाभ लिन सक्ने सम्भावना देखिन्छ। विशेषगरी साना व्यवसाय र स्वरोजगारमा एआईले नयाँ ग्राहक खोज्न, ऋणका लागि योग्य हुन र सरकारी नियम–प्रक्रिया बुझ्न सहयोग पुर्‍याउन सक्ने विज्ञहरूको भनाइ छ।

अर्थात् भारतको एआई रणनीतिको मूल प्रश्न प्रविधि कति शक्तिशाली बनाउने भन्ने मात्र होइन, त्यसले आम मानिसको काम र आम्दानी कति बढाउन सक्छ भन्ने पनि हो। (स्रोत: सिएनआई/तस्बिर – एएफपी)